समानुपातिक तर्फको मतपत्र छपाई सुरु

Image result for निर्वाचन आयोग  काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र छपाईको काम सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मंगलबारबाट मतपत्र छपाई सुरु भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार करिब १ करोड ८० थान मतपत्र छापिने छ । कात्तिक पाँच गतेभित्र सबै मतपत्र छाप्ने लक्ष्य राखिएको ढकालले बताए ।

सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा गर्ने निर्णय गरिसकेको छ ।

यसैबीच निर्वाचन आयोगलेे प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि खटिने जनशक्तिका लागि अभिमुखीकरण कार्यक्रम आजबाट सुरु गरेको छ । निर्वाचनमा प्रयोग हुने मतपत्रको छपाइ कार्यको अनुगमन गर्न खटिने अनुगमनकर्ताका लागि अभिमुखीकरण कार्यक्रम गरेको हो ।

अभिमुखीकरण कार्यक्रममा जनक शिक्षा सामग्री केन्द्र, मुद्रण विभाग, निर्वाचन आयोग तथा अन्य सरकारी कार्यालयका कर्मचारी गरी २८ जना सहभागी छन् ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले मतपत्रको छपाइ अति नै संवेदनशील हुने भएकाले मतपत्र छपाइ र व्यवस्थापन कार्यमा हुने सानो त्रुटिले ठूलो समस्या ल्याउन सक्ने हुँदा त्रुटिरहित तरिकाबाट आ-आफ्नो जिम्मेवारी पूरा गर्न सहभागीहरूलाई निर्देशन दिएका छन् ।
प्रमुख आयुक्त यादवले भने, ‘निर्वाचन व्यवस्थापनका लागि समयको चापलाई हेक्का गरेर आगामी निर्वाचनलाई उत्कृष्ट तरिकाले सम्पन्न गर्ने गरी तोकिएको जिम्मेेवारी बहन गर्नुहोस् ।’-अनलाइन खबर





error: Content is protected !!