पश्चिम नेपालको यात्राः प्रकृति,संस्कृति, इतिहास र अनुभूतिको संगम”

देब बहादुर बुढा

२०८३ जेठ १ गते बिहान कर्णाली प्रदेशको सुन्दर शहर वीरेन्द्रनगर बाट हाम्रो ११ जनाको पारिवारिक भ्रमण उत्साह, जाँगर र नयाँ अनुभवको खोजी सहित सुरु भयो। यो केवल घुमफिर मात्र थिएन, नेपालका पहाड, हिमाल, संस्कृति, इतिहास, भूगोल र सभ्यताको विविध आयामलाई नजिकबाट अनुभूत गर्ने अवसर पनि थियो। मध्यपहाडी लोकमार्ग हुँदै पश्चिम नेपालको अनेकौं भूभाग पार गर्दै हामी हिमालको काखदेखि तराईको समथरसम्म पुग्यौं। यात्राको प्रत्येक मोडमा प्रकृतिले नयाँ चित्र कोरिरहेको अनुभूति हुन्थ्यो।

रुकुमका पहाड र इतिहासको गन्ध
सुर्खेतबाट अगाडि बढ्दै यात्रा मध्यपहाडी लोकमार्गको रोमाञ्चक घुम्तीहरूसँगै रुकुम पश्चिम र रुकुम पूर्व तर्फ अघि बढ्यो। रुकुम क्षेत्र प्राकृतिक सुन्दरतासँगै नेपालको राजनीतिक र सामाजिक इतिहाससँग गहिरो रूपमा जोडिएको भूभाग हो। जनयुद्धको केन्द्र मानिएको यो भूभागले नेपाली समाज परिवर्तनका अनेक कथा बोकेको छ। उच्च पहाड, हरिया वन, परम्परागत बस्ती र मगर संस्कृतिको झल्कोले यात्रा झन् अर्थपूर्ण बनायो। बाटो भरि देखिने ग्रामीण जीवन, खेतबारी र पहाडी जनजीवनले नेपालको मौलिकता सम्झाइरह्यो। पूर्वी रुकूमको सदरमुकाम रुकूमकोट स्थित कमल दह अवलोकन गर्ने अवसर मिल्यो ।यो दह प्राकृतिक सौन्दर्यले भरिपूर्ण दह रहेछ ।करिब १६ सय वर्गमिटरमा फैलिएको उल्लेख छ ।सडक पहुचँ,पर्यटन पर्वद्धन र संञ्चार माध्यम मार्फत अहिले यसको चर्चा देशभर फैलिइएको छ ।विशेष गरी कमल फूलले ढकमक ढाकिएको दृश्य बाहिरिए पछि यसको चर्चा झन हुन थालेको स्थानीयको भनाई छ ।

  

बुर्तिबाङ ः व्यापार, पहाड र संस्कृतिको संगम
बुर्तिबाङ पुग्दा मध्यपहाडी क्षेत्रमा विकसित हुँदै गएको व्यापारिक केन्द्रको झल्को पाइन्थ्यो। पहाडबीचको व्यस्त बजार, यात्रुहरूको चहलपहल र स्थानीय उत्पादनको कारोबारले बुर्तिबाङलाई विशेष बनाएको छ। ढोरपाटन क्षेत्रको प्रवेशद्वारका रूपमा समेत परिचित यो क्षेत्र प्राकृतिक,सांस्कृतिक र पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण मानिन्छ।

आस्था, इतिहास र प्रकृतिको संगम ः बाग्लुङ कालिका
बाग्लुङ कालिका मन्दिर पुग्दा धार्मिक आस्था, इतिहास र प्रकृतिको अनुपम संगम अनुभूत भयो। घना वनको बीचमा अवस्थित यो शक्तिपीठ पश्चिम नेपालको अत्यन्त प्रसिद्ध धार्मिक केन्द्रका रूपमा परिचित छ। परम्परा अनुसार वि सं १५९१ तिर यहाँ नियमित पूजा–आराधना सुरु भएको मानिन्छ। इतिहास अनुसार तत्कालीन पर्वत राज्यका राजाले पाल्पाका राजाकी छोरीसँग विवाह गरेका थिए। राजकुमारी कालिका भगवती प्रति अत्यन्त श्रद्धावान थिइन्। विवाह पछि माइतीबाट फर्किने क्रममा उनले आफ्नो आराध्य देवी कालिकाको प्रतिमा पनि सँगै ल्याएकी थिइन्। यात्रा गर्दै हालको बाग्लुङ क्षेत्रमा पुगेपछि देवी राखिएको पालकी अचानक अगाडि बढ्न नसकेको किंवदन्ती पाइन्छ। धेरै प्रयास गर्दा पनि पालकी नउठेपछि “देवीले यही स्थान रोज्नुभएको” भन्ने धार्मिक विश्वास उत्पन्न भयो। त्यसपछि त्यही स्थानमा देवी स्थापना गरी पूजा–आराधना सुरु भएको मानिन्छ।

धार्मिक मान्यता अनुसार कालिका देवी शक्तिस्वरूपा दुर्गाको उग्र तथा शक्तिशाली रूप हुन्। अन्याय, अत्याचार र दुष्ट शक्तिको अन्त्य गर्ने देवीका रूपमा कालिकाको पूजा गरिन्छ। यही धार्मिक विश्वासका कारण बाग्लुङ कालिका आज पनि हजारौं भक्तजनको आस्थाको केन्द्र बनेको छ। करिब १८१ रोपनी क्षेत्रफलमा फैलिएको कालिका वन क्षेत्र हरियाली, धार्मिक शान्ति र प्राकृतिक सौन्दर्यले भरिएको छ। मन्दिर परिसरबाट देखिने पहाड, कालीगण्डकी आसपासको भू–दृश्य र शीतल वातावरणले यात्रुलाई आध्यात्मिक आनन्द प्रदान गर्छ। स्थानीय समुदायको संरक्षण र श्रद्धाले यस मन्दिरको महत्व अझ बढाएको छ।

म्याग्दीको तातोपानी – प्रकृतिको प्राकृतिक उपचार

तातोपानी पुग्दा यात्राको थकान नै हराएको अनुभूति भयो। हिमाली क्षेत्रको काखमा रहेको प्राकृतिक तातोपानी कुण्ड स्वास्थ्यका दृष्टिले समेत महत्वपूर्ण मानिन्छ। स्थानीय जनविश्वास अनुसार यस पानीले नुहाउदा शरीरका विभिन्न दुखाइ कम गर्न सहयोग गर्छ। हाम्रो टोली सहित सयौ पर्यटकले २ गते विहान तातोपानीको कुण्डमा बसेर स्नान गर्ने अवसर प्राप्त गर्यौ ।। वरिपरिका पहाड, नदी र शान्त वातावरणले तातोपानी क्षेत्रलाई अझ आकर्षक बनाएको छ।

रुप्से झरना – प्रकृतिले कोरेको अद्भुत चित्र मुस्ताङ जाने बाटोमा पर्ने रुप्से झरना नेपालको चर्चित झरना मध्ये एक हो। अग्लो भीरबाट तीव्र गतिमा खसिरहेको झरनाको दृश्यले स्वदेशी तथा विदेशी पर्यटकको मननै लोभ्याउने रहेछ। कालिगण्डकी करिडोरको यात्रामा यो झरना प्राकृतिक विश्रामस्थल जस्तै लाग्छ। झरनाको गर्जन, चिसो हावा र वरिपरिको भीरपाखाले प्रकृतिको विराट शक्ति झल्काउँछ। जसले हिमाल(पहाड(प्रकृति र सौन्दर्यको एकै फ्रेममा झल्कने जिवित दृश्य भएको अनुभूति हामीले गर्यौ ।

लेते, जोमसोम र कागबेनी – हिमालको काखमा सभ्यता


मुस्ताङ प्रवेश गरेपछि वातावरण, भूगोल र संस्कृतिमा एकाएक परिवर्तन महसुस हुन्छ। लेते बाट सुरु भएको हिमाली सौन्दर्यले यात्रालाई अर्को स्तरमा पुर्यानयो। जोमसोम हिमाली जीवनशैली, थकाली संस्कृतिको केन्द्र, रितिरिवाज र भुगोल पर्यटकको प्रमुख श्रोत हुन । यहाँको स्याउ, स्याउका परिकार र स्थानीय संस्कृतिले पर्यटकलाई विशेष स्थान दिन्छ। कागबेनी त झन् प्राचीन तिब्बती सभ्यताको जीवित संग्रहालय जस्तै लाग्छ। साँघुरा गल्ली, ढुंगाका घर, प्रार्थना चक्र र बौद्ध संस्कृति यहाँका प्रमुख आकर्षण हुन्। कालिगण्डकी नदीको किनारमा अवस्थित कागबेनी धार्मिक र सांस्कृतिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ।

सेताम्मे हिमाल स् प्रकृतिको मौन महाकाव्य
यात्राभरि विभिन्न स्थानबाट देखिएका हिमश्रृंखलाले हाम्रो मन नै जित्यो। अन्नपूर्ण, धौलागिरि र नीलगिरि हिमश्रृंखलाको दृश्यले नेपालको हिमाली वैभव झल्काउँछ। बिहानको घाम पर्दा सुनौलो देखिने हिमाल र साँझपख राताम्मे हुने दृश्य प्रकृतिको अनुपम कला जस्तै लाग्थ्यो।

मार्फा जेरि गल्ली – स्वाद, संस्कृति अनुपम झल्को
मुस्ताङ यात्राको क्रममा मार्फा गाउँ भित्रको जेरि गल्ली पुग्दा एउटा छुट्टै संसारमा पुगेझैँ महसुस हुन्छ। ढुंगाले बनेका पुराना घरहरू, साँघुरा गल्लीहरू र चिसो हिमाली हावाबीच यहाँको वातावरण अत्यन्तै मनमोहक छ। यो थकाली समुदायको आतिथ्य, परम्परा र पहिचान र भेषभूषा झल्काउने जीवित संग्रहालय जस्तै हो। प्रत्येक घरहरुमा भाडामा राखिएका थकाली पहिरहन ताँहाको दिदीबहिनीले लगाइदिने र त्यो गल्ली क्षेत्र,गुम्बा क्षेत्रमा घुमाउने र आफ्नो भेषभूषा तथा पहिरहनको बारेमा पर्यटकलाई आकर्षित गर्दै आर्थिक आम्दानी गर्ने यस गाउँको प्रमुख श्रोत रहेछ । मार्फाको प्रसिद्ध स्याउबाट बनेका जुस, ब्रान्डी र सुकुटीले यात्रुलाई अझै लोभ्याउँछ। जोमसोम–मुक्तिनाथ यात्रामा आउने जो–कोहीका लागि यो गल्ली एक अविस्मरणीय घटना बन्छ। यहाँको हरेक स्वादमा मुस्ताङको माटो, संस्कृति र मायाको सुगन्ध पाइने अनुभूति भएको छ ।

मुक्तिनाथ – आस्था, मोक्षको धरोहर
मुक्तिनाथ मन्दिर नेपालको हिमाली भूभागमा अवस्थित हिन्दु तथा बौद्ध धर्मावलम्बी दुवैका लागि अत्यन्त पवित्र तीर्थस्थल हो। समुद्री सतहदेखि करिब ३,८०० मिटर उचाइमा रहेको मुक्तिनाथ हिमाल, अध्यात्म, आस्था र प्रकृतिको अद्भुत संगमका रूपमा परिचित छ। हिमालको काखमा रहेको यो धाम पुग्दा केवल धार्मिक अनुभूति मात्र होइन, आत्मिक शान्तिको गहिरो अनुभूति पनि प्राप्त हुन्छ। “मुक्तिनाथ” शब्दको अर्थ नै “मोक्ष प्राप्तिको स्थान” भन्ने बुझिन्छ। हिन्दु धर्मग्रन्थ अनुसार भगवान विष्णुले यहाँ मुक्ति प्रदान गर्ने भएकाले यस स्थानलाई मुक्तिक्षेत्र मानिएको हो। हिन्दु धर्मावलम्बीहरूले यसलाई भगवान विष्णुको स्वरूप “श्री मुक्तिनारायण” को धामका रूपमा पूजा गर्छन् भने बौद्ध धर्मावलम्बीहरूले यसलाई “चुमिग ग्यात्सा” अर्थात् “एक सय आठ धारा भएको पवित्र स्थान” का रूपमा मान्ने गर्छन्

मुक्तिनाथको इतिहास निकै प्राचीन मानिन्छ। विभिन्न पुराण तथा धार्मिक ग्रन्थमा मुक्तिनाथ क्षेत्र उल्लेख भएको पाइन्छ। विशेषगरी स्कन्दपुराण र विष्णुपुराणमा मुक्तिक्षेत्रको महिमा वर्णन गरिएको छ। इतिहासकारहरूका अनुसार प्राचीन कालदेखि नै भारत, तिब्बत र नेपालका साधुसन्त तथा तीर्थयात्रीहरू यहाँ आउने परम्परा रहेको थियो। तिब्बतसँगको पुरानो व्यापारिक मार्गमा पर्ने भएकाले यो क्षेत्र सांस्कृतिक आदानप्रदानको केन्द्रका रूपमा पनि विकसित भएको मानिन्छ। मन्दिर क्षेत्रमा नियमित पूजा–आराधना कहिलेदेखि सुरु भयो भन्ने ठ्याक्कै लिखित मिति नभेटिए पनि शताब्दीयौँ देखि यहाँ धार्मिक गतिविधि सञ्चालन हुँदै आएको विश्वास गरिन्छ। विशेष गरी मध्यकालीन नेपालमा यस धामको महत्व अझ बढेको पाइन्छ। यहाँ हिन्दु र बौद्ध दुवै परम्पराका साधु तथा भिक्षुहरूको सहभागिता रहँदै आएको छ, जसले धार्मिक सहिष्णुता र सांस्कृतिक एकताको अनुपम उदाहरण प्रस्तुत गर्छ। मुक्तिनाथको मुख्य आकर्षण मध्ये १०८ धारा अत्यन्त प्रसिद्ध छन्। गौमुख आकारमा बनाइएका यी धाराबाट बग्ने हिमाली चिसो पानी पवित्र मानिन्छ। धार्मिक विश्वास अनुसार यहाँ स्नान गरे पाप नाश हुने र मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ।

मुस्ताङको शुष्क हिमाली भू–दृश्य, वरिपरि देखिने नीलगिरि र धौलागिरी, अन्नपूर्ण हिमश्रृखंला, बौद्ध गुम्बा, प्रार्थना चक्र र हिमाली संस्कृति मुक्तिनाथ क्षेत्रका थप आकर्षण हुन्। यहाँ पुग्दा प्रकृति, धर्म र अध्यात्म एकै ठाउँमा भेटिएको अनुभूति हुन्छ।

यसकारण हाम्रो पारिवारिक भ्रमणमा मुक्तिनाथ केवल एउटा गन्तव्य भएन, त्यो हिमालको काखमा आत्मिक शान्ति, धार्मिक श्रद्धा र नेपाली हिमाली सभ्यताको अनुभूति गर्ने अविस्मरणीय अध्याय बनेर रह्यो।

कुश्मा – साहसिक पर्यटनको नयाँ पहिचान

हिमाली शान्ति पछि यात्रा साहसिक रोमाञ्चतर्फ मोडियो। कुश्मा आज नेपालको एड्भेन्चर पर्यटनको प्रमुख केन्द्र बनिरहेको छ।विश्वकै अग्लामध्ये मानिने बन्जी, अग्ला झोलुङ्गे पुल र क्लाइम्बिङ गतिविधिले यात्रामा रोमाञ्च थप्यो।भ्रमणका क्रममा साहसिक गतिविधिले यात्रालाई अझ रोमाञ्चक बनाइरहेका थिए। सोही क्रममा टोलीका कान्छा सदस्य, १२ वर्षीय सन्तोष वि।सी। ले अनुभव नगरेको बन्जी जम्पतर्फ आकर्षित हुँदै खेल्ने साहस देखाइरहेका थिए। उमेरअनुसार जोखिमको पक्षलाई ध्यान दिँदै संञ्चालक तथा हाम्रो टोलीले उनलाई सुरक्षित र उपयुक्त साहसिक गतिविधिका रूपमा माउन्टेन क्लाइबिङ गर्न सुझाव दियौं। सल्लाहलाई सकारात्मक रूपमा ग्रहण गर्दै सन्तोषले पनि उत्साहका साथ सहभागिता जनाए। भ्रमण टोलीका सन्तोष, अनिल, तिलक र लोकेन्द्रले माउन्टेन क्लाइबिङ गर्दै साहस, आत्मविश्वास र मनोरञ्जनको अद्भुत अनुभूति हासिल गरे। यात्रा अघि बढ्दै गर्दा उनीहरूको अनुहारमा देखिएको उत्साह र सफलतापछि व्यक्त भएको खुसीले सम्पूर्ण भ्रमण टोलीलाई थप ऊर्जावान बनाएको थियो। पहाड र खोँच माथि बनेका पुलहरूले नेपालको भौगोलिक चुनौती माथिको मानव साहस देखाउँछन्।

फेवातालः पोखराको पहिचान र रोमाञ्चको संगम
फेवाताल नेपालको सबैभन्दा प्रसिद्ध तथा अन्तराष्ट्रिय स्तरमै परिचित पर्यटकीय गन्तव्य हो ।यसलाई पहिले स्थानीय रुपमा बैदाम ताल भनेर चिनिन्थो । फेवा नामको उत्पति स्पष्ट रुपमा एकीकृत ऐतिहासिक दस्तावेजमा नदेखिए पनि कतै स्थानीय मगर( गुरुङ भाषिकको प्रभावसंग जोडेर ब्याख्या गरिन्छ। जसको अर्थ ठूलो जलाशय तथा जलक्षेत्र भन्ने बुझिन्छ भने कतै कतै फेवा नाम गरेको गाउँ थियो र त्यसैको नामबाट फेवा नाम रहेको भन्ने स्थानीयको भनाई छ ।यो हजारौ बर्ष अगाडी पोखराको भुगर्भिय संरचना र हिमाली जलप्रणालीको प्रभावले प्राकृतिक रुपमा बनेको मानिन्छ ।ताल बराही मन्दिर फेवातालको बीचमा अवस्थित अत्यन्त महत्वपूर्ण धार्मिक शक्तिपीठ हो। हिन्दु धार्मिक मान्यता अनुसार देवी बराहीलाई शक्ति स्वरूपा मानिन्छ। यहाँ पूजा–आराधना गर्नाले मनोकामना पूरा हुने विश्वास रहि आएको छ। डुंगाबाट मात्र पुग्न सकिने यस मन्दिरमा यात्रा गर्नु आफैंमा आध्यात्मिक शान्ति र रोमाञ्च दुवैको सुन्दर अनुभव रहेछ।

फेवातालको कायाकिङ हाम्रो यात्राको सबैभन्दा रोमाञ्चक गतिविधि बन्यो। शान्त पानी माथि सन्तुलन कायम गर्दै सानो डुंगा चलाउनु आफैंमा साहस, ध्यान र कौशलको मिश्रण थियो। हिमालको प्रतिबिम्ब र तालको शान्त वातावरणबीच गरिएको कायाकिङले यात्रालाई अविस्मरणीय बनायो। सबैभन्दा रोचक कुरा त हाम्रो टोलीका १२ वर्षिय कान्छो सदस्य सन्तोष वि।सी। ले कायाकिङमा देखाएको आत्मविश्वास र निडरता सबैका लागि विशेष आकर्षण बन्यो। उनले कुनै डर बिना डुंगा नियन्त्रण गर्दै तालमा रमाएको दृश्यले त्यहाँ उपस्थित स्वदेशी तथा विदेशी पर्यटकहरूलाई समेत चकित बनायो। उनको यो कौशल देखेर धेरैले प्रशंशा गरेका थिए । विदेशी पर्यटकहरुले फोटो र भिडियो खिचिरहेको दृश्य देख्न सकिन्थ्यो। यसबाट उमेरले होइन साहस आत्मविश्वासले मान्छेलाई सक्षम बनाउछ भन्ने स्पष्ट सन्देश अनुभूति भयो ।

त्यसैले फेवाताल पानीको ताल मात्रै होइन यो पोखराको आत्मा हो।हिमालको प्रतिविम्व, धार्मिक आस्था,साहसिक खेलकूद र पारिवारिक रमाइलो सबै एउटै यो स्थल हाम्रो यात्राको सुन्दर अध्याय बनेको छ ।

स्याङ्जा र पाल्पा – पहाडी सभ्यता र इतिहास
स्याङ्जा नेपालको पहाडी सभ्यता, शिक्षा र संस्कृतिको महत्वपूर्ण जिल्ला हो। यहाँका पहाड, गुरुङ–ब्राह्मण–मगर समुदायको सहअस्तित्व र ग्रामीण जीवन निकै आकर्षक लाग्छ।

पाल्पा ऐतिहासिक रूपमा तत्कालीन सेन राज्यको केन्द्र मानिन्छ। तानसेन दरबार, ढाका उद्योग र पुराना बस्तीहरूले पाल्पाको गौरवशाली इतिहास झल्काउँछन्।

रुपन्देही स् बुद्ध जन्मभूमिको सभ्यता
रुपन्देही नेपालको धार्मिक र आर्थिक दृष्टिले अत्यन्त महत्वपूर्ण जिल्ला हो। यही भूमिमा अवस्थित लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थलका रूपमा विश्वभर परिचित छ। तराईको समथर भूभाग, कृषि उत्पादन र व्यापारिक गतिविधिले यस क्षेत्रलाई समृद्ध बनाएको छ।

दाङ उपत्यका – नेपालको विशाल भित्री मधेस
दाङ नेपालको ऐतिहासिक भित्री मधेस क्षेत्रमध्ये एक हो। चुरे र महाभारत पर्वतको बीचमा फैलिएको दाङ उपत्यका प्राकृतिक, कृषि तथा सांस्कृतिक विविधताले भरिएको छ। थारु समुदायको संस्कृति, विशाल फाँट र विकसित हुँदै गएको शहरीकरणले दाङलाई विशेष बनाएको छ।

निष्कर्ष – यात्रा केवल दूरी होइन, अनुभूति पनि हो। यो यात्रा केवल सुर्खेतदेखि मुस्ताङ हुँदै पोखरा र तराईसम्मको भौगोलिक यात्रा थिएन। यो नेपालको विविधता, इतिहास, संस्कृति, धर्म, प्रकृति र सभ्यतालाई नजिकबाट बुझ्ने अवसर थियो। हिमालको चिसोपन, पहाडको आत्मीयता र तराईको विशालता सबैले जीवनलाई नयाँ अनुभूति दियो।

परिवारसँग बिताएका ती क्षण, बाटाका हाँसो, थकान, रमाइलो र अविस्मरणीय दृश्यहरूले यो भ्रमणलाई जीवनभर सम्झिरहने सुन्दर अध्याय बनेको महसुस गरेको छु ।





error: Content is protected !!