सिँचाइ अभावमा धानको सट्टा मकै

रुकुम । चौरजहारी नगरपालिका १, का अध्यक्ष भद्रबहादुर विष्टको परिवारले १० वर्षअघिसम्म एक सिजनमा ४० मुरी धान भित्र्याउँथ्यो । घरमा खान पुगेर बिक्री वितरण गरेर पनि आम्दानी गथ्र्यो उनको परिवारले । तर १० वर्षयता धान उत्पादन हरेक वर्ष घट्दै गएको छ । एकरदुई मुरी घट्दै हाल उनको परिवारले एक सिजनमा मुस्किलले ७ मुरी धान भित्र्याउँछ । धान फल्ने खेतमा मकै लाउन थालेपछि धानको उत्पादन घट्दै गएको हो । चौरजहारी नगरपालिका ३, का टोपेन्द्र बुढाथोकीको परिवारले पनि ८ वर्षदेखि धानको खेती गरेका छैनन् । त्यसअघि धान उत्पादन गरेर उपभोग गरी बिक्री गर्ने बुढाथोकीको भान्सामा बजारकै चामल पाक्न थालेको छ । हिजोआज उनले खेतबाट धान होइन मकै बाली भित्र्याउँदै छन् ।

विष्ट र बुढाथोकीको परिवार मात्रै होइन चौरजहारी नगरपालिकाका ३ वडा १, २ र ३ मा पर्ने चौरजहारी उपत्यकाका खेतमा धान नरोप्ने सर्वसाधारणको संख्या ठूलो छ । सिँचाइ सुविधा अभावमा उनीहरू धान रोप्ने खेतमा मकै लाउन बाध्य छन् । वडा १ का द्वारे, सेरा र सातबारे जिउला, २ का पानीखोला, रुकुमेगाउँ, तल्लो र माथिल्लो अधेरी जिउलामा पानी सिँचाइ पुग्न सकेको छैन । यसैगरी ३ वडाको टाटागाउँ, साने, बाल्ला, हारे, बुरेली र अम्बाचौर जिउलाका लागि पानी पर्याप्त छैन । जहारी खोलाबाट आउने सिँचाइ नहर जीर्ण बन्दा यो समयमा धान झुल्ने चौरजहारीका अधिकांश फाँटमा हाल मकैको खेती रहेको छ । १० वर्षअघिसम्म चौरजहारी उपत्यकाका अधिकांश खेतमा धान बाली मात्रै देख्न पाइन्थ्यो । त्यसयता धान लाउने खेत विरलै मात्रै पाइने अवस्था आइसकेको १ वडाअध्यक्ष भद्रबहादुर विष्टले बताए । ‘पहिले–पहिले धानको बाली मात्रै देख्न पाइन्थ्यो, फाट्टफुट्ट मात्रै मकै लाइन्थ्यो,’ अध्यक्ष विष्टले भने, ‘पछिल्लो समय धानको तुलनामा मकैको मात्रै खेती भइरहेको छ ।’ सिँचाइ सुविधा अभावमा सर्वसाधारणले धान फल्ने खेतमा मकै लाउन बाध्य भएको उनको भनाइ छ । ब्याड राख्ने क्रममा पानी नहुँदा समस्या भइरहेको उनले बताए । ‘धानको ब्याड राख्ने क्रममा पानी पुग्नेहरूले धान रोपेर आफ्नै खेतको धान खान्छन्, अरूले त मकै छरेर चित्त बुझाउने मात्रै हो,’ उनले थपे ।

सिँचाइ अभावमा धान उत्पादन नभएपछि बजारको चामलको भात खानुपरिरहेको टोपेन्द्र बुढाथोकीले बताए । ‘धान उत्पादन हुने खेत प्रशस्तै छ, तर पानी नभएपछि खेत भएर मात्रै नहुने रहेछ,’ उनले गुनासो गरे । २०३४ सालमा निर्माण गरेको चौरजहारी टार सिँचाइ योजनाको नहर जीर्ण बनेपछि चौरजहारी उपत्यकामा सिँचाइका लागि पानीको अभाव सुरु भएको हो । मुहानको ट्यांकी जीर्ण, नहर जीर्ण भै पानी चुहिने भएपछि टाढाटाढासम्म पानी नपुग्दा त्यस क्षेत्रका खेत सिञ्चित हुन नपाएका हुन् । हाल उक्त नहर मर्मत गर्न थालिएको छ । नहर मर्मत गर्दा पनि पानी नपुग्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । मर्मत गरेको नहरले उपत्यकाकाको सबै ठाउँमा पानी पुग्न नसक्ने वडाअध्यक्ष विष्टले बताए ।

 

 





error: Content is protected !!