सार्वजनिक सवारीसाधन नचल्दा सर्वसाधारण सास्तीमा

काठमाडौं । काठमाडौं उपत्यका अहिले सुनसान झैं बनेको छ । सार्वजनिक यातायात उल्लेख्य मात्रामा नचल्दा झन् काठमाडौंबासी दशैंको टीकाका लागि आवतजावतको समस्यामा परेका छन् । नेपाली सेनाले निशुल्क यातायात सञ्चालन एक दिन मात्र ग¥यो । सोमबार पनि टीका र आशीर्वाद ग्रहण गर्नका लागि हिड्नेहरुलाई पर्याप्त सवारीसाधन नचल्दा उपत्यकामा यात्रुहरुले सास्ती भोग्नु प¥यो ।

सधै जसो व्यस्त रहने उपत्यकाका सडकमा न्युन संख्यामा सार्वजनिक सवारी साधन संचालनमा हुदाँ दशैंको टीका र आशिर्वाद गर्न निस्कीएका यात्रु भने समस्यामा परेका छन् । दशंैको टीकाको दिन नेपाली सेनाले आठ वटा रुटमा सेनाकै सवारीसाधन संचालन गरेर सर्वसाधारणलाई सुविधा दिएको कारण सर्वसाधारणले केही राहत महसुस गरेका थिए । तर टीकाको दोस्रो दिन आफन्तजनहरुसँग टीका थाप्न जाने तथा अन्य कारणले काममा निस्किएकाहरु सार्वजनिक सवारीसाधन कम संख्यामा संचालनमा आएका कारण लामो समयसम्म बस कुर्न वाध्य हुनु परेको उनीहरुको गुनासो छ ।

चक्रपथ परिक्रमा गर्ने सार्वजनिक सवारीसाधन धेरै चलेको भएपनि भित्रि रुटहरुमा चल्ने सवारीसाधन कम भएको कारण यात्रुहरुले समस्या भोगेका थिए । भित्रि रुटमा यात्रा गर्ने यात्रुहरुले समस्या भोग्न परेको उनीहरु आफै बताउछन् । सार्वजनिक सवारीसाधन कम संख्यामा चलेको बेला ट्याक्सी चालकहरुले पनि यात्रुको बाध्यतामा नाफा लिनका लागि ट्याक्सीको मिटरभन्दा बढी भाडा लिने गरेको र मिटरमा जान नमान्ने गरेको गुनासो यात्रुहरुको छ ।

नेपाली सेनाले सर्वसाधारणको लागि समस्या नहोस् भन्नाका लागि दशैंको टीकाको दिन मात्र आफ्नो सवारीसाधन निःशुल्क रुपमा चलाएको थियो । उपत्यकामा पर्याप्त रुपमा सार्वजनिक सवारीसाधन नचलेको अवस्थामा यसरीले नै सेना मात्र नभई प्रहरीले पनि सर्वसाधारणहरुको गुनासो बुझेर सवारीसाधनको व्यवस्था गरे सर्वसाधारणले धेरै नै राहत पाउने आशा पनि उनीहरुले गरेका छन् ।





error: Content is protected !!