कहाँ के गर्दै छन् यी हिरोइन ?

एक समय फिल्म उद्योगमा चर्चा कमाएका कतिपय हिरोइन अहिले ओझेल परेका छन् । कतिले आफ्नो अभिनय कला, सुन्दरताका कारण दर्शकमाझ नाम पाए भने केहीले अंगप्रदर्शन, चुम्बन तथा बेडसिनजस्ता खुलापनका कारण क्षणिक चर्चा कमाए । तर, कालान्तरमा उनीहरूलाई न निर्माता, निर्देशकले सम्झिए, न त दर्शकले नै । तीमध्ये केही हिरोइन गृहस्थ जीवन व्यतीत गरिरहेछन्, केही अमेरिकातिर लागे त कोही अझै पनि ‘स्ट्रगल’मै छन् ।
एक समय निरुता सिंह निकै चर्चित थिइन् । तुलसी घिमिरेको ‘दक्षिणा’ र ‘दर्पणछाया’ फिल्मबाट हिरोइनका रूपमा स्थापित भएकी निरुतालाई शिव रेग्मीका ‘आफन्त’, ‘आफ्नो मान्छे’लगायतका फिल्मले ‘भर्सटाइल एक्ट्रेस’ भनेर चिनायो । निरुताले थुप्रै हिट फिल्म दिइन् । तर, अपशोच ! उनको लोकप्रियता धेरै समय टिक्न सकेन । आफू अभिनीत फिल्म फ्लप हुँदै गएपछि उनले मुम्बईको बाटो रोजिन् । बलिउडमा जम्ने योजना बुनेकी उनले अचेल मुम्बईमा इन्टेरियर डिजाइनिङको काम गर्ने गरेको बताइन्छ ।
खानदान फिल्मबाट ठूलो पर्दामा देखिएकी रेजिना उप्रेतीले ६ दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिन् । ‘वरदान’ नामक फिल्म पनि निर्माण गरिन् । वरदानले नाफा नदिएपछि उनले घरजमको बाटो रोजिन् । प्रेमी सुरज अधिकारीसँग तीन वर्षअघि बिहे गरेकी रेजिना एक पुत्रीकी आमा बनिसकेकी छिन् । अचेल उनी छोरीको हेरचाहमै व्यस्त छिन् । अभिनयमा फर्कने उनको चाहना भने अझै देखिन्छ ।
‘सिलसिला’ र ‘राजभाइ’ फिल्ममा राज तिमिल्सिनासँग चुम्बन दृश्य दिएर चर्चामा आएकी सोनिया केसीको फिल्म करिअरले उचाइ लिन भने सकेन् । ‘म बिर्सूँ कसरी’, ‘तिम्रो घर मेरो ससुराली’, ‘विरासत’लगायतका फिल्ममा अभिनय गरेकी उनी अचेल अभिनयमा सक्रिय छैनन् । केही वर्षअघि बिहे गरेकी उनी अचेल छोरीको स्याहारमा व्यस्त छिन् ।
अभिनेता विराज भट्टको सहयोगमा डेढ दर्जनभन्दा बढी फिल्ममा अभिनय गरे पनि जेनिशा केसीले अभिनयमा करिअर स्थापित गर्न भने सकिनन् । उनी अभिनीत अधिकांश फिल्म फ्लप छन् । विराज भोजपुरी फिल्म अभिनयमा लागेपछि उनले जेनिशालाई पनि त्यता काम दिलाउने कोसिस गरेका थिए । तर, जेनिशा जमिनन् । अचेल उनी मुम्बई आउ–जाउ गर्छिन् । बलिउडका निर्माता, निर्देशक रामगोपाल बर्माले उनलाई बलिउडका फिल्ममा चान्स दिने आश्वासन दिएकाले उनी अचेल मुम्बईमा संघर्षरत छिन् । ‘मलाई रामगोपाल दा, ज्याकी श्राफ, सनी देओल दाले सपोर्ट गरिसिएको छ,’ हालैको कुराकानीमा उनले भनिन्, ‘म मुम्बईमा जम्ने चान्स निकै छ । केही समयपछि राम्रै फिल्ममा खेल्दै छु ।’ जेनिशाको प्रयासलाई सकारात्मक नै मान्न सकिन्छ ।
‘तिमी जहाँ भए पनि’, ‘ब्ल्याकमेल’, ‘प्रोड्युसर’लगायतका फिल्ममा अभिनय गरेकी श्वेता भट्टराईले पनि बिहेपछि फिल्म यात्रा टुंग्याइन् । त्यसैगरी एक समयकी चर्चित हिरोइन सुमिना घिमिरेले पनि बिहेपछि फिल्म लाइनै छोडिन् ।
‘दुलही’ फिल्ममा शीर्ष भूमिका निर्वाह गरेर करिअर अघि बढाएकी सुमिनाले त्यसपछि थुप्रै फिल्ममा अभिनय गरिन् । मिलनसार, कामप्रति लगनशील र मिहिनेती हिरोइनमा पर्ने सुमिना अंगप्रदर्शन तथा प्रेमप्रसंगका कारण आलोचित भइरहिन् । आफू अभिनीत फिल्म असफल हुँदै गएपछि उनले पनि अभिनय यात्रालाई बिट मार्ने निधो गरिन् । विमानचालक रोशन सापकोटासँग विवाह गरेपछि उनी फिल्मकर्मीको सम्पर्कमा छैनन् । छोरीकी आमा बनिसकेकी सुमिना पुनः अभिनयमा फर्कन चाहिनन् ।
‘किन मायामा’, ‘अँगालो यो मायाको’, ‘नतिजा’, ‘नागबेली’, ‘मुखौटा’लगायतका फिल्ममा अभिनय गरेकी हर्षिका श्रेष्ठ अभिनयका कारण भने चर्चामा आउँदिनन् । फरक–फरक पुरुषसँगको प्रेमसम्बन्धका कारण गसिफमा छाउने गरेकी उनले दुई वर्षअघि भारतीय नागरिक प्रसुन झुन्झुनवालासँग बिहे गरिन् । झन्डै एक वर्ष पतिको घर कोलकाता बसेपछि उनी विगत तीन महिनायता काठमाडौंमा छिन् । उनी पुनः अभिनयमा सक्रिय हुन चाहन्छिन् । तर, उनले नयाँ फिल्म पाएको खबरचाहिँ अहिलेसम्म सुन्न पाइएको छैन । उनी अभिनीत गत साउनमा पहिलो साता प्रदर्शित ‘मेरी कुसुम’ असफल भएको थियो ।
‘खोज’, ‘मनपरेपछि’लगायतका केही फिल्ममा अभिनय गरेकी कल्पना शाहीको करिअरले पनि उचाइ लिन सकेन । अभिनेता मुकेश आचार्यसँग प्रेमविवाह गरेर गृहस्थ जीवन व्यतीत गरिरहेकी कल्पनाकी एउटी छोरी छिन् । उनी पुनः अभिनयमा फर्कने सम्भावना लगभग समाप्त नै देखिन्छ । ‘एटिएम’, ‘ढुंगेयुग’, ‘करामत’लगायतका फिल्ममा अभिनय गरेकी सोनिया शर्माले पनि बिहेपछि फिल्म कर्मलाई बाइबाई गरिन् । अभिनेता प्रज्वल गिरीसँग बिहे गरेकी उनी पनि एक छोरीकी आमा हुन् ।
‘जिगलो’, ‘एटिएम’, ‘रिङ रोड’, ‘रङ वे’, ‘बर्बाद’जस्ता एडल्ट फिल्ममा अभिनय गरेर विवादास्पद चर्चा कमाएकी जिया केसी अन्ततः अभिनेता भुवन केसीको प्रेममा परिन् । भुवनसँग लिभइन रिलेसनसिपमा रहेकी जियाले फिल्म अभिनय नगरेको झन्डै चार वर्ष पुगिसकेको छ । उनी पनि अभिनयमा फर्कने सम्भावना अहिलेलाई न्यून नै देखिन्छ ।
एक–दुई वा सोभन्दा बढी फिल्म खेलेर हराएका हिरोइन थुप्रै छन् । ऋचा सिंह ठकुरीले ‘नाइँ नभन्नु ल’, ‘म तिम्रो भइसकेँ’, ‘धडनकनभित्र’, ‘खुड्किलो’, ‘मन पराएँ माया लाएँ’लगायतका फिल्ममा अभिनय गरिन् । बिहेपछि उनले पतिका साथ ‘सुपर गोर्खे’ नामक फिल्म निर्माण गरेकी थिइन् । तर, त्यो फिल्म अहिलेसम्म दर्शकमाझ आएको छैन ।
‘मन्जरी’ फिल्मबाट हिरोइका रूपमा डेब्यु गरेकी सुजाता कोइराला पछि ‘फिटकिरी’ फिल्ममा कोरस भूमिकामा देखापरिन् । त्यसपछि उनलाई दर्शकले फेरि पर्दामा हेर्न पाएका छैनन् ।
झन्डै दुई दर्जन फिल्ममा अभिनय गरेकी गरिमा पन्त बिहेपछि पतिका साथ बेल्जियम उडिन् । यद्यपि, उनी पुनः अभिनयमा फर्कन सक्ने सम्भावना भने कायमै छ । तीन दर्जनभन्दा बढी फिल्ममा अभिनय गरे पनि करिअर स्थापित भएन नन्दिता केसीको । अनि लागिन्, अमेरिका । नन्दिताझैँ अमेरिका पलायन भएका हिरोइनमा पर्छन्, युना उप्रेती, उषा पौडेल, ऋचा घिमिरे, सौजन्या सुब्बा आदि । उषाले गत मंसिरमा अभिनेता सुधांशु जोशीसँग बिहे गरिन् । सौजन्या भने अभिनेता भूपेन चन्दसँग दोस्रो बिहे गरेर अमेरिका उडेकी हुन् । ऋचाचाहिँ चार वर्षअघि पति शंकरका साथ क्यानडा हुँदै अमेरिका पुगेकी हुन् । उनले निर्माण गरेको ‘तुलसी’ फिल्म अहिलेसम्म प्रदर्शनमा आएको छैन । अमेरिकामै रहेका पुराना हिरोइनमा कृष्टि मैनाली, सारंगा श्रेष्ठ, जल शाहलगायत छन् ।



