एआईजीको दरबन्दी थप्ने सशस्त्रको प्रस्ताव गृहमन्त्रालयमा अलपत्र

काठमाडौं– सरकारले नेपाल प्रहरीमा एआईजीको दरबन्दी १४ जना पुर्याएको छ । यता,शसस्त्र प्रहरीमा भने एआईजीको दरबन्दी थपको लागी सशस्त्र मुख्यालयले गृहमन्त्रालयमा फाइल पठाएपनि गृह नेतृत्वले त्यसको कुनै सुनुवाई गरेको छैन् ।
गृहमन्त्रालय स्रोतकाअनुसार सशस्त्र मुख्यालयले ५ जना एआईजीको दरबन्दी थपको लागी पत्र मन्त्रालय पठाइसकेको छ । सशस्त्रले नेपाल प्रहरी र नेपाली सेनाजस्तै प्रत्येक प्रदेशमा एआईजी आवश्यक भएको दाबी गर्दै आएको छ ।
हाल शसस्त्रमा ६ जना एआईजीको दरबन्दी रहेको छ । सशस्त्रमा प्रशासन,कार्य विभाग, ऐकेडेमी, महानगरीय सशस्त्र प्रहरीको कार्यालय, सिमा विभाग र मानवश्रोत विभागमा एआईजीको दरबन्दी रहेको छ ।
नेपाली सेनाले सात वटै प्रदेशमा उपरथी तहको र प्रहरीले एआईजीहरुलाई प्रदेशमा खटाइसकेको छ । शसस्त्र प्रहरीको तर्फबाट भने डिआईजीहरु नै प्रत्येक प्रदेशमा खटिरहेका छन् ।
‘सेना र प्रहरीको तर्फबाट प्रदेशमा विशिष्ट श्रेणी खट्ने हाम्रोबाट भने डिआईजी क्षेत्रमा हुदा समन्वयमा समस्या भइरहेको छ ।’ सशस्त्रका एक उच्च अधिकारीले काठमाडौंपाटीसंग भने । सशस्त्रले संगठनमा रहेका डिआईजीहरुको व्यवस्थापनको लागी पनि एआईजीको दरबन्दी बढाउन चाहेको छ ।
आगामी चैतभित्र एआईजीमा बढुवा नभए सशस्त्रका आधा दर्जन डिआईजीहरु अवकासमा जाने भएकाले पनि दरबन्दी बढाउनुपर्ने शसस्त्र नेतृत्वको बाध्यता छ ।
प्रहरी र शसस्त्रमा आवश्यकताभन्दा पनि व्यक्तिलाई हेरेर दरबन्दी थप्ने काम लामो समयदेखी हुदै आएको छ। नेपाली सेनामा एक जना रथीको दरबन्दी थप्न सैनिक नेतृत्वले पटक–पटक कोशिस गरेपनि हालसम्म सफल हुन सकेको छैन। तर, प्रहरी र सशस्त्रमा भने हचुवाका भरमा उच्च अधिकारीको पद थपिने गरेको छ ।
सशस्त्रमा हाल डिआईजी रहेका जानकी भट्टराई, सुबोध अधिकारी,खडानन्द चौधरी, नरेन्द्र सिंह र निरकरम विक्रम शाह र सुरज श्रेष्ठ एआईजीको दौडमा छन् ।
डिआईजी श्रेष्ठ, भट्टराई, अधिकारी,चौधरी, सिंह र शाहभन्दा जुनियर भएपनि एआईजी बन्ने दौडमा रहेका छन् । उनी सुदुरपश्चिम घर भएका डिआईजी हुन् । एआईजीको दौडमा रहेका डिआईजी सिंह आर्थीक रुपमा शसस्त्रमा बदनामित अधिकृत मानिन्छन् । उनी हाल शसस्त्रको मध्यक्षेत्रको डिआईजी छन् ।
यता, संघियतामा सशस्त्रको भुमिका कस्तो हुने भन्नेमा गृहमन्त्रालयले कुनै गृहकार्य गरेको छैन् । मुख्यालयले संघियतामा सशस्त्रको भुमिका कस्तो हुने भन्ने बारेमा खाका तयार गरेपनि त्यसलाई अझैसम्म पनि अन्तिम रुप भने दिइएको छैन् ।










