नवराज सिलवालको राजीनामा फाइल गृहसचिवको घर्रामा, गृहमन्त्रीले स्वीकृतिका लागि माग्दा पनि आलटाल गर्नुको यस्तो रहस्य

काठमाडौं–तत्कालीन डीआईजी नवराज सिलवालले प्रहरी संगठनबाट राजीनामा दिएको पत्रसहितको फाइल प्रहरी प्रधान कार्यालयमार्फत् गृहसचिव लोकदर्शन रेग्मी समक्ष पुगेको खुलेको छ।
सिलवाल शुक्रबार एमालेमा प्रवेश गर्ने सूचना पाएपछि गृहमन्त्री जनार्दन शर्मासँग सिलवालको राजीनमा फाइल मागेका थिए। उनको राजीनामा स्वीकृतका लागि गृहमन्त्री शर्माले फाइल मागेपनि गृहसचिव रेग्मीले भने आलटाल गरेको गृहमन्त्रालय स्रोतले जनाएको छ।
गत भदौ २७ गते एआईजी मुद्दामा पराजित भएपछि सिलवालले त्यसको भोलिपल्ट नै प्रहरी प्रधान कार्यालयमा राजीनामा पत्र बुझाएका थिए। तर, राजीनामा पत्र बुझाएको करिव तीन साता वित्दा समेत स्वीकृत नभएपछि उनी शुक्रबार एमालेमा प्रवेश गरेका हुन्।
समाचार स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले समेत सिलवालको राजीनामा फाइल अगाडि नबढाउन गृहसचिवलाई अप्रत्यक्ष रुपमै बताउदै आएका छन्। सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन्। उक्त क्षेत्र कांग्रेस नेता एवं अर्थराज्यमन्त्री उदयशमशेर राणाको हो।
आसन्न निर्वाचनमामा सिलवाल नलडुन भन्ने उद्देश्यले नै आरजुसहितका नेता फाइल स्वीकृतमा ढिलाइ गर्न दबाब दिइरहेका छन्। ‘राजीनामा स्वीकृत नहुँदै चुनाव लडन नसकुन भनेर सिलवाललाई दुःख दिने उद्देश्यले नै राजीनामा फाइल अडकाइएको छ,’ गृहमन्त्रालय स्रोतले भन्यो।







