बालिकालाई पैसा देखाएर बलात्कार गर्ने ८५ बर्षिया बृद्ध पक्राउ

गोरखा । बालिकालाई ललाइफकाई बलात्कार गर्दै आएको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले एक बृद्धलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भीमसेन गाउँपालिका–६ झिंङगटेका ८५ वर्षीय वृद्ध नुरमहमद् मियाँ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रकाश अधिकारीले जानकारी दिए ।
मियाँले १० वर्षीया बालिकालाई पैसाको प्रलोभनमा पारेर पटक–पटक बलात्कार गर्दै आएको खुलेको उनले जानकारी दिए । हिजो दिउँसो पनि बालिकालाई बलात्कार गरेको स्थानीय महिलाले प्रत्यक्ष देखेपछि घटना सार्वजनिक भएको हो ।
मियाँले बालिकालाई बलात्कार गरेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरे लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी उपरिक्षक अधिकारीले जानकारी दिए । घटना लगत्तै पिडित बालिकाको उद्धार गरेर गोरखा अस्पतालमा स्वास्थ्य परीक्षण गराएको थियो ।
घटनाका सम्बन्धमा परिवारले किटानी जाहेर दिएपछि मियाँ विरुद्ध जबरजस्तीकरणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रहरीको अनुसन्धानमा मियाँले बालिकालाई यस अघि दुईपटक बलात्कार गरेको खुल्न आएको छ ।
घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



