विप्लव समर्थकलाई समाऊ गृह

काठमाडौं आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन बिथोल्ने उद्घोष गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मुलुकभरका स्थानीय तहका पदाधिकारी तथा उम्मेदवारलाई धम्की दिँदै चन्दा असुली थालेका छन् । पछिल्लो समय उनीहरूले मतदातालाई समेत निसानामा पार्ने रणनीति बनाएका छन् ।

विप्लव कार्यकर्ताले मतदातालाई मतदानमा अवरोध गर्ने, मतदानस्थल वरपर विष्फोटक पदार्थ राखेर आतंक मच्चाउने र व्यक्तिगत रूपमा मतदातालाई धम्क्याउने रणनीति बनाएको स्रोतले बताएको छ । उनीहरूले स्थानीय तहका पदाधिकारी र उम्मेदवारलाई निर्वाचन बहिष्कार गर्ने आफ्नो पार्टीको नीतिलाई सहयोग गर्न भन्दै पत्र लेखेका छन् । तर, पत्रमा चन्दा दिनुपर्ने भने उल्लेख छैन ।
स्रोतका अनुसार, सम्बन्धित व्यक्तिलाई पत्र थमाएपछि मौखिक रूपमा रकम माग्ने गरेका छन् । देखिने गरी कसैलाई केही नगरे र नभने पनि विप्लवका कार्यकर्ताले गुप्त रूपमा प्रदेश २ बाहेक मुलुकभरि नै निर्वाचनविरोधी गतिविधि र चन्दा आतंकलाई सक्रिय बनाएको सुरक्षा स्रोतले बताएको छ । विप्लव कार्यकर्ताले आफ्नो पार्टीले अख्तियार गरेको चुनाव खारेजीको नीतिलाई सहयोग पुर्याउन सम्बन्धित जिल्लाका सरकारी कार्यालय प्रमुख, व्यापारी र दलका उम्मेदवारलाई धम्कीपूर्ण भाषामा चन्दा माग्न थालेका छन् । उनीहरूले कुनै पनि हालतमा निर्वाचन बिथोल्ने भन्दै मतदान बहिष्कार गर्न मतदातालाई दबाबसमेत दिन थालेका छन् ।
विप्लवका कार्यकर्तामाथि निगरानी बढाउन र निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको पाइए तत्काल कारवाही गर्न निर्देशन दिइएको छ ।
नारायणप्रसाद दुवाडी, प्रवक्ता गृह मन्त्रालय
गृह मन्त्रालयले निर्वाचनविरोधी गतिविधि गर्ने जोकोहीलाई तत्काल पक्राउ गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ । गृह प्रवक्ता नारायणप्रसाद दुवाडीले विप्लवका कार्यकर्तामाथि निगरानी बढाउन र निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको पाइए तत्काल कारबाही गर्न निर्देशन दिइएको बताए ।
‘निर्वाचन बिथोल्ने प्रयास गर्ने जोसुकै हुन, तत्काल पक्राउ गरी कारबाही गछौुं, प्रवक्ता दुवाडीले अन्नपूर्णसँग भने । कात्तिक १७ मा भोजपुर २ का कांग्रेस प्रत्यक्षतर्फका उम्मेदवार गोविन्द कार्कीको घरमा ‘घर कब्जाु को सूचना टाँस्ने विप्लव कार्यकता एकराज घिमिरेलाई भोजपुर प्रहरीले पक्राउ गरेको छ ।
नेकपा भोजपुरका सेक्रेटरी मादेनले मनोनयन फिर्ताका लागि गरेको आग्रह कार्कीले अटेर गरेकाले ‘घर कब्जाु गरिएको सूचना टाँस्न लगाएका थिए । उनीहरूले उम्मेदवार कार्कीको घर पुरानो भएको भन्दै भाइको घरमा ‘घर कब्जाु को सूचना टाँसेका थिए ।
त्यस्तै विप्लवका कार्यकर्ताले डोटी जिल्लाका दुर्गम स्थानमा सर्वसाधारणलाई मतदान गरे जनयुद्ध झैँ कारबाही गर्ने भन्दै धम्क्याउन थालेका छन् । विप्लव कार्यकर्ताले प्युठानमा प्रतिनिधिसभाका लागि कांग्रेसका उम्मेदवार गोविन्दराज पोखरेलसँग गोप्य छलफल गरेको स्रोतले दाबी गरेको छ । भेटमा विप्लव कार्यकर्ताले पोखरेलसँग चन्दा मागेका थिए । पोखरेलले विप्लवका कार्यकर्तासँग चुनावमा आफूलाई सहयोग गर्न आग्रह गरेको स्रोतले बताएको छ । कात्तिक २२ मा नेकपा प्युठानका सेक्रेटरी दधिराम सुवेदीले कथित संसद् र प्रदेश निर्वाचन बहिष्कार गर्न भन्दै विज्ञप्ति निकालेका थिए ।
स्रोतका अनुसार सिन्धुली जिल्लाका केही सरकारी कार्यालयका प्रमुखबाट विप्लव कार्यकर्ताले दुई दिनअघि मात्र चन्दा उठाएका छन् । तर सरकारी कर्मचारीले भने डरका कारण कतै उजुरी गरेका छैनन् ।
अघिल्लो बिहीबार जंगी अड्डामा बसेको निर्वाचनलक्षित पृतनापतिहरूको बैठकले समेत जनस्तरबाटै विप्लव र उनका कार्यकर्ता बहिष्कृत भइसकेकाले उनीहरू निर्वाचनमा सुरक्षा चुनौती नरहेको निष्कर्ष निकालेको थियो । त्यसअघि गृह मन्त्रालयमा तीनवटै सुरक्षा निकायका प्रमुख सम्मिलित बैठकले पनि विप्लवले आफ्नो उपस्थिति जनाउन उम्मेदवारलाई धम्क्याउने, चन्दा असुली गर्ने गतिविधि गरे पनि उनीहरूसँग निर्वाचन बिथोल्ने सामथ्र्य नभएको निष्कर्ष निकालेको थियो ।
विप्लवका गतिविधि
स्थानीय तह पदाधिकारी तथा उम्मेदवारसँग चन्दा माग
मतदातासमेत निसानामा
मतदातालाई अवरोध गर्ने
मतदानस्थल वरपर विष्फोटक पदार्थ राखी आतंक मच्चाउने
भोजपुरमा कांग्रेस उम्मेदवार गोविन्द कार्कीको घरमा ‘घर कब्जा को सूचना टाँस
डोटीमा सर्वसाधारणलाई मतदान गरे कारवाहीको धम्की
अन्नपुर्णवाट ।










