चोयाका सामग्रीको माग बढ्दो

जाजरकोट । बारेकोट गाउँपालिका पारामुलसामका गणेशबहादुर रोकाय त्रिवेणी नलगाडको लहँ पुगेका छन् । सोही स्थानका हर्कबहादुर चलाउने पनि लहँमै पुगेका छन् । रोकाय र चलाउने चोयो उद्योगबाट उत्पादित सामग्री बेच्न त्यहाँ गएका हुन् । उनीहरू आफैंले बनाएका मान्द्रा, सुपो नाङ्लो, डालो, डोकोलगायत चोयाका सामग्री बेच्न गाउँबस्तीमा पुग्ने नियमित काम नै भएको छ ।

रोकाय र चलाउने मात्र हैन, मुलसाम गाउँका दर्जनौं स्थानीयले मान्द्रा, सुपो, डालालगात चोयाका सामग्री बनाएर बिक्री गर्दै आएका छन् । मान्द्रोलाई १ हजारदेखि ५ हजार रुपैयाँ, डालोलाई ५ सयदेखि
२ हजार ५ सय, सुपो ३ सयदेखि ५ सय र डोकोलाई ३ सयदेखि ५ सयमा बिक्री गर्ने गरेको रोकायले बताए । एउटा मान्द्रो तयार गर्न २र३ दिन लाग्छ । चोयाका सामग्री बनाउने व्यवसाय परम्परागत भएको उनले सुनाए । ‘चोयाका विभिन्न सामग्रीको गाउँ बस्तीमा माग बढ्दो छ,’ उनले भने, ‘मागअनुसारको उत्पादन गर्न सकिएको छैन ।’ तर, पछिल्लो समय घरेलु उद्योगका रूपमा रहेको परम्परागत चोया उद्योग ओझेलमा परेको रोकायले दुस्खेसो पोखे । नयाँ पिँढीले चासो देखाउनुपर्ने उनले सुझाए ।

चोयाका सामग्री बनाएर सिजनमा ६० हजार रुपैयाँदेखि १ लाखसम्म आम्दानी हुने गरेको चलाउनेले बताए । चोयाका सामग्रीमध्ये मान्द्रो बिछयाउन तथा बिस्कुन सुकाउन प्रयोग हुन्छ । डोको वस्तु ओसार्न, डालो वस्तु राख्न र सुपो अन्न केलाउन प्रयोग हुन्छ । १ सय ५० घरपरिवार रहेको पारामुलसाम गाउँका दर्जन बूढापाकाले मात्र चोयोका सामग्री बनाउने गर्छन् ।

गाउँमा मुलसामका स्थानीय बासिन्दाले १ दिन पैदल दूरीमा रहेको जंगलबाट निगाला ल्याएर चोया बनाउँछन् । उच्च लेकाली भेकको जंगलमा पाइने निगालाको पनि संरक्षण हुनुपर्ने उनले बताए ।

 





error: Content is protected !!