एमालेसँग गठबन्धन नगरे माओवादी पार्टी फुटाउने तयारी, को हुन कमाण्डर ?

काठमाडौं । पछिल्लो समय दुई वामपन्थी शक्ति सत्तारुढ नेकपा माओवादी केन्द्र र प्रतिपक्षी नेकपा एमालेबीच चुनावी तालमेल (गठबन्धन) वा पार्टी एकता गर्ने भन्ने बहस चलिरहेको छ ।
एमालेबाट माधव नेपाल समूहदेखि योगेश भट्टराईसम्म र माओवादी केन्द्रमा नारायणकाजी श्रेष्ठ समूहदेखि टोपबहादुर रायमाझीसम्म पार्टी एकताको पक्षमा छन् । तर, नेतृत्व भने अहिले नै पार्टी एकता गर्नेभन्दा पनि चुनावी तालमेल गर्नसकिने पक्षमा देखिन्छ । खासगरी एमाले नेतृत्व चुनावी तालमेलको पक्षमा छ ।
यही बेला नेकपा माओवादी केन्द्रमा भने एमालेसँग गठबन्धन वा पार्टी एकतामध्ये कुनै एक गर्नैपर्ने भन्दै विद्रोहको अवस्था सिर्जना भएको छ । खासगरी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ समूह जसरी पनि एमालेसँग गठबन्धन हुनुपर्ने भन्दै वामपन्थी एकतामा जोड दिइरहेको छ । यो समूहले एमालेसँग गठबन्धन नगरे पार्टी नै फुटाउने तयारी समेत गरिरहेको स्रोतबाट खुलासा भएको छ ।
नारायणकाजी समूहका देवेन्द्र पौडेल, रेखा शर्मा, टोपबहादुर रायमाझी, शक्ति बस्नेत, कृष्ण महरा लगायतले नारायणकाजी श्रेष्ठसँग मिलेर पार्टीको गठबन्धन भए एमालेसँग हुनुपर्ने नभए पार्टी फुटाउने रणनीतिका साथ अघि बढिरहेका छन् ।
स्रोतका अनुसार माओवादी जनजातिहरुको पार्टी भएको र जनजातिहरुको लागि आवाज उठाउने भएकाले भित्रैबाटै त्यसलाई रोक्न नारायणकाजी समूह लागिपरेको छ । जनजातिहरु हाबी हुँदा नारायणकाजी समूहमा रहेका बाहुनवादी र क्षेत्रीवादी सोच भएका यी नेताहरुलाई पार्टीमा सहज भइरहेको छैन् । त्यसैकारण एमालेसँग मिल्न पार्टी नेतृत्वलाई दबाब दिइरहेका छन् ।
एमालेसँग गठबन्धन वा एकता भए राम्रै हुने र यसमा सफल नभए पार्टी फोड्ने रणनीति यो समूहले बनाएको स्रोतको दाबी छ ।



