उपेन्द्र यादवको विश्लेषण: मधेसमा एमालेले ‘मिस’ गर्यो, कांग्रेसका दिन सकिए

काठमाडौं । मधेसमा आफ्नो पार्टीलाई आश्चर्यजनक जित दिलाएर फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव काठमाडौं आइपुगेका छन् । सोमबार बिहान अनलाइनखबरसँग कुराकानी गर्ने क्रममा यादव मधेसको चुनावी परिणामबाट निकै उत्साहित देखिए ।
नेपाली राजनीतिमा कुशल खेलाडीको पहिचान बनाएका यादवले धेरै मानिसलाई आश्चर्यमा पार्ने गरी मधेसमा आफ्नो उपस्थिति देखाएका छन् । हामीले सोध्यौं- तपाईले त जादु नै गर्नुभयो नि ! यसको रहस्य के थियो ?जवाफमा उनले भने – ‘मेहनतचाहिँ गरेको हो । अरु के गर्नुहुन्छ ? मसँग न साधन स्रोत थियो, न सत्ता, न शक्ति । सबै मेरा विरुद्धमा थिए । अरुतिर त आकाशबाट पनि पैसा बर्सिन्थ्यो । शासन-प्रशासन पनि भएको, साधन स्रोतको कमी नभएको । यो अवस्थामा हामीसँग मेहनत नगरिकन त अरु उपाय थिएन । त्यसैले हामीले मेहनतचाहिँ गरेको हो ।’
प्रदेश २ को समग्र चुनावी परिणामलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
जनताले दिएको म्यान्डेटलाई हामी स्वीकार्छौं । धेरै ठाउँमा हामी छ भोट, ८ भोट, १० भोटले हारेका छौं । यसले के देखाउँछ भने तराईका जनता अहिले पनि फोरम नेपालको पक्षमा छन्, फोरम नेपालले नै तराईको विकास र जनताको अधिकारलाई सुनिश्चित गर्छ भनेर जनताले हामीलाई विश्वास गरेको अर्थमा हामीले यसलाई लिएका छौं ।
मधेसमा कांग्रेसको नतिजालाई के भन्नुहुन्छ ?
एमालेले संविधान संशोधनमा सघाएको भए वा मधेसको मुद्दाको पक्षमा उभिएको भए कांग्रेस भन्दा अगाडि बढ्न सक्ने सम्भावना चाहिँ थियो
नेपाली कांग्रेस अब तराई मधेसबाट धरासायी हुँदै गएको छ । आखिर तराई आधारित पार्टी त कांग्रेस पनि त हो नि । गाउँ नगरमा उसको दुई तिहाई समर्थन थियो । तर, अब कांग्रेसको गलत रबैयाका कारणले गर्दा ती दिनहरु गएजस्तो देखिएको छ ।
एमालेले ल्याएको नतिजालाई नि ?
एमालेको जस्तो थियो, त्यस्तै छ । अलिकति चाहीँ के छ भन्दाखेरि एमालेले संविधान संशोधनमा सघाएको भए एमालेको स्थिति कांग्रेसको भन्दा राम्रो हुने थियो । तर, त्यसलाई नसघाएका कारण तराईका जनताले एमालेलाई रुचाएनन् ।
तर, सीट संख्यामा एमाले पाँचौं स्थानमा खुम्चिए पनि ८ वटै जिल्लामा पाएको मतका आधारमा कांग्रेसकै हाराहारीमा छौं भन्ने केपी ओलीको दाबी छ नि ?
हाइ वे रेञ्जमा त एमालेको संगठन पनि त छ नि । अर्को के छ भने तराईमा मधेसी समुदायका साथसाथ गैरमधेसी समुदायको पनि बाहुल्य छ नि । सम्पूर्ण तराईमा शतप्रतिशत मधेसी मात्रै त छैनन् । र, शत प्रतिशत मधेसका पार्टी मात्रै छैनन् नि । तराईमा सबै पार्टीहरु छन्, त्यसैले सबैले केही न केही ठाउँ पाउँछन् ।
तर, फेरि पनि के हो भने एमालेले संविधान संशोधनमा सघाएको भए वा मधेसको मुद्दाको पक्षमा उभिएको भए कांग्रेस भन्दा अगाडि बढ्न सक्ने सम्भावना चाहिँ थियो ।
फोरमले भन्दा एमालेले बढी प्रतिशत मत पाउनुका पछाडि पुरानो र नयाँ पार्टी हुनुको कारणले कत्तिको प्रभाव पार्यो जस्तो लाग्छ ?
७० वर्ष पुरानो कम्युनिष्ट आन्दोलनको इतिहास छ । विगतमा तराई नै कम्युनिष्ट आन्दोलनको इतिहासको गढ हो । नेपालमा कम्युनिष्ट आन्दोलनको ओरिजिन भनेको बारा, रौतहट, सप्तरी, सिराहा जिल्ला हुन् । यी जिल्लाहरु कम्युनिष्ट आन्दोलनको उर्ब भूमि पनि हो । तराईबाटै कम्युनिष्ट पार्टीहरु पहाडतिर गएका हुन् । कम्युनिष्ट त तराईबाटै सुरु भएको हो नि ।
कम्युनिष्टले ०१५ सालमा ४ सीट जिल्लाखेरि दुई सीट त रौतहटबाट जितेको हो नि । किसान आन्दोलन, कम्युनिष्ट आन्दोलन रौतहटमा भएको थियो । त्यो रियल कम्युनिष्ट आन्दोलन थियो । सामन्तहरुको विरुद्धमा, जमिन्दारहरुको विरुद्धमा कम्युनिष्ट आन्दोलन उठेको ठाउँ त तराई नै हो नि ।
त्यसैले यी सबै ऐतिहासिक पृष्ठभूमिलाई हेर्दाखेरि एमालेले तराईप्रति हेर्ने दृष्टिकोणमा जुन नकारात्मक सोचको विकास भयो र त्यसखालका जुन अभिव्यक्तिहरु आए, त्यसले एमालेलाई ठूलो असर गरेको हो । नत्र भने ऊ कांग्रेसभन्दा अगाडि हुन्थ्यो होला ।
राजपाको स्थिति फोरमको भन्दा पछाडि पर्नेजस्तो देखिएको छ, राजपाले मधेसमा ल्याएको नतिजालाई तपाई कसरी विश्लेषण गर्नुहुन्छ ?
राजपाको स्थिति त अब के भन्ने ? कसैले आएर राजपामा ६ वटालाई एक ठाउँमा पारिदिए । ६ तिर टाउको फर्किएको छ । विचार सिद्धान्त केही पनि छैन । विचार र सिद्धान्तविहीन गठजोड हो । तिनका आपसी तालमेल सम्भवै छैन । उनीहरुको कुनै गन्तव्य नै छैन । खाली मधेसी र पहाडी गाली गरेर त हुँदैन राजनीतिमा । त्यसले त एउटा सेन्टिमेन्ट ल्याउनेमात्रै हो ।
त्यसैले राजपामा त्यत्रो आशिर्वाद हुँदाहुँदै पनि, त्यत्रो साधन स्रोत विशाल संख्यामा परिचालन हुँदाहुँदै पनि त्यस अनुसारको उहाँहरुले परिणाम ल्याउन सक्नुभएन ।
हाम्रो कुरा गर्नुहुन्छ भने हामीलाई अभिमन्यु चक्रव्युहमा फसेको जस्तै हामीलाई फसाइएको थियो । चारैतिरबाट आक्रमण, गालीगलौच यो सबै व्यहोरेर हामी चुनावमा गयौं । फेरि हामी निहत्था थियौं लडाइँमा । हामीसँग साधन स्रोत केही थिएन । यो अवस्थामा हामीले जनताको भरमा र विश्वासमा लड्यौं । हामीलाई जनताले साथ दिए । यो परिस्थितिमा हामीलाई जनताले विश्वास गरेको ठान्छु । र, हामीले उठाएका मुद्दा र हाम्रो नीतिप्रतिको जनताको समर्थनका रुपमा मैले यसलाई लिएको छु ।
मधेसमा राजपाको एजेण्डा खारेज भयो र फोरमको लाइन अनुमोदित भयो भन्न खोज्नुभएको हो ? सुरुमा तपाईलाई राजपाका केही नेताले के भन्दै थिए भने चुनावमा जाने उपेन्द्र यादव गद्दार हुन्, मधेस विरोधी हुन्…
हिजो त्यत्रो गाली गर्ने र निकृष्ट रुपमा हामीलाई गाली गर्ने राजपाका नेताहरु आखिर पछिपछि साइकल चढेर किन आए त ? हाम्रो पछिपछि त उनीहरु साइकल चढेरै आए ।
यसको अर्थ के हो भने फोरम नेपालले लिएको लाइन देशको हितमा थियो । जनताको हितमा थियो । राष्ट्रिय एकताको पक्षमा थियो । यसले राष्ट्रियलाई बलियो बनाएको छ । राष्ट्रिय एकतालाई जोगाएको छ । र, मुलुकलाई निकास दिएको छ ।
हामीविरुद्ध त्यस्तो अभिव्यक्ति दिनेहरु पनि अन्ततः हाम्रै लाइनमा आए । यसलाई हामीले कसरी हेरेका छौं भने यो हाम्रो जित हो । यो हाम्रो एजेण्डाको जित पनि हो र हाम्रो पार्टीले लिएको नीतिको पनि जित हो ।
माओवादी केन्द्रका नेताहरु मधेसमा आएको परिणामबाट निकै खुशी देखिएका छन् । प्रदेश २ को नतिजाबाट माओवादीले रमाउनुपर्ने स्थिति हो कि हैन ?
माओवादीले दुई नम्बर प्रदेशमा आफ्नो उपस्थिति त देखायो, तर प्रभाव देखाउन सकेन ।
तर, उसले २१ सीट जितेको छ, एमालेको भन्दा बढी जितियो भनेर माओवादी नेताहरुले यसलाई ठूलो उपलब्धि भनिरहेका छन् नि ?
माओवादीसँग ‘धनबहादुर’ पनि त छ नि । उससँग सत्ता र पैसा दुबै छ । सत्ता र पैसाको बलमा आएको परिणाम हो ।
डा. बाबुराम भट्टराईको नयाँ शक्तिले पनि एकसीट जित्यो, यो दललाई चाहिँ के भन्नुहुन्छ ?
सूर्यनारायण मण्डलको व्यक्तिगत प्रभावले एक स्थान जितेको हो, नयाँ शक्ति पार्टीको प्रभावले होइन ।
तर, बाबुरामजीको पार्टी भर्खरै बन्दै गरेको भएकाले यसबारे बढी कमेन्ट नगरौं ।
मधेसमा अब विजय गच्छदारका दुःखका दिन सुरु भएका हुन् ?
विजय गच्छदारलाई के भयो र एउटा सीट जिते पनि उहाँ सरकारमा गइहाल्नुहुन्छ । उहाँ त लोकसेवा पास गरेको मन्त्री न हो । उहाँ मन्त्री भैहाल्नुहुन्छ । उहाँको कुनै समस्या छैन । उहाँको लक्ष पूरा भइराखेकै छ ।
अब प्रदेशसभा र केन्द्रको चुनाव आउन लागेको छ । अब जिल्ला समन्वय समिति गठन, प्रदेश सरकार गठन आदि कामहरु अबको केही महिनामा हुनेछन् । त्यस्तो बेलामा दुई नम्बर प्रदेशमा तपाईहरु कोसँग सहकार्य र तालमेल गरेर अघि बढ्नुहुन्छ ? यसमा तपाईको पार्टीले कोसँग मिल्ने कार्यनीति अपनाउँछ ?
हामीलाई गाली गर्ने राजपाका नेताहरु आखिर पछिपछि साइकल चढेर किन आए त ! यसको अर्थ के हो भने फोरम नेपालले लिएको लाइन देशको हितमा थियो
पहिलो कुरा त के हो भने हामी कोसँग मिल्ने भन्दा पनि हामीसँग को मिल्न सक्छ ? किनभने एकै हातले त ताली बज्दैन । ताली त दुबै हातले बज्ने हो । यसले गर्दाखेरि हामीसँग को मिल्न सक्छ, उसैसँग हामी मिलेर जान्छौं । हामी यसमा ‘ओपन’ छौं ।
तपाईहरु राजपासँग पनि सहकार्य र तालमेलका लागि तयार हुनुहुन्छ ?
हामी ‘ओपन’ छौं । राजपाले हिजो गल्ती गर्यो । मोर्चालाई ध्वस्त पार्यो । गठबन्धनलाई ध्वस्त पारेर एक्लै यो पृथ्वी जित्छु भन्ने उसले जुन अहंकार र संकीर्णता पालेको थियो । त्यो सँगसँगै जातीय विद्वेष तराईमा फैलाइयो । तराईमा मधेसी र पहाडीको विद्धेष हैन कि जातीय विद्वेषसमेत फैलाइयो । राजपा त्यो गल्तीलाई महसुस गर्दै अगाडि आओस्, मिलेर जाऔं भनेर त म अझै पनि ‘ओपन’ छु ।
उपेन्द्र यादवलाई पूर्व कम्युनिष्ट एवं समाजवादी धारको नेताका रुपमा हेर्ने गरिन्छ । यसरी हेर्दा आगामी दिनमा तपाईको पार्टीले गर्ने मोर्चाबन्दीको प्राथमिकतामा एमाले र माओवादी पर्छन् कि कांग्रेस र राजपा ?
पहिलो कुरा त ईस्युलाई हेर्नुपर्छ । हाम्रो पार्टी भनेको मुद्दालाई बोकेको पार्टी हो । हामीले गर्दा गणतन्त्र नेपाल बन्यो । संघीय गणतन्त्र नेपाल बनाउनलाई फोरम नेपालको ठूलो भूमिका छ । अब नेपालमा जातीय क्षेत्रीय विभेद र असमानताहरुलाई अन्त्य गर्दै मुलुकलाई आर्थिक समृद्धितिर लैजानुपर्छ । मुलुकलाई सम्पन्नतातर्फ लैजानुपर्छ । मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ । नेपालीहरु स्वाभिमानी हुन्, कसैको हप्काइ-दप्काइ र दया-मायामा बाँच्नु नपरोस् । मुलुकलाई यो बाटोमा लानुपर्छ भन्ने हाम्रो अबको मुद्दा हो ।
हामी हिमाल, पहाड मधेस सबैलाई जोडेर लान चाहन्छौं । हामी कुनै साम्प्रदायिक र क्षेत्रीयतावादी वा जातिवादी सोच राख्दैनौं । हाम्रो चिन्तन नै यहाँले भन्नुभएको जस्तो समाजवादी हो ।
आसन्न प्रदेश र केन्द्रको चुनावमा फोरम नेपाललाई कतियौं पार्टी बनाउने लक्ष छ ? पहिलो, दोस्रो, तेस्रो, चौथो…..?
हामी जुन पोजिसनमा रहे पनि हामी मुलुक र जनताको पक्षमा हामी निरन्तर कार्य गरिरहन्छौं । हामीमा त्यति अहंकार छैन, हामी पहिलो हौं, दोस्रो हौं भन्ने । हामीले काम गर्दै जाने हो, जनताले जहाँ राख्छन्, बस्ने हो ।
अरु पार्टीले त भावी प्रधानमन्त्री, भावी मुख्यमन्त्री भन्दै नेतृत्वलाई अघि सारेर चुनाव लड्ने तयारी गर्दैछन् भन्ने सुनिन्छ, फोरम नेपालका भावी प्रधानमन्त्री घोषणा नगर्ने ?
हामी त्यसो गर्दैनौं । हामी जनतामाथि नेता लाद्ने होइन, जनताबाटै नेता बनाउने काम गर्छौं ।



