बाम एकताको असर भारतीय प्रधानमन्त्री मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपालाको नेपाल भ्रमण स्थगित

    काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनाको नेपाल भ्रमण स्थगित भएको छ । दुवै नेताको नेपाल भ्रमण यही महिनाको अन्तिमतिर प्रस्ताव गरिएको थियो । गत साता एमाले,माओवादी केन्द्र र नयां शक्तिबीच कम्युनिष्ट एकता र कांग्रेसहितका अन्य दलहरुबीच प्रजातान्त्रिक एकता भएपछि तत्काललाई भ्रमण स्थगित भएको हो ।
सत्तारुढ दल माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल एमालेसंग चुनावी तालमेल र पार्टी एकता गर्ने निर्णय गरेसंगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य संकटमा पर्न सक्ने भन्दै दुवै नेताको भ्रमण स्थगित भएको हो ।

भारतिय विदेशमन्त्री सुष्मा स्वराजले दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायलाई भेटी मोदीको भ्रमण हाललाई स्थगित भएको जानकारी दिएकी थिईन । उनले पछिल्लो राजनीतिक घटनाक्रम त्यसको मुख्य कारण भएको समेत बताएकी थिईन ।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी अरुण तेस्रो जलविद्युत् परियोजनाको शिलान्यासका लागि यही असोज २८ गतेदेखि दुई दिन नेपाल भ्रमणमा आउने तय भएको काडमाडौंपाटीले नै समाचार सार्वजनिक गरेको थियो । त्यसैगरी श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनालेको नेपाल भ्रमण पनि स्थगित भएको छ ।
 

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा असोज ३० मा ३ दिने नेपाल भ्रमणमा आउन लागेका सिरिसेनाको भ्रमण पनि टरेको परराष्ट्रका एक उच्च अधिकारीले जानकारी दिए । सरकारले दुवै नेताको भ्रमणको तयारी गरेपनि राजनीतिक कारणले दुवै नेताको भ्रमण स्थगित भएको हो ।

श्रीलंकाली राष्ट्रपति सिरिसेना नेपाल र श्रीलंकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वर्षगांठको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन नेपाल भ्रमणमा आउने तयारीमा थिए ।





error: Content is protected !!