विवादास्पद कम्पनीको निम्तामा चीन उडे ऊर्जा मन्त्री शाही

 विवादास्पद कम्पनीको निम्तामा चीन उडे ऊर्जा मन्त्री शाही  काठमाडौं– काम कुरो एकातिर कुम्लो बोकी ठिमीतर भन्ने नेपाली उखान त्यसै चलचल्तीमा आएको होइन रहेछ । हिउँद लाग्न थालेको छ, लोडसेडिङ हुने आशंका कायमै छ । तर, ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीलाई भने यी कुनै पनि कुराले अर्थ राखेको छैन ।
गत भदौ २४ गतेदेखि ३१ गतेसम्म ऊर्जा मन्त्री शाही विवादास्पद अष्ट्रेलियन कम्पनी स्मेकको निम्तो मान्न अष्ट्रेलिया पुगे । उनको भ्रमणको उद्देश्य के थियो र प्रयोजन के थियो भन्ने बारेमा आम मानिसलाई त के आफनै मन्त्रालयका सचिव तथा कर्मचारीलाई समेत जानकारी दिएनन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पनि भ्रमण स्वीकृत गराएका थिएनन् उनले । आठ दिन अष्ट्रेलिया हराएर आएका मन्त्री शाही असोज १ गते मन्त्री क्वाटरमा नै बसे । २ गते मन्त्रालय आए र कर्णालीका स्थानिय बासिन्दासंग सामान्य भलाकुसारी गरे ।

भारतका लागि नेपालका राजदूत दिपकुमार उपाध्यायसँग एक घन्टा वार्ता गरे । त्यसअघि गृहमन्त्रालय पुगेर गृहमन्त्री जनार्दन शर्मासँग सम्वाद गरे । चार बजे संविधान दिवस मनाउन सभामुख ओनसरी घर्तीको आग्रहमा संसद भवन नयाँ बानेश्वर पुगे । २ गते बितीहाल्यो ।
मन्त्री शाही मंगलवार विहान एयर चाइनाको विमानबाट चीन उडेका छन् । उनको भ्रमणको प्रयोजन के हो भन्ने बारेमा उनको सचिवालय अनविज्ञता प्रकट गर्दछ । स्रोतकाअनुसार ऊर्जा मन्त्री शाही विद्युत् विकास विभागमा कार्यरत चिनियाँ कन्सल्ट्यान्टको निम्तो मान्न चीन उडेका हुन् ।

‘कति दिने भ्रमण हो र प्रयोजन के हो हामीलाई जानकारी छैन’ उनकै सचिवालयका एक अधिकारीले भने । पछिल्लो दिनमा आयोजना होल्ड गर्ने र काम नगर्ने प्रवृत्ति चिनियाँ ठेकेदारको रहेको छ ।

ढल्केबर सवस्टेशनको काम चिनियाँ ठेकेदारले गरिरहेको छैन । सो सवस्टेशन नसकिदा आगामी हिउँदमा लोडसेडिङ गर्नुपर्ने वाध्यता आउन सक्छ । मन्त्री शाहीलाई यी विषयमा कुनै मतलब नभएको जस्तो देखिन्छ ।

नेपाल विद्युत् प्राधिकरणले गर्ने नियमित काममा हस्तक्षेप गर्दै आएका मन्त्री शाही विवादास्पद परामर्शदाता र ठेकेदारलाई खुसी बनाउन चीनतर्फ लागेका हुन् । विभागका महानिर्देशक नविनराज सिंहले चाकडी बजाउँदै मन्त्री शाहीलाई चीन पठाएको बताइन्छ ।





error: Content is protected !!