व्यापार गर्न सबै भारत तिर ,नेपाली बजार सुनसान।

उपभोक्ता भन्छन्- स्वदेशमा व्यापारीले ठगी गर्छन। झापा । गाउँ, शहर सबैतिर दशैंको रौनक छ । किनमेलमा निस्किने सर्वसाधारण भने नेपाली बजार नभई सीमावर्ती भारतीय पसलहरुतिर सोझिएका छन् । झापाबाट नजिकमा पर्छन्, भारतीय बजारहरु पानीट्यांकी, बागडोगरा र सिलिगुडी ।
उपभोक्ताको भीड पनि उतै जम्मा भएको छ । ‘नेपालमा भन्दा यहाँ सामान सस्तो पाइन्छ,’ पानीट्यांकीमा भेटिएका विक्रम तिम्सिना भन्छन्, ‘त्यसैले यता आएका हौं ।’ झापा, इलाम र मोरङका बासिन्दाले किनमेलका लागि भारतीय बजार नै रोज्ने गरेका छन् । यस समयमा भारतमा उत्पादित खाद्यान्न, लत्ताकपडासहित दैनिक उपभोग्य सामग्री अत्यधिक भित्रिन्छन्, नेपालतिर । ढुवानीलगायत खर्चका कारण नेपालतर्फ ती सामान पारिपट्टभिन्दा महँगो पर्छन् ।
झापाका मुख्य बजारहरु हुन्, बिर्तामोड, धुलाबारी, दमक, सुरुंगा, शिवसताक्षी, भद्रपुर र काँकडभिट्टा । तर, तीभन्दा पारिपट्टकिा बजार नै गुल्जार देखिन्छन् । नेपाली उपभोक्ताको भीड बढ्दै गर्दा भारतीय बजारमा पाइला राख्ने ठाउँ पाउन पनि मुस्किल छ । पानीट्यांकीका व्यवसायी शिवराम साह भन्छन्, ‘एक किसिमले नेपाली उपभोक्ताले नै यो बजार धानेका छन् ।’ उनका ग्राहक अधिकांश नेपाली नै हुन्छन् । उपभोक्ताको गुनासो छ, ‘दशैंको मौका छोपी नेपाली बजारमा दैनिक उपभोग्य सामग्रीको भाउ बढाइन्छ ।
हामीलाई ठग्ने प्रयास गरिन्छ ।’ त्यही ठगीबाट बच्न उनीहरुले भारतीय गन्तव्य पहिल्याउँदै आएका छन् । यो परम्परागत ‘ट्रेन्ड’ नै हो ।



