पुल नबन्दा लोकमार्ग अधुरै निर्माण सुरु भएको ८ वर्षसम्म ट्रयाक खोल्ने कार्यसमेत पूरा हुन सकेन

जाजरकोट । मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड निर्माण सुरु भएको ८ वर्ष बित्यो । यस अवधिमा लोकमार्गको उक्त खण्डको ट्रयाक खोल्ने कार्यसमेत पूरा भएको छैन । लोकमार्गको जाजरकोट खण्डको ८२ मध्ये ५ किलोमिटर सडक ट्रयाक खोल्न अझै बाँकी छ । त्यसैगरी थलहबजारस्थित छेडागार खोलामा पुल निर्माण कार्य अघि नबढदा लोकमार्ग थप अधुरो बनेको हो ।
रुकुमको चौरजहारीदेखि दैलेखको सुयाँडासम्मको जाजरकोट खण्डमा छेडागारलगायत खोला तथा खोल्सामा पुल निर्माणको सुरसार नभएको स्थानीय सुना शाहीले बताइन् । थलबजारमा पुल निर्माण र मन्ताभीर, कालढुंगा, चुवादेउली भीर, भुसखोलालगायत स्थानमा ट्रयाक ओपन नहुँदा सडक निर्माण कार्य अलपत्र परेको शाहीले बताइन् । त्यस्तै चौरजहारी र कुदु बीचमा पर्ने भेरी पुल र झुप्राखोला पुल निर्माण ढिलाइले पनि लोकमार्ग निर्माणलाई थप अधुुरो बनाएको उनले बताइन् । सम्बन्धित निकायको लापरबाहीले १ किलोमिटर दूरीको मन्ताभीर र थलह बजारस्थित छेडागार खोलाको पुल निर्माण कार्य सुरुसमेत नगरेको शाहीको भनाइ छ । थलह बजारस्थित छेडा खोलामा बन्ने पुलको सर्भे डिजाइन पनि नभएको उनले बताइन् । मध्यपहाडी लोकमार्ग पश्चिम खण्ड आयोजना दाङले भने अधुरो सडक खण्डको ट्रयाक खोल्ने कार्य पूरा भएको कार्य सम्पन्न प्रतिवेदन २ वर्षअघि नै सडक विभागमा बुझाएको थियो ।
जाजरकोटका बासिन्दाले लोकमार्गको यस खण्डको छिटोभन्दा छिटो निर्माण पूरा गरेर यातायात सुचारु गर्न माग गरेका छन् । एकैसाथ सुरु भएको लोकमार्गको दैलेख र रुकुम खण्डमा २ वर्षअघि नै यातायात सञ्चालन भएको दशेराका मानबहादुर सिंहले बताए । छेडागार खोला पुल, झुप्रा खोला पुल र मन्ताभीर निर्माण भए जाजरकोट खण्डको कुदुदेखि सुयाँडासम्म नियमित यातायात सञ्चालनमा सहज हुने सिंहले बताए । जाजरकोट खण्ड निर्माणको जिम्मा लिएका कतिपय व्यवसायीले कार्य पूरा नगर्दै भुक्तानी लिँदा सडक निर्माण अलपत्र परेको उनले बताए । आयोजनाका प्राविधिकको मिलेमतोमा कार्यक्षेत्रमा काम अधुरो भए पनि रकम भुक्तानी भइसकेको पाइएको उनले बताए । मन्ताभीरमा १ किलोमिटर नखनेरै रकम भुक्तानी भएको सिंहले बताए । राष्ट्रिय महत्त्वको मार्ग निर्माणमा सडक विभागलगायत निकायले लापरबाही गरेको सिंहले बताए ।
मन्ताभीर खण्डको निर्माण जिम्मा लिएको दिव्यज्योति निर्माण सेवाले कडा चट्टान भन्दै निर्माण पूरा गर्न नसकेको डिभिजन इन्जिनियर शुभराज न्यौपानेले बताए । त्यस्तै धनञ्जयरसिद्धार्थ जेभीले पनि काँडा झाप्रा खण्डको कालढुंगा भीर निर्माण पूरा गर्न नसकेको डिभिजन इन्जिनियर न्यौपानेले बताए । ‘मार्गको मन्ताभीर र काँडा झाप्रा खण्ड निर्माणको जिम्मा लिएका व्यवसायीले कार्य पूरा नगरेरै भुक्तानी लिएको देखियो,’ उनले भने, ‘कालढुंगा र मन्ताभीरको ५ सय मिटर कडा चट्टान नखोलेरै ठेक्का रकम भुक्तानी भएछ ।’ पछिल्लो समय मन्ताभीर खोल्न व्यवसायी तयार नभएको उनले बताए । विगतमा व्यवसायीले कामै नगरी ठेक्का होल्ड गरी मात्र बस्दा पनि जाजरकोट खण्ड निर्माणमा ढिलाइ भएको उनले सुनाए ।
सडक निर्माणमा ढिलाइ हुनुको समस्याको पहिचान गरी तत्काल समाधानको पहल गर्ने न्यौपानेले बताए । थलह बजारस्थित छेडाखोला पुलको डिजाइन कार्य अघि बढेको उनले बताए । कतिपय व्यवसायीले अर्काको फर्मबाट काम लिने र कार्य सुरु गर्ने, पेस्की लिने, अनि काम पूरा नगरी अलपत्र छाडेर भाग्ने गरेको उनले बताए । समयमा कार्य पूरा नहुँदा निर्माण भएको सडक पनि जीर्ण हुँदै गएको डिभिजन इन्जिनियर न्यौपाने बताए । ‘रुकुम खण्डमा सडकको स्तरोन्नति कार्य सुरु भइसकेको छ । तर, जाजरकोट खण्डमा भने ट्रयाक खोल्नै बाँकी छ,’ उनले भने ।










