पर्यटकीय आकर्षक गन्तव्य निर्माणका लागि सरोकारवाला निकायले ध्यान दिन अध्यक्ष शाहको आग्रह

जाजरकोट – जाजरकोटको बारेकोटमा पर्यटन प्रर्वद्धन र पर्यटकीय आकर्षक गन्तव्य निर्माणका लागि सरोकारवाला निकायले ध्यान दिन अध्यक्ष शाहले आग्रह गरेका छन् । जिल्लाकै आकर्षक र मनमोहक पर्यटकीय गन्तव्य निर्माणका लागि प्रचुर सम्भावना बोकेको बारेकोट गाउँपालिकालाई सरोकारवाला सबैले ध्यान दिन उक्त गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले आग्रह गरेका हुन् ।

जिल्ला सदरमुकाम खलंगामा आज (बिहीबार) बारेकोट गाउँपालिकाले आयोजना गरेको पत्रकार सम्मेलन र बारेकोट गाउँपालिकाको वार्षीक योजना २०७४/०७५ पुस्तक पत्रकारहरुलाई हस्तान्तरण गर्दै अध्यक्ष शाहले यस्तो बताएका छन् ।

अध्यक्ष शाहले भने, ‘पानी, खानी, जल, जमिन र जडिबुटीको पर्याप्तता भएको यो पालिकालाई विशेष गरि पर्यटनलाई ध्यान दिनेछु ।’ वर्षौं देखि ओझेल परेको फलाम खानीको उत्खनन्, प्रचार–प्रसारको अभावमा ओझेल परेको शंकदह, ठाकुर पाटन, जडिबुटी कटुको, समायो आदि, संसारकै लोपोन्मुख रेडपाण्डा (रातो हाब्रे), कस्तुरी, बाघ, भालु, घोरल, मृग जंगली जनावर, चीर कालिज, नेपालको राष्ट्रिय पंक्षी डाँफे, मुनालको संरक्षण गरि देशैभर चिनाउँन सके बारेकोटमा बाह्य तथा आन्तरिक पर्यटक बोलाउन कतै नजानुपर्ने अध्यक्ष शाहको दाबी छ ।

त्यसका साथै पौराणिक देवीदेवता, लोकसंस्कृति, रितिरिवाज, चालचलन, भेषभूषा, गीतसंगीत जस्तै देउडा, लामस्वरे भाका (ठाडिभाका), मागल, मंगल, नृत्य सरङ्गे (गर्रा), सिंगारु, धाँचा (देउडा खेल्दा कुम र कम्मर जोडी नाँच्ने नृत्य), मादल, मुरली, विनायो, सहनाई, दमाह, पञ्चेबाजा जस्ता विभिन्न प्रकारका लोक बाजागाजाको प्रचार–प्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन आफू कुनै कञ्जुस्याँई नगर्ने अध्यक्ष शाहले प्रण गरेका छन् ।

जसका लागि आफूले बारेकोट जोड्ने सडकखण्ड निर्माणका लागि थप पहल गरिरहेको समेत अध्यक्ष शाहले बताए । सडकखण्ड तत्काल निर्माण गरेर बारेकोट मोटर पुर्याउने आफ्नो प्रमुख उद्देश्य समेत रहेको दाबी गरे । त्यसका लागि आफू एक्लैले असम्भव हुने भएकोले सरोकारवाला निकाय र विशेष त पत्रकारहरुलाई बारेकोटको बारे कमलम मार्फत राम्रा र नराम्रा कुरा बाहिर प्रकाश पारिदिन आग्रह गरेका छन् । पर्यटनका लागि भनेर बारेकोट गाउँपालिकाले पर्याप्त बजेट छुट्याएको समेत अध्यक्ष शाहले बताए ।

ईखवर साभार ।





error: Content is protected !!