जाजरकोटको छोटो चुनाबी भ्रमणमा मेरो अनुभुती -प्रथम सहिद मान ब: रावल नै हुनु पर्ने,बास्तबिकता ।

यसपालि जाजरकोटको छोटो चुनावी भ्रमणमा मैले अनुभूति गरेका केही क्षणहरु:
स्थान: संयुक्त वाम गठबन्धनले दल्लीमा आयोजना गरेको चुनावी आमसभा l
दृश्य १:
कार्यक्रम संचालकले म लगायत गठबन्धनका सबै नेताहरुलाई आशन ग्रहण गराई सकेपछी शहिदहरुको सम्मानमा १ मिनेट मौनधारणको लागि अनुरोध गर्नुहुन्छ l आमसभामा उपस्थित ४ – ५ हजारको भिड अचानक शान्त हुन्छ अनि म लगायत मन्चमा आशिन सबैजना यन्त्रवत उठेर मौनधारणको लागि शिर झुकाएर उभिएका छौं l आवाजको नाममा नजिकै अविरल बगिरहेको नलगाडको गडगडाहट मात्र सुनिन्छ l मेरो ठिक सामुन्ने मेरो आफ्नै गाउँको लेख पानढुंगाको पछाडिबाट द्वारेको चुच्चो जसले जनयुद्धकालमा असंख्य गोली र बमको आवाज सुनेको थियो उसले पनि शहिदको सम्मानमा आफ्नो शिर निहुराए झैँ प्रतित हुन्छ l ठिक त्यति नै बेला मेरो दायाँ तीर उभिनु भएका जनयुद्धका प्रथम शहिद मान बहादुर रावल (पछी प्राविधिक कारणले गोरखाका दिल बहादुर रम्तेल प्रथम शहिद घोषित) का बुवा कर्ण बहादुर रावल माथि मेरा आँखा पर्छन जो मेरा आफ्नै बुवाका साथी पनि हुनुहुन्छ l वहा धिरगम्भिर तर एउटा गर्विलो र कान्तिमय मुद्रामा उभिनु भएकोछ l
शोषण र उत्पीडनबाट देशलाई मुक्त गर्न शहादत प्राप्त गरेका शहिद मान बहादुर रावलका बुवा आफ्नै छोराको सम्मानमा मौन धारण गर्दाको दृश्य अत्यन्त मार्मिक लाग्थ्यो l देशको मुक्तिका लागि लड्दा लड्दै शहदत प्राप्त गरेर यो सम्मान प्राप्त गर्ने शहिद मान बहादुर रावलका अगाडी काठमाडौँमा बसेर सुविधाभोगी जीवन बिताउने मेरो आफ्नै जीवन तुच्छ झैं प्रतित भएको थियो मलाई त्यस क्षण l कुनबेला मौन धारणको समय समाप्त भयो मलाई ज्ञान नै भएन l म भने अश्रुपुरित आँखा लिएर अझै पनि बुवा कर्ण बहादुर रावललाई हेरिरहेको थिएँ l
-निरज शाह
समाजसेवी , पुर्ब राज्य पुनः संरचना आयोग सदस्य ।









