प्रधानमन्त्री निवासमा अर्काे बैठक

काठमाडौं । आगामी चुनावमा बाम गठबन्धन तय भएपछि नेपाली कांग्रेसभित्र हलचल सुरु भएको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले मंगलबार दिउसो पदाधिकारी तथा शीर्ष नेताहरुलाई बैठकमा बोलाएका छन् ।
मंगलबार बिहान देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटी यही गठबन्धनलाई निरन्तरता दिन आग्रह गरेका थिए । कांग्रेसका दुवै नेताले एमालेले जस्तै चुनावी तालमेलको प्रस्ताव माओवादी केन्द्रलाई राखेका थिए । तर प्रचण्डले अब आफु ब्याक हुन नसक्ने बताएका थिए । त्यसपछि थप रणनीति बनाउन देउवाले पार्टीका शीर्ष नेताहरुलाई बोलाएका हुन् ।
कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय तहमा तालमेल भएको थियो। प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वर्तमान गठबन्धन कायम राख्दै तालमेल गर्ने कुरामा सहमति नजुटेपछि शीर्ष नेताबीच अपरान्ह तीन बजे छलफल हुने भएको छ।
निर्वाचनमा कांग्रेस र माओवादीको पोजिसन क्लियर गर्ने किसिमले तीन बजेको बैठकमा छलफल हुने नेता रामचन्द्र पौडेलले बताए। ‘माओवादी केन्द्रले निर्वाचनमा तालमेलका पोजिसन क्लियर हुनुपर्ने प्रस्ताव राखेको छ, पौडेलले भने, ‘हामी पोजिसनका विषयमा छलफल गर्छौ।’
कांग्रेस र माओवादी केन्द्रबीच दीर्घकालीन सहकार्य कायम राख्न वार्ता टोली समेत बनाएर छलफल थाल्ने तयारी भएको नेता विमलेन्द्र निधिले जानकारी दिए। ‘काँग्रेस र माओवादी केन्द्रबीच दीर्घकालीन सहकार्यका लागि हामी प्रतिबद्ध छौँ , निधिले भने, ‘माओवादीसँग वार्ताका लागि समिति बनाउने तयारी भइरहेको छ।’



