पूर्वराजाको बेमौसमी रहरः नेतृत्व गरेको पनि देखियो !

५ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भाइटीकाका अवसरमा सन्देश दिएका छन्, जनताले चाहे उनी नेतृत्व लिन तयार छन् । उनको अभिव्यक्ति त्यतिबेला आएको छ, जतिबेला जनताले स्थानीय तहमा नेतृत्व छानिसकेका छन्, प्रदेश र संघीय संसदमार्फत् गणतान्त्रिक नेपालको संवैधानिक व्यवस्थाअनुसार आगामी ५ वर्षका लागि मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने ‘रोडम्याप’ दिँदै छन् ।

पूर्वराजाको अभिव्यक्ति श्रव्यदृश्य सामग्रीसहित सार्वजनिक भएलगत्तै पाठकहरुको प्रतिक्रिया थियो, ‘आफ्नै छोरालाई त अभिभावकत्व दिन नसक्ने पूर्वराजाले देशलाई के नेतृत्व दिन्छन् ?’
सिंहासनबाट निकालिएको ९ वर्षमा उनले यस्ता अभिव्यक्ति पटक-पटक दोहोर्याइसकेका छन् । जनताले भने नारायणहिटीको नभई संसदमार्फत् मुलुकको नेतृत्व चुन्दै आएका छन् । २९ जेठ ०६५ मा पूर्वराजा नारायणहिटीबाट बाहिरिए यता उनलाई पुनः मुलुकको बागडोर हस्तान्तरण गर्ने जनचाहना कहींकतै प्रतिविम्बित भएको छैन ।
पुनःस्थापित प्रतिनिधिसभाले ४ जेठ ०६३ मा गरेको ऐतिहासिक घोषणामार्फत् ज्ञानेन्द्र शाह पूर्वराजा बनिसकेका थिए । २८ चैत ०६४ मा भएको निर्वाचनमार्फत् मुलुकले पहिलो संविधानसभा प्राप्त गर्यो । १५ जेठ ०६५ देखि नयाँ संविधान लेखनका लागि जनप्रतिनिधिले काम थाले । त्यसको १४ दिनपछि पूर्वराजपरिवारलाई नारायणहिटीबाट विदा गरियो ।
ज्ञानेन्द्र शाह त्यतिबेलै मुलुकको नेतृत्वका लागि असान्दर्भिक भइसकेका थिए । उनलाई सीमित भूमिका दिएर नारायणहिटी फर्काउने बहस त्यसयता पनि नभएको होइन ।
तर, दोस्रो संविधानसभामार्फत् संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा भयो, पूर्वराजा सत्तामार्गको पल्लोकिनारामा धकेलिए, कहिल्यै नफर्किने गरी । आफ्नो नेतृत्व आफैं चुन्न जनता व्यस्त रहेका बेला पूर्वराजाले नेतृत्वको खडेरी कसरी देखे ? यसको जवाफ खोज्न राजसिंहासनमा काकताली परेर उनको आरोहण र त्यसलगत्तै उनले पहिल्याएका पाइलाबारे विश्लेषण सान्दर्भिक हुन सक्छ ।
३० फागुन ०११ मा राजगद्दीमा आसिन हुँदा तत्कालीन राजा महेन्द्रसामु मुलुकलाई नेतृत्व दिइरहेका दूरदर्शी नेता बीपी कोइराला थिए । अस्थिर राजनीतिका बावजुद त्यतिबेला राणा शासनलाई सशस्त्र संघर्षमार्फत् फालेर आएको कांग्रेस नेपाली राजनीतिको ‘लाइम लाइट’मा थियो ।
संयोगवस, ज्ञानेन्द्रका पिता महेन्द्र पनि जनतालाई शासन सत्ता चलाउन दिन चाहँदैनथे । शक्ति हातमा लिएर जनता, कांग्रेस र बीपी कोइरालालाई सत्तामार्गको उपल्लो किनारामा धकेल्न चाहन्थे, सधैंका लागि । १ पुस ०१७, जसलाई नेपाली राजनीतिक, सामाजिक र अर्थतन्त्रका लागि समेत कालोदिन मानिन्छ, मा महेन्द्रको त्यो चाहना व्यवहारमा रुपान्तरण भयो । जननिर्वाचित संसद र प्रधानमन्त्रीलाई बर्खास्त गर्दै उनले मुलुकलाई ३० वर्षे अन्धकारमा धकेले ।
उनको त्यस सफलताका पछाडि तुलसी, गिरी, कीर्तिनिधि विष्ट, विश्वबन्धु थापा, सूर्यबहादुर थापालगायत राजनीतिकर्मीको साथ पनि एक कारण थियो । ती सबै त्यतिबेलाका युवा थिए, जो त्यस समयलाई राम्रोसँग बुझ्थे ।
र, ३० वर्षसम्म पञ्चायती व्यवस्थाको अँध्यारोमा मुलुकलाई राखिरहन ती नेताहरुले नारायणहिटी दरबारलाई राम्रै भरथेग पनि गरेकै हुन् ।
महेन्द्रका माइला छोरा ज्ञानेन्द्र काकतालीमा मुलुकको राजा बन्दै गर्दा अवस्था धेरै फेरिइसकेको थियो । मुलुक माओवादी सशस्त्र द्वन्द्वको उत्कर्षमा थियो । जनता त्यसबाट पार पाउन अभिभावक खोजिरहेका थिए । उनको मार्ग भने जनताको घरआँगनतिर सोझिएन, संसदीय अभ्यासलाई अपमानित गर्दै उनी आफ्ना बाबुकै पथमा अगाडि बढ्न दृढ देखिए ।
र, साथ लिए तिनै पात्रको, जसलाई आफ्ना बाबुले पनि सारथी बनाएका थिए । उनका बाबुको रथ दौडाउने पात्र बन्दै गर्दा उनीहरु युवा थिए, जो तत्कालीन समयलाई आफू अनुकुल हिँडाउन पनि खप्पिस मानिन्थे ।
ज्ञानेन्द्रको रथमा सारथी बनाइँदा ती पात्रहरु आफैं असान्दर्भिक बनिसकेका थिए । समयलाई आफूअनुकुल हिँडाउनु त टाढाको कुरा, सान्दर्भिकताबाटै हराइसकेका थिए ।
ज्ञानेन्द्र चिप्लिएको विन्दु त्यही हो । र, जनताले नै सत्तामार्गको पल्लो किनारामा धकेलिदिएर जनता नै बीचमा चट्टाने पर्खाल बनेर उभिएका बेला उनी फेरि कस्तो अभिभावकत्वको मनको लड्डु तयार पार्दैछन् भन्ने आफैंमा यक्ष प्रश्न हो ।
एउटा कुराचाहिँ सत्य हो, उनी जनताको ताकतमा विश्वास गर्दैनन्, आफू हुर्के/बढेको परिवेश, परिवार र समयका कारणले । जनताले राजगद्दी र श्रीपेचलाई संग्रहालयमा थन्क्याइसकेका छन् । तिनमा विस्तारै माकुराको जालो र धुलो बढ्दै गएको कुरामा उनी अनभिज्ञ छैनन् । फेरि पनि नेतृत्व लिने सपना देख्दैछन्, ज्ञानेन्द्र शाह ।
उनका लागि मुलुकको बागडोर सम्हालन पाउने दुई तरीका छन्, अझै । पहिलो, कुनै दलमा आवद्ध हुने र राष्ट्रपतिको कुर्सीमा पुग्ने । दोस्रो, लोकतान्त्रिक गणतन्त्रविरुद्ध जनतालाई सडकमा उतार्ने र राजगद्दीमा फर्किने ।
केही स्वार्थी समूह छन्, जो ज्ञानेन्द्र शाहलाई गद्दीबाट उतार्ने प्रक्रियालाई अवैधानिक ठान्छन् । के त्यसो भए जनतालाई किनारामा धकेलेर मुलुकलाई अन्धकारमा धकेल्ने उनको कदम वैधानिक थियो ? उनलाई गद्दीच्युत गर्न म्यान्डेट सडकमा धकेलिएका जनताले सडकबाटै दिएका थिए । जनताको म्यान्डेट अवमूल्यन दुस्साहस बाहेक केही मान्न सकिँदैन ।
स्वार्थी समूहको घेरामा बसेर गिरोहको साथ लिई सत्तामा फर्किने सपना पूर्वराजाले देखेको भए त्यो उनको फगत दिवास्वप्न मात्र हो, जसबाट फल प्राप्त हुन सक्दैन । पूर्वराजाले अनुसरण गरिरहेका पुरातन नीतिशास्त्रहरुले पनि त्यसै भन्छन् ।
आफूलाई फूलका माला र जनताको शासनलाई कागजको मालाका रुपमा तुलना गरेर फेरि पनि ज्ञानेन्द्र शाहले फेरि एक पटक जनताको अवमूल्यन गरेका छन् । पूर्वमहाराज जवाफ देऊ, तिमी कसरी फूलका माला कहलाउन योग्य छौ ? फूलका मालाले झिलिमिलीको पर्व तिहारको प्रतिनिधित्व गर्छन् । तिमीले अभ्यास गरेको व्यवस्था अन्धकारको थियो, कसरी तिहारसँग तुलना गर्छौ ? के जनप्रतिनिधि कागजका माला हुन् ? के २१औं शताब्दीको विश्वले अन्धकारको पर्वलाई स्वीकार गर्छ ?
पाँच पाण्डवलाई सियोको टुप्पो पनि नदिने धृष्टता धृतराष्ट्र पुत्र दुर्योधनले गरिरहँदा महाभारत युद्धको विजारोपण भएको थियो । पाण्डु पुत्रहरुले कौरव वंश र युगको अन्त्य गर्दै लडाईं जितेपछि धृतराष्ट्रसामु वानप्रस्थ आश्रमतिर पाइला सार्नुको विकल्प थिए । द्वापर युगमा विश्वास गरिने परलोक सुधार्ने एक मात्र विकल्प बचेको थियो, सन्तान, दरसन्तान गुमाएका धृतराष्ट्रका अगाडि ।
नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहको अघिल्तिर पनि वानप्रस्थ आश्रममा बसेर परलोक सुधार्ने उपाय मात्र बाँकी छ, अब । हिन्दु वणर्ाश्रम धर्मअनुसार उमेरका कारण पनि उनका सामुन्ने वानप्रस्थ आश्रमकै ढोका खुला छ । गृहस्थाश्रममा फर्किने सपना देख्न छाड, पूर्वराजा ।
मुलुकको शासन व्यवस्था अब युवाले सञ्चालन गर्ने हो । स्थानीय तह जितेर आएका युवाको अनुहार देखेर पनि पूर्वराजाको चेतको ढक्कन खुल्न नसकेको हेर्दा पनि उनी मुलुकलाई नेतृत्व दिन सक्ने क्षमताका होइनन् भन्ने प्रष्ट हुन्छ ।
दशैं, तिहार परिवारसँगै बसेर मनाइने पर्व हुन् । पूर्वराजाका सन्तानले पनि दरबारको साँघुरो कठघेरा नाघेर बाहिर निस्कन पाउँदा परिवारको विशालता पाएका छन् । विगतका रैती अब उनीहरुका सहयात्री बनेका छन् । जनताका साथमा रमाउन पाएका छन्, तिनले । र, देश, भूगोल, समाज र परिवेशमा हराउन पाएका चाहेका छन् ।










