माओबादीलाई मन्त्रीबाट हटाए देउबाले चुनौती मोल्नु पर्छ-पुर्ब गृहमन्त्री बस्नेत ।

माओवादी केन्द्र र एमाले बीच चुनावी तालमेल हुँदै पार्टी एकता हुने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा माथि माओवादी केन्द्रका मन्त्रीहरुलाई राजिनामा गराउनु पर्ने वा बर्खास्त गर्ने दवाव पार्टी भित्रैबाट परेको छ ।
विपक्षमा रहेको राप्रपाले सोमबार अकस्मात सरकारलाई समर्थन गर्ने निर्णय गरेपछि सोमबार राजनीतिक बृत्तमा के हल्ला चल्यो भने देउवाले माओवादी केन्द्रका मन्त्रीलाई राजिनामा गरिदिन भनिसकेका छन् ।
यदि माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गरिए माओवादी केन्द्र र एमाले मिलेर सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याउने अनुमानपनि गरिए । के देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई राजिनामा गराउन भनेकै हुन् । यदि साँच्चिकै माओवादी केन्द्रका मन्त्रीहरु हटाइए भने माओवादी केन्द्रको प्रतिक्रिया के होला ?
यी प्रश्नमा माओवादी केन्द्रका सचिवालय सदस्य एवं पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतको जवाफ यस्तो छः
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रलाई सरकारबाट हट्नु भनिसकेका हुन्छ ?
माओवादी केन्द्रलाई सरकारबाट हटाउनु पर्यो भन्ने दवाव नेपाली कांग्रेस भित्रबाट सुरु भएको भन्ने कुरा सार्वजनिक भएपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग यस विषयमा चासो राख्नु भएको रहेछ । अध्यक्षले हामीलाई बताउनु भए अनुसार प्रधानमन्त्री देउवा त्यो विन्दूमा पुगिसक्नु भएको छैन । सम्भवतः देउवाले त्यस्तो कदम चाल्नुहुने पनि छैन ।
राप्रपाले सरकारलाई साथ दिने निर्णय गरेपछि माओवादी केन्द्रका मन्त्री हटाउन प्रधानमन्त्री देउवालाई गाह्रो छैन, हटाइहाले भने के हुन्छ ?
हाम्रो प्राथमिकता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हो । चुनाव गर्ने शर्तमा त्यसो गर्छन्, भने हामीलाई त्यसले केही असर गर्दैन । तर चुनाव टार्नका लागि त्यसो गरे भने चाहिँ त्यसको राजनीतिक प्रतिवाद हुन्छ । त्यो स्थितिमा प्रधानमन्त्री देउवाले चुनौती मोल्नुपर्नेछ ।
माओवादी केन्द्र एमाले सँग मिलेपछि आशंकाको स्थिति बनेको होइन र ?
राजनीतिमा यस्ता गठबन्धन भइरहन्छन् । हिजोपनि हामी सँगै सरकारमा थियौं । तर रोल्पा, रुकुम, कालिकोट, सल्यान लगायतका जिल्लामा कांग्रेस र एमाले मिलेर हामी विरुद्ध स्थानीय तहको चुनाव लडे । हामीले त्यसलाई स्वभाविक रुपमा लियौ । अहिलेको वामपन्थी गठबन्धनलाई पनि कांग्रेसले त्यसैगरी स्वभाविक रुपमा लिनुपर्छ ।
एमाले सँग मिल्ने भएपछि कांग्रेस नेतृत्वको सरकारमा बसिरहन नैतिक रुपमा मिल्छ र ?
चुनाव गराउनकै लागि भनेर यो सरकार बनेको हो । त्यसैले यो चुनावी सरकार हो । चुनावी सरकार त अझ बृहद हुनुपर्छ, अहिले त हामीमात्र छौँ । जहाँसम्म प्रतिपक्षी एमालेसँग मिलेको भन्ने कुरा हो, सरकारमा हुनु र तालमेल हुनु फरक फरक कुरा हुन ।
हिजो राप्रपा एक हुँदा समेत एउटा पक्ष सरकारमा थियो, अर्को सरकार बाहिर । अहिलेको स्थिति पनि त्यही हो। हामी सरकारमा छौँ, एमाले बाहिर छ । अझ हामी त तालमेलको क्रममा मात्रै छौँ । हामी अलग पार्टीका रुपमा छौँ अहिलेसम्म ।








