गरिब परिवारको दशैं: बाढीले खोस्यो खुशी

भन्छन्- रहर मात्र गरेर भएन, काम नगरे दुई छाक टार्नै सकिन्न
भैरहवा । हरेक वर्ष दशैं तिहार नजिकिँदै गर्दा भैरहवाका बुद्धु हरिजनको चिन्ता बढ्छ । दैनिक मजदुरी गरेर गुजारा चलाउँछन्, हरिजन दम्पत्ति ।

सम्पत्तिका नाममा एउटा माटोले बनेको झुप्रो घर मात्र थियो, उनीहरुसँग । त्यही पनि बाढीले भत्काइदिएपछि नयाँ कसरी बनाउने भन्ने चिन्ता थपिएको छ ।

चाडबाड सुरु हुनुअघिको बाढीले उनीहरुलाई उठिबास लगाएको छ ।

बुद्धुकी पत्नी उषाले पनि विगतमा चाडबाडमा पतिसँग उपहार माग्थिन्, यसपालि उपहार खरिद गर्ने कुनै उपाय बाँकी रहेन । बरु, पतिसँगै ज्याला मजदुरीमा खटिनु परेको छ, उनलाई पनि ।

छरछिमेकीले खसी, बोका काटेर चारैतर्फ मासु पकाएको वासना आइरहँदा हरिजन दम्पत्तिसामु चुपचाप बस्नुको विकल्प छैन । साँझबिहानको छाक टार्नै कठिन छ, उनीहरुलाई । ‘दशैं मनाउने रहर मात्र गरेर भएन, एक दिन काम नगरे दुई छाक टार्नै गाह्रो छ, के गरेर मनाउनु र !’ बुद्धु भन्छन् ।

निष्ठुरी प्रकृतिको कहर उनीहरुले नै खेप्नु परेको छ । पत्नीलाई दशैंमा उपहार किनिदिने उनको सपना सपनामै सीमित बन्यो । बाढीले छिनभरमै उनीहरुको सपना बिथोलिदिएन मात्र, जीवन नै कष्टकर बनाइदियो ।

आफू दुःखजिलो गरेर पनि बुद्धुले पत्नी उषालाई घरायसी काममै सीमित राखेका थिए । साँझ घर फर्किंदा पत्नीको हँसिलो मुहार देख्दा सबै दुःख, कष्ट टाढा भाग्थे । अहिले उनलाई पनि आफूसँगै जटिल काममा लगाउनु पर्दा दुःखी छन् ।

भत्किएको घर हेर्न त धेरै आए तर सहयोग गर्ने मनकारी कोही झुल्किएन ।

जिल्ला प्रशासनले एक हजार पाँच सय रुपैयाँ सहयोग दियो । तर, त्यसबाट घर बन्ने कुनै सम्भावना थिएन । त्यो पनि धेरै दौडधुपपछि मात्र उनको हात लागेको थियो । साढे चार सय त दौडधुपमै सकियो ।

उनीहरुसँग भत्किएकै घरमा त्रसित जीवन बिताउनुको विकल्प छैन । पक्की त टाढाको कुरा पहिलेझैं माटोकै घर भए पनि बनाउन पाए हुन्थ्यो भन्ने लाग्छ, बुद्धलाई । तर कसरी बनाउने ? उनीसँग कुनै जवाफ छैन ।

 

 





error: Content is protected !!