कर्णालीको हवाई टिकटमा सिन्डिकेट कहिलेसम्म 

रामचन्द्र न्यौपाने, डोल्पा
कर्णालीका पाँचवाट जिल्ला यातायातको सुविधाको हिसाबमा निकै पछाडी छन् । यहाँका जिल्लाहरुसम्म पुग्नको लागि सडक यातायातको राम्रो सुविधा छैन् । त्यसो त कर्णालीमा हवाई यातायात पहिलो विकल्पको रुपमा रहँदै आएको छ । कर्णालीका अन्य जिल्लाहरु भन्दा डोल्पामा यातायातको झनै असुविधा रहेको छ । दुर्गम जिल्ला डोल्पासम्म अहिलेसम्म पनि सडक यातायातको सुविधा छैन् । डोल्पामा यातायातको एकमात्र विकल्पको रुपमा रहेको जुफाल विमानस्थल कालोपत्रे पछि सञ्चालनमा ल्याइएको छ । विमानस्थल कालोपत्रे पछि विभिन्न कम्पनीका जहाजहरु आउलान् र सहज रुपमा हवाई टिकट पाइएला भन्ने डोल्पालीको आशा निराशामा परिणत भइसकेको छ । विमानस्थल कालोपत्रे पछि पनि टिकेटको समस्या उस्तै छ । जिल्ला वाहिर आवत जावत गर्ने सर्वसाधारणलाई अहिले पनि हवाई टिकेटको सास्ती भने जिउँका तिँउ छ ।

सिस्टममा टिकट बाँड
दसैँ सकिएसँगै डोल्पाको जुफाल विमानस्थलमा यात्रुहरुको चाप बढेको छ । प्रत्येक दिन यात्रुहरुको संख्या बढ्दै गर्दा जहाजले नियमित उडान भने घटाएको छ । डोल्पामा हवाई सुविधा दिँदै आएको तारा,गोमा एअरलाईन्स पुर्व उडान भर्ने गरेपछि नियमित उडान घटेको एअरलाइन्सले जनाएका छन् । जुफाल विमानस्थलमा दसैंमा घर फर्केका विद्यार्थीको चाप बढेको छ । सर्वसाधारणहरु हप्तौदेखि जहाज कुर्दा पनि गन्तब्य सम्म पुग्न पाएका छैनन् । यतिखेर विदेशी पर्यटकहरुको समुहले जहाज नै बुक गर्ने भएकाले सर्वसाधारणहरु हप्तौंदेखि जहाज कुर्न बाध्य भएका हुन् । एअरलाइन्सले व्यक्ति हेरेर हवाई टिकेट बाँड्ने गरेकाले हप्तौंदेखि सर्वसाधारणहरु विमानस्थलमै अलपत्र परेको स्थानीय महेन्द्र पहाडीले जानकारी दिए । ‘जुफाल विमानस्थलमा सिस्टममा टिकेट बाडिंदैन्,पावर भएका मान्छेहरुलाई एकै दिनमा उड्न पाउँछन्,पावर नभएका मान्छेहरु हप्तौसम्म पनि उड्न पाउँदै,अन्तिममा समय र पैसा सबै बर्वाद पारेर घर फर्किनु पर्ने बाध्यता हुन्छ’ पहाडीले भने ।

एअरलाइन्सको सिन्डिकेट
नेपालगञ्ज–डोल्पा र डोल्पा–नेपालगञ्ज नियमित उडान गर्दै आएका तारा सुमित एअरलाईन्समा सर्वसाधारणका लागि टिकट पाउनु भाग्यनै ठान्नु पर्ने त्रिपुरासुन्दरी नगरपालिकाका स्थानीय कबी प्रसाद उपाध्यायले बताए । ‘नेपालगञ्जदेखि डोल्पा जाने टिकटहरु टाठाबाठा र चिनेजानेकाहरुको मात्रै पहुँचमा कहिलेसम्म चल्ने हो’ उपाध्यायले प्रश्न गरे । एअरलाइन्सको टिकेटमा सिन्डिकेट हटाउनेतर्फ सम्बन्धित निकाय गम्भिर बन्न जरुरी भएको उपाध्यायले बताए ।‘पछिल्लो समयमा तारा र गोमा एअरको जहाजमा सिन्डिकेट मौलाउँदै गएको पाईएको छ’ उनले थपे । ‘डोल्पामा नियमित उडान भर्दै आएका तारा र गोमा एअरका कर्मचारीहरुसँग पँहुच भएकाले एकै दिनमा टिकेट पाउँछन्,नभएकाहरु महिनौ कुर्दा पनि टिकेट नपाउने अवस्था छ’ पत्रकार टेश शाहीले भने ‘कर्णालीका जिल्लाहरुमा उडान भर्ने एअरलाइन्सले गर्ने सिन्डिकेट प्रणाली नतोडिएसम्म सर्वसाधारणलाई हवाई टिकेटको सास्ती अन्त्य नहुने शाहीको ठम्याई छ । यसरी विमान कम्पनीले दुर्गमका जनताको सेवा गर्ने बहानामा सर्वसाधारणलाई सास्ती दिईरहेको उनको आरोप छ ।

सहज हुँदा ट्राभल एजेन्सी, नहुँदा आफै
कर्णाली क्षेत्रमा उडान भोर्दै आएका तारा,गोमा एअरलाइन्सहरुले मान्छेहरुको चाप कम भएकोे बेला ट्राभल एजेन्सीहरुलाई टिकट दिने मान्छको चाप भएको बेला नदिने गरेको पाइएको छ । मान्छेहरुको चाप भएको बेला दसैँ तिहारमा टिकटमा चहलखेल गर्न तथा मन्त्री र संघ संस्थाका प्रमुखको नमस्कार खानको लागि ट्राभल एजेन्सीहरुलाई दुर्गममा उड्ने एअरलाइन्सहरुले टिकेट सिट नदिने गरेको नाम नभन्ने शर्तमा नेपालगञ्जकै एक ट्राभल एजेन्सिका संञ्चालकले हामिसँग भने ।डोल्पा लगाएतका कर्णालीका विभिन्न जिल्लाहरुमा हुने हवाई टिकटमा व्यापक घोटालाहुँदा समेत सम्बन्धित निकाय मौन बसेको सर्वसाधारणले गुनासो गरे ।

नेपाल एअरलाइन्सलाई उडान थप गर्न माग
निजि विमान कम्पनीहरुको दादागिरीले आजित भएका सर्वसाधारणहरुले नेपाल एअरलाईन्सको थप उडानको आस गरेकाछन् । कर्णालीका पाँच वटै जिल्लामा हप्तामा एउटा मात्रै उडान भर्दै आएको नेपाल एअरलाइन्सलाई एक थपेर हप्तामा दुई दिन उडान गरिदिन माग गरेका हुन् । चाड पर्वमाहुने यात्रुहरुको चापलाई मध्येनजर राख्दै थप उडानका लागि सम्बन्धित निकायमा आग्रह समेत गरिएको छ ।

जहाँ नौ हजार तिरेर पनि जान पाइदैन्
नेपालगञ्जदेखि डोल्पा सम्मको हवाई भाडा आठ हजार छ सय रहेको छ । छिमेकी राष्ट्र भारत जान मिल्ने पैसाले पनि जहाज टिकेट नपाइने पीडाले मन साह्रै दुख्ने गरेको त्रिपुरा सुन्दरी नगरपालिकाका स्थानीय दुर्गा प्रसाद देबकोटाले बताए ।डोल्पा उडान भर्दे आएका तारा र गोमा एअरले उक्त भाडा दरमा उडान भर्दै आएका छन् । जहाजको पैँतिस मिनेटको बाटोमा दोहोरो भाडा तिरेर पनि गन्तव्य सम्म जान नपाउनुको क्षण साच्चीकै पीडादायी भएको देवकोटाले बताए । एअरलाइन्सले डोल्पा लगाएतका दुर्गमका जिल्लाहरुमा दुईतर्फी भाडा लिएर मात्र उडान भर्ने गर्छन् भने डोल्पादेखि आउन भने छत्तीस सय पचास तिर्नु पर्छ । नेपालगञ्जबाट जानको लागि दुईतर्फी भाडा तिर्दा पनि जान नपाइने भएपछि यात्रुहरु साह्रै मर्कामा परेको डोल्पाका नागरिक अगुवा सुरेन्द्र ढकालले जानकारी दिए ।

फोनबाटै हुन्छ टिकट बुक
दुर्गमका जिल्लाहरुमा हुने हवाई उडान सर्वसाधारणको पहुँचमा छैन् ।‘कर्णालीका डोल्पा,हुम्ला,मुगु लगायतका जिल्लामा जानको लागि साना दुःखले काम चल्दैन्,जहाजको टिकट पाउनको लागि कि कर्मचारी चिन्नुपर्‍यो कि त साविकको मुल्य भन्दा धेरै तिरेर जान टिकेट दलाल सँग सम्पर्कहुनु पर्‍यो’ कांग्रेस डोल्पाका पार्टी सचिव जयनन्द उपाध्यायले भने ।‘दुर्गममा उड्ने तारा,गोमा एअरलाइन्सको टिकट अग्रिम फोनबाटै बुक हुने भएकाले चिनजान नभएकाका लागि टिकट पाउने सम्भावना न्युन हुन्छ’ उपाध्ययाले भने । ठुलाबडाको सिफारिस र टिकटको मुल्य भन्दा धेरै पैसा तिर्न खोज्ने गरेको पाइएको उपाध्यायले बताए ।

स्वदेशी भन्दा बिदेशी प्राथमिकतामा
नाफामुखि भन्दा सेवामुखि ढंगबाट जनतालाई सेवा दिने नेपाल सरकारसँग निजि विमान कम्पनीहरुको सम्झौता हुन्छ । तर, दुर्गममा चल्ने जहाजहरु सेवााुखी भन्दा नाफामुखी ढंगबाट संचालन भइरहेका छन् । पर्यटक पछि मात्र सर्वसाधारणको पालो आउँछ । यातायातको समस्याले आजित भएका कर्णालीबासी भन्दा महंगो मुल्य तिर्न सक्ने उनै विदेशी पर्यटकहरु प्राथमिकतामा पर्ने गर्दछन् ।





error: Content is protected !!