सिक्का बाबा’ लाई कीर्तिमानीमा समस्या

सुर्खेत । कास्की हेम्जाका ४८ वर्षीय रामबहादुर परियार सिक्का बाबाका नामले परिचित छन् । विश्वका २०६ मुलुकका सिक्का पहिरनमा टाँसेर उनी नेपाल यात्रामा छन् । विश्वशान्तिको सन्देश छर्ने उद्देश्यले यात्रामा निस्केको ८ वर्ष पुग्दासमेत उनले नेपालबाहिर जान सकेका छैनन् ।उनले आर्थिक समस्याले विश्व भ्रमण सुरु गर्न नसकेको बताए । ‘नेपालमा सबैको सहयोगले जिल्ला भ्रमण गर्न सकेँ,’ सुर्खेतमा भेटिएका उनले भने, ‘विश्वका सबै मुलुकका सिक्का पहिरनमा टाँसेर यात्रामा निस्किने रहर अझ पूरा गर्न सकिएको छैन ।’ स्वदेशको यात्रामा विशेषगरी नेपाल प्रहरी र यातायात समितिले पूर्णसहयोग गरेको बताए । उनी जिल्ला भ्रमणका बेला प्रहरीका स्थानीय युनिटमा खाने बस्ने गर्छन् । त्यस्तै, यातायात समितिले ‘फ्रिपास’ उपलब्ध गराएको छ । विभिन्न देशका सिक्का पहिरनमा टाँसेर हिँडदा असुरक्षा हुने भएकाले आफू प्रहरीको सम्पर्कमै रहने गरेको उनले सुनाए । होटलमा बस्दा लुटिने, ज्यान खतरामा हुने हुँदा प्रहरीकै आवास प्रयोग गर्ने गरेको बताए ।
विश्व यात्राका लागि राहदानी बनाउन आफूले धेरै दुस्ख झेलेको अनुभवको छ । ‘चार वर्ष भयो बल्ल राहदानी बन्यो । यसका लागि गृह मन्त्रालय धाउँदाधाउँदा हैरान भएँ,’ सिक्का बाबाले भने, ‘भिसाका लागि आवेदन दिने प्रक्रियामा छु ।’ आफ्नो यात्रामा व्यक्तिगत रूपले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक ९एआईजी० रणबहादुर चन्दले सहयोग गरेको बताए । ‘सिक्का बाबा’ ले टोपीमा राष्ट्रिय झन्डा पहिर्याएका छन् । त्रिशूलमा पनि सिक्का टाँसेका छन् । ‘गिनिज बुक’ मा नाम लेखाएर कीर्तिमानी कायम गर्ने उद्देश्यले यात्रामा निस्कन लागेको उनको भनाइ छ । नेपालकै नाम राख्न आफू कीर्तिमानी कायम गर्न खोजेको भन्दै सरकारले आवश्यक सहयोग नगरेको उनको गुनासो छ ।



