प्रहरीलाई पूर्वसूचना थियो तैपनि राजधानीमा व्यवसायी मारिए

काठमाडौं , युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई गत पुसमा गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका नौजना पुर्पक्षका लागि अहिले पनि जेलमा छन् । माघमा पक्राउ परेलगत्तै उनीहरूले प्रहरीलाई सूचना दिएका थिए, ‘मनोज पुन नेतृत्वमा रहेको हाम्रो समूहले अब काठमाडौं ताक्दै छ ।’ पुनका सहयोगीहरूले दिएको सूचनालाई प्रहरीले सदुपयोग गर्न सकेन । सो समूहमाथि नौ महिनासम्म सार्थक
हस्तक्षेप हुन नसक्दा सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै गोली हानी हत्या भएको छ ।

काठमाडौंका प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकलाई सो समूहका लोप्साङ तामाङले फोन गरी घटनाको जिम्मेवारी लिइसकेका छन् । केही महिनाअघि दावा लामामाथि गोली हानेको घटनामा पनि उनले फोन गरेर जिम्मेवारी लिएका थिए ।

घटना प्रकृति पनि भारतमा बसेर नेपालमा असुली आतंक मच्चाउँदै आएका मनोज पुनसँग मिल्दछ । सो समूहले केही महिनायता ठूला ठेकेदारहरूलाई धम्क्याउँदै गोली हानेर तर्साउने र पछि पैसा माग्ने गरेको छ । बुटवलमा पनि तिवारीको हत्यापछि व्यापारीहरूलाई धम्क्याउँदै करोडौँ पैसा असुलेका थिए ।

सुरक्षाको दृष्टिकोणले गौचनलाई गोली हानी आपराधिक समूहका व्यक्ति सहजै भाग्न सफल हुनु पनि प्रहरीको गम्भीर त्रुटि हो । राजधानीको मुख्य क्षेत्रबाटै उनीहरू सहजै भाग्न सफल भए । कतिसम्म भने घटनास्थलमा प्रहरी करिब १५ मिनेटपछि मात्र पुगेको थियो । नजिकै सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको घरको सुरक्षामा खटिएका प्रहरीले पनि आक्रमणकारीलाई पक्राउ गर्न तदारुकता देखाएनन् । प्रहरी संगठनभित्रको चरम राजनीतिले पनि यस्तो घटना जन्माएको प्रहरी अधिकारीहरू बताउँछन् ।

कहाँ छन् पुन

प्रहरीको अनुसन्धान पुनतर्फ नै केन्द्रित छ । भारतमा बसेर उनले नेपालमा धम्की र गोली प्रहारको शृंखला चलाउँदै आएका छन् । उनको प्रमुख उद्देश्य नै ‘अन्डर वल्र्ड’ चलाएर पैसा असुल्ने रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । भारतको गोवा, दिल्ली तथा बैंगलोरमा उनी ठाउँ फेरीफेरी बस्दै आएका छन् । इन्टरनेट कल मात्र प्रयोग गर्ने भएकाले उनलाई पक्राउ गर्न नसकिएको प्रहरीको भनाइ छ ।

पुनको समूहमा कुनै समय काठमाडौंमै गुन्डागर्दीमा संलग्न समीरमानसिंह बस्नेतसमेत छन् । रसियन युवतीसँग बिहे गरेका उनले भुटानको पासपोर्ट लिइसकेका छन् । उनले ठूलो सञ्जाल बनाइसकेका छन् । बस्नेतलाई पक्राउ गर्न सिआइबीले पटक–पटक विशेष टोली बनाए पनि सफल हुन सकेको छैन । सुरुमा डिएसपी रुगम कुँवर र पछि प्रवीण पोखरेलले अनुसन्धान गरेका थिए । तर, दुवैजनाको बीचमै सरुवा भएपछि अनुसन्धान प्रभावित भएको हो । प्रहरीले नै गम्भीरताका साथ पुनमाथि अनुसन्धान नगर्दा सोमबारको घटना भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

घरबाट निस्किएलगत्तै सडकमा गोली प्रहार

घरबाट निस्किएलगत्तै शान्तिनगरको प्रयागमार्ग चोकमा गौचन चढेको बा।१३च ४९४८ नम्बरको गाडीमा गोली प्रहार भएको हो । गाडी उनका चालक कुमार खत्रीले चलाएका थिए । मास्क लगाएका एक व्यक्तिले चालकतर्फको झ्यालमा इँटाले हानेपछि उनले गाडी रोकेका थिए । लगत्तै अर्का युवकले गौचनलाई ताकेर दुई राउन्ड गोली हानेका हुन् । गोली हानेपछि उनीहरू दौडँदै भागेको चालक खत्रीले बताएका छन् ।

उपचारका लागि सिभिल अस्पताल पु¥याउने क्रममा उनको मृत्यु भयो । गौचनको मुटु र फोक्सोमा गोली लागेको थियो । पैसा माग्दा नदिएपछि संगठित आपराधिक समूहले उनको हत्या गरेको प्रहरीले जनाएको छ । उनी डाँफे कन्स्ट्रक्सनका सञ्चालक पनि हुन् ।

न्यायाधीश बम हत्यापछिको हाइप्रोफाइल हत्या

सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यापछि यो नै राजधानीमा भएको अर्को हाइप्रोफाइल हत्या हो । १८ जेठ २०६९ मा ललितपुरको युएन पार्कनजिकै बमको हत्या भएको थियो । यसबीच आपराधिक समूहबाटै योजनाबद्ध रूपमा हत्या भएको थिएन । यो घटनाले राजधानीको सुरक्षा अवस्था उदांगो बनाइदिएको छ भने सर्वसाधारणले असुरक्षित महसुस गरेका छन् ।

तीनजना पक्राउ

घटनाको आधा घन्टापछि पेस्तोलसहित तीनजना पक्राउ परेका छन् । तर, गौचन हत्याको घटनामा उनीहरूको संलग्नता खुलेको छैन । मनमैजुबाट प्रहरीले सञ्जय लामा, दिलीप लामा र रिम लामालाई दुई राउन्ड गोलीसहित पक्राउ गरेको हो । उनीहरू सवा ३ बजे पक्राउ परेका हुन् । पौने ३ बजे गौचनमाथि गोली प्रहार भएको थियो । उनीहरूबाट बरामद पेस्तोल र घटनामा प्रयोग भएको पेस्तोल फरक रहेको प्रहरीले जनाएको छ । उनीहरू पनि कुनै आपराधिक योजनाका साथ हिँडेको समूह रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले बताए ।

पुन र बाहुन समूह छानबिनमा

– घटनामा गुन्डाद्वय मनोज पुन र रमेश बाहुन समूहमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । रमेश बाहुन समूहले गौचनलाई धम्क्याउँदै आएको थियो । ‘आर्थिक लेनदेनकै कारणले हत्या भएको जस्तो देखिन्छ,’ महानगरीय प्रहरी कार्यालयका आयुक्त जयबहादुर चन्द भन्छन्, ‘तीन दिनअघि रमेश बाहुन समूहका व्यक्तिले उनलाई लेनदेन विवादमै थप्पड हानेको बुझिएको छ, घटनामा कुन समूह संलग्न छ, हामी पत्ता लगाउँछौँ ।’ बाहुन भने जेलमा छन् । उनका सहयोगीहरूले
ठेकेदारहरूलाई धम्क्याएर पैसा असुल्दै आएका छन् ।

घटनालगत्तै लामालगायतलाई पनि फोन

– गौचनलाई गोली हानेको एक घन्टापछि निर्माण व्यवसायीसमेत रहेका कांग्रेस नेता जिपछिरिङ लामालगायतलाई पनि फोन आएको थियो । सो गोली आफूले हानेको भन्दै फोन गर्नेले एक करोड रकम मागेको लामाले बताए । ‘मलाई नो कल आइडीबाट चारपटक फोन आयो,’ उनले भने, ‘एक करोड रुपैयाँ माग्दै उनीहरूले धम्क्याएका छन् ।’

– डेढ महिनाअघि पैसा माग्दै पनि आफूलाई फोन आएको लामाले बताए । लामा, रोशन दाहाल, मुकेश पन्तलगायतका व्यवसायीलाई समेत पैसा माग्दै धम्कीपूर्ण फोन आउने गरेको छ । यो घटनाले देशमा बस्नै डर लागेको लामाले बताए । धम्कीपछि उनले गृहमन्त्री जनार्दन शर्मा र आइजिपी प्रकाश अर्याललाई भेटेर जानकारी गराएका थिए ।

गौचनको हत्यापछि निजी क्षेत्र त्रसित

कृष्ण रिजालरनयाँ पत्रिका

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यापछि निजी क्षेत्र त्रसित बनेको छ । अज्ञात व्यक्तिले निर्माण व्यवसायी गौचनको दिनदहाडै गोली हानी हत्या गरेपछि उद्योगी–व्यवसायी त्रसित भएका हुन् । घटनाले व्यवसायीलाई त्रसित तथा चिन्तित बनाएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताइन् ।

‘राजधानीकै मुटुमा गोली हानी व्यवसायीको हत्या हुनु असाध्यै डरलाग्दो घटना हो,’ उनले भनिन्, ‘यसले देशभरका व्यवसायीलाई मर्माहत र त्रसित बनाएको छ ।’ निजी क्षेत्रका छाता संगठनहरूले विज्ञप्ति निकाल्दै हत्याको भत्र्सना गरेका छन् । उनीहरूले तत्काल अपराधीलाई पक्राउ गरी व्यावसायिक वातावरण अनुकूल बनाउन सरकारसँग माग गरेका छन् ।

सबैभन्दा असुरक्षित व्यवसायी स् महासंघ

शेरचन हत्याले मुलुकमा सबैभन्दा बढी कर तिर्ने व्यावसायिक जगत् नै असुरक्षित रहेको देखाएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । ‘शान्तिको सास फेर्न पाइन्छ कि भन्ने आसमा रहेका आमनेपाली जनतालाई यस बर्बर घटनाले पुनः एकपटक झस्काइदिएको छ, उद्यमी–व्यवसायी त्रसित हुन पुगेका छन्,’ महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘जनताको सुरक्षा चासोमा सरकार गम्भीर नहुँदाको परिणाम नै यो घटना भएको हाम्रो विश्लेषण छ ।’ महासंघले घटनाप्रति घोर निन्दा एवं भत्र्सना गर्दै संलग्न अपराधीलाई तत्काल कानुनको कठघरामा ल्याई जनताले देख्ने गरी कारबाही गर्न सरकारसँग गम्भीर आग्रह गरेको छ ।

सुरक्षाको प्रत्याभूति देऊ स् परिसंघ

निर्माण व्यवसायी शेरचनको हत्याले मुलुकमा लगानीको वातावरणलाई खलबल्याएको नेपाल उद्योग परिसंघले ठहर गरेको छ । हत्यालाई अमानवीय र कायरतापूर्ण कार्य भन्दै परिसंघले घोर भत्र्सना तथा आपत्ति प्रकट गरेको छ । ‘देश क्रमशः राजनीतिक स्थायित्वतर्फ गइरहेको र व्यवसायले प्राथमिकता पाउँदै गरेको अवस्थामा राजधानीको व्यस्त स्थानमा व्यवसायीको हत्या हुँदा सम्पूर्ण व्यावसायिक क्षेत्रमा पुनः त्रास र संशयको अवस्था सिर्जना भएको छ,’ परिसंघले भनेको छ, ‘यस प्रकारको अमानवीय कार्यले मुलुकमा बिस्तारै बन्दै गरेको लगानीको वातावरणमा समेत नकारात्मक असर पु¥याउनेछ ।’ परिसंघले देशको अर्थतन्त्रलाई टेवा पु¥याउने उद्योगी तथा व्यवसायीको पूर्ण सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग जोडदार माग समेत गरेको छ ।

लगानीको वातावरण बिग्रियो स् चेम्बर

निर्माण व्यवसायी गौचनको हत्याले मुलुकमा व्यवसायीको सुरक्षा कमजोर रहेको पुष्टि भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । चेम्बरले विज्ञप्ति जारी गर्दै देशभित्र उद्योगी–व्यवसायीको सुरक्षा नहुँदा वैदेशिक लगानीसमेत प्रभावित हुने र देशको आर्थिक समृद्धिको कल्पनासमेत गर्न नसकिने ठहर गरेको छ । ‘आफ्नै गाडीमा हिँडिरहेका व्यवसायीको हत्या हुनुले निर्माण व्यवयासी मात्रै होइन, नेपालका सम्पूर्ण उद्योगी व्यवसायीलाई नै मर्माहत तुल्याएको छ,’ चेम्बरले भनेको छ, ‘नेपाल सरकारले सुरक्षा व्यवस्थाप्रति गम्भीरता देखाउन आवश्यक छ ।’

महासंघले देशैभरको निर्माण कार्य रोक्ने

नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शेरचनको हत्याको विरोधमा देशैभरको निर्माण कार्य ठप्प पार्ने भएको छ । अध्यक्ष शेरचनको हत्यारा पक्राउ नपरेसम्म निर्माणका काम ठप्प पार्ने महासंघका महासचिव रामशरण देउजाले बताए । ‘पहिलो दिन सोकमा र दोस्रो तथा तेस्रो दिन हत्याको विरोधमा देशै भरीको निर्माण कार्य ठप्पा पार्ने छौं’ उनले भने, ‘अपराधी पक्राउ नपरेसम्म निर्माणका टेण्डर ननिकाल्न सरकारसँग आग्रह गर्ने छौं र यदिन टेण्डर आए त्यसमा सहभागी नहुन सवै व्यवसायीलाई निर्देशन दिने छौं ।’ देशभरका निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन पनि महासंघले अपिल गरेको छ । ‘एक स्थापित निर्माण व्यवसायी तथा अध्यक्षको गोली हानी हत्या भएको घटनाको कडा शब्दमा भत्र्सना गर्दछ,’ महासंघले भनेको छ, ‘यस घटनाले राजधानीको सुरक्षा व्यवस्था कति फितलो छ भन्ने प्रमाणित गरेको महासंघको ठहर छ ।’ सरकारसमक्ष तत्काल दोषी पत्ता लगाई कडाभन्दा कडा कारबाही गर्न महासंघले जोडदार माग गरेको छ ।

– सबैभन्दा असुरक्षित व्यवसायी स् महासंघ
– सुरक्षाको प्रत्याभूति देऊ स् परिसंघ
– लगानीको वातावरण बिग्रियो स् चेम्बर
– महासंघले देशैभरको निर्माण कार्य रोक्ने

नयाँ पत्रिका





error: Content is protected !!