पहिरोले यातायात अवरुद्ध

जाजरकोट ,भेरी नगरपालिका– ३ न्युरोडमा पहिरो जाँदा १२ दिनदेखि यातायात अवरुद्ध छ । पहिरोले जाजरकोट–डोल्पा सडकको खलंगा–रिम्ना खण्ड भत्किएको छ । यातायात अवरुद्ध हुँदा यात्रु खलंगादेखि रिम्नासम्म ४/५ घण्टा पैदल हिंड्न बाध्य छन् ।

दैनिक उपभोग्य वस्तु ओसारपसारमा पनि समस्या छ । पहिरोले पैदल यात्रीलाई आउजाउमा समेत जोखिम भएको छ । केन्द्रीय विद्युत् लाइन प्रसारणमा बाधा पुगेको छ । भत्किएको सडक पुनर्निर्माणका लागि सम्बन्धित निकायले वास्ता नगरेको गुनासो स्थानीयको छ ।

‘पहिरो रोकथाम तथा सडक सुचारु गर्न कुनै पनि निकायले पहल गरेका छैनन्,’ स्थानीय

खड्गबहादुर केसीले भने । यात्रुलाई पैदल आवजावतमा कठिनाइ भएको छ । बस्ती नै जोखिममा परेको छ । खलंगा–रिम्ना सडकको स्तरोन्नतिमा गुणस्तरीय काम नहुँदा पहिरो खसेको उनले बताए ।

सडकमा ढल निकासको व्यवस्था नहुँदा बस्ती नै बग्ने गरी पहिरो गएको छ । रोजेन्द्र/जलजला जेभी काठमाडौंले न्युरोड क्षेत्रमा पर्खाल तथा ग्याबिनको काम गरेको थियो । सडक डिभिजन कार्यालय चौरजहारीले गुणस्तरमा बेवास्ता गर्दा पहिरोले क्षति व्यहोर्नुपरेको खत्रीले बताए । निर्माण व्यवसायीले सडकको जोखिमपूर्ण स्थानमा कटिङ नगरेका बिनासाइजका ढुंगाको पर्खाल लगाएका थिए । जग नखनेरै ग्याबिन राख्दा पहिरो खसेको स्थानीयको आरोप छ ।

निर्माण व्यवसायीले ५ महिनाअघि न्युरोडमा मनोमानी डिजाइनविपरीत पर्खाल तथा ग्याबिङ कार्य गरेका थिए । सडक स्तरोन्नति कार्य गुण्स्तरीय नभएको भन्दै स्थानीयले गत वैशाखमा विरोधसमेत गरेका थिए । पटकपटक जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवालाको ध्यानाकर्षण गराए पनि बेवास्ता भएको सरोकार समितिका अध्यक्ष अमरसिंह राठौरले बताए । ‘सडकमा ढल निकासको व्यवस्था नगर्दा पनि पहिरो खसेको हो,’ उनले भने । खलंगा–रिम्ना सडक स्तरोन्नति कार्य १२ करोड लागतमा रोजेन्द्र/जलजला जेभी काठमाडौंले जिम्मा लिएको थियो ।





error: Content is protected !!