कहिले हुन्छ, वैद्य र विप्लवको पार्टी एकता

सन्तोष भट्टराई काठमाडौं
मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच एकता हुने भएको छ । दुवै पार्टीका महासचिवले विज्ञप्तिमार्फत एकताको जानकारी दिएका हुन् ।
राजधानीमा दुई पार्टीका शिर्ष नेतहरूबीचको गोप्य बैठक पश्चात् जारी विज्ञप्तिमा भनिएको छ, ‘क्रान्तिकारी कम्युनिष्टहरूबीचको वैचारिक, राजनीतिक, संगठनात्मक एकीकरण तथा ध्रुवीकरण आवश्यक भएकाले पार्टी एकताको पहल थालिएको हो ।’
बैठकपछि जारी विज्ञप्तिमा राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार तथा पेशागत हकअधिकारका मुद्दामा संयुक्त संघर्ष र जनयुद्ध, सहिद सप्ताह र जनआन्दोलन लगायतका दिवस मनाउने निर्णय गरिएको उल्लेख छ ।
स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा वैद्यले ‘जनगणतान्त्रिक मोर्चा’ मार्फत चुनावमा सहभागिता जनाएको भए पनि विप्लवको पार्टीले बहिष्कार गर्दै विस्फोटर आगजनीका घटना गराएको थियो ।
निर्वाचनको समीक्षा गर्न चितवनमा केही दिनअघि बसेको क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठकले सशस्त्र संघर्षमा जाने निर्णय लिएलगत्तै दुई पार्टीबीच एकताको सहमति भएको हो । तर, सहमतिपछि जारी विज्ञप्ति सशस्त्र संघर्षका विषयमा भने मौन छ ।
बैठकका दौरान वैद्य र विप्लवले अमेरिका र संयुक्त राष्ट्रसंघले उत्तरकोरियामाथि लगाएको नाकाबन्दीसहितका अमानवीय व्यवहारको विरोध पनि गरेका छन् ।










