राष्ट्रिय स्वास्थ्य नीतिमा तयार, कस्ताे छ व्यवस्था ?

स्वास्थ्य मन्त्रालयले संघीय संरचनाअनुरूप विद्यमान स्वास्थ्य नीति परिमार्जन गर्दै नयाँ स्वास्थ्य नीति तयार पारेको छ । राष्ट्रिय स्वास्थ्य नीति, २०७१ संघीय संरचनाअनुसार नभएको भन्दै नयाँ स्वास्थ्य नीति तयार गरिएको हो ।
स्वास्थ्य मन्त्रालय योजना महाशाखा प्रमुख डा. श्रीकृष्ण गिरीले राष्ट्रिय स्वास्थ्य नीति, २०७४ को मस्यौदा तयार भएको जानकारी दिए । मस्यौदाले अन्तिम रूप लिएपछि राष्ट्रिय स्वास्थ्य नीति, २०७१ खारेज गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा भएका उपलब्धिलाई संस्थागत गर्दै संघीय संरचना, अधिकार क्षेत्र तथा दायित्वअनुरूप स्वास्थ्य सेवाको विकास र विस्तारका लागि नयाँ स्वास्थ्य नीतिको आवश्यकता परेको उनले बताए ।
स्वास्थ्य विज्ञहरूको छलफलपछि समितिले आइतबार मस्यौदालाई अन्तिम रूप दिएर स्वास्थ्यमन्त्री दीपक बोहरालाई बुझाएको छ । मन्त्रालयका अनुसार, नेपालले सहश्राब्दी विकास लक्ष्य ४ र ५ मा प्राप्त गरेको सफलतालाई कायम राख्दै स्वास्थ्यसम्बन्धी दिगो विकासको लक्ष्य हासिल गर्न नयाँ नीति अनिवार्य भएको हो । नेपालको संविधान, संघीयता र गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचबाट राष्ट्रिय स्वास्थ्य नीति निर्देशित रहेको गिरीले बताए ।
यस्तो छ संस्थागत व्यवस्था
मन्त्रालयका अनुसार राष्ट्रिय स्वास्थ्य नीतिलाई संघीय संरचनाअनुरूप स्वास्थ्य मन्त्रालय, मन्त्रालयअन्तर्गतका केन्द्र, प्रदेश, जिल्ला र स्थानीयस्तरमा विद्यमान संरचनाका साथै स्वास्थ्यसँग सम्बन्धित स्वायत्त एवं अर्धस्वायत्त निकायहरूको संवैधानिक र नीतिगत प्रावधानअनुसार पुनः परिभाषित गरी लागू गरिनेछ । नयाँ संघीय संरचनाबमोजिम आवश्यक कर्मचारीको दरबन्दी सिर्जना गरी संस्थागत क्षमता सुदृढ गरिने मस्यौदामा उल्लेख छ ।
यस्ता छन् चुनौती
– प्रत्येक नागरिकले संविधानप्रदत्त निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने व्यवस्था मिलाउनु र आकस्मिक स्वास्थ्य सेवाको विकास र विस्तार गर्नु ।
– राज्यको संघीय संरचनाअनुरूप स्वास्थ्य सेवाको संरचना र स्वास्थ्य सेवालाई संविधानले निर्देश गरेको अधिकारक्षेत्र तथा दायित्वअनुरूप संघ, प्रदेश र स्थानीय तहमा
पुनःसंरचना, विस्तार र सेवाको सुनिश्चितता गर्नु ।
– ६० प्रतिशतभन्दा बढी मृत्यु नसर्ने रोगका कारणले हुने गरेको छ । प्राकृतिक विपद्बाट हुने जोखिम, जलवायु परिवर्तनको असर, सडक दुर्घटना र चोटपटकबाट हुने स्वास्थ्य समस्या र मृत्युको संख्याजस्ता विषय रोकथाम तथा नियन्त्रण गर्नु प्रमुख चुनौतीका रूपमा देखिएको छ ।
– प्रयोगशाला सेवा र औषधि उपकरणहरू मापदण्डअनुसार खरिद तथा आपूर्ति हुन नसक्नु ।
-समुदाय र भौगोलिक क्षेत्रविशेषमा मातृमृत्युदर र नवजात शिशुमृत्युदरमा अपेक्षाकृत कमी आएको छैन । मृत्युदर घटाउन दक्ष प्रसूति सेवकहरूको प्रशिक्षण तीव्र गतिमा बढाउनुका साथै स्थानीयस्तरमै उत्पादन गर्नु ।
राष्ट्रिय स्वास्थ्य नीतिले अवलम्बन गर्ने मुख्य नीति
– संविधानप्रदत्त आधारभूत सेवा सबै नागरिकलाई निःशुल्क प्रदान गर्ने ।
– सामाजिक स्वास्थ्य बिमालाई सुदृढीकरण गर्दै सबै नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने ।
– सबै नागरिकको आकस्मिक स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने ।
– विभिन्न उमेरसमूह, लिंग, क्षेत्रलगायत विपन्न, सीमान्तकृत, दलित तथा लोपोन्मुख समूहका लागि प्राथमिकताका साथ स्वास्थ्य सेवा सुनिश्चित गर्ने ।
– संघीय संरचनाको तहगत जिम्मेवारीअनुरूप संघ, प्रदेश र स्थानीय तहमा स्वास्थ्य प्रणालीलाई आधुनिक तथा प्रविधिमैत्री पद्धतिको रूपमा विकास गर्ने ।
– आयुर्वेद सेवालाई सुदृढ गर्दै प्रचलित वैकल्पिक चिकित्सा पद्धतिलाई विकास तथा विस्तार गर्ने ।
– संघीय संरचनाअनुरूप सीपमिश्रित दक्ष स्वास्थ्य जनशक्तिको विकास तथा विस्तार गर्ने ।
– औषधि तथा औषधिजन्य सामग्रीको आन्तरिक उत्पादनलाई प्रोत्साहित गर्दै यसको समुचित र प्रभावकारी व्यवस्थापन गर्ने ।
नयाँ राष्ट्रिय स्वास्थ्य नीतिका उद्देश्यहरू
– संघीय संरचनाअनुरूप स्वास्थ्य सेवा प्रणालीलाई विकास, विस्तार र सुधार गर्ने ।
– सबै तहका स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको गुणस्तर सुनिश्चित गर्ने ।
– आयुर्वेद तथा अन्य वैकल्पिक चिकित्सा पद्धतिहरूको विकास एवं प्रवद्र्धन गर्ने ।
– नागरिकको सामाजिक स्वास्थ्य सुरक्षा अभिवृद्धि गर्ने ।
– स्वास्थ्य सेवामा बहुक्षेत्रीय साझेदारी र जनसहभागिता प्रवद्र्धन गर्ने ।










