सुरक्षा परिषदको बैठकमा चीन र अमेरिकाबीच भनाभन

वाशिङ्गट्न । उत्तर कोरियाले एकपछि अर्को परमाणु हतियारका परीक्षणपछि बोलाइएको संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको आपतकालिन बैठकमा चीन र रुसबीच भनाभन भएको छ ।

सुरक्षा परिषदको बैठकमा अमेरिकाले उत्तर कोरियाले विश्व समुदायलाई नै जिस्क्याएको भन्दै कडा भन्दा कडा प्रतिबन्ध लगाउनु पर्ने प्रस्ताव ल्याएको थियो । संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निक्की हेलेले अत्ति नै भइसकेको अवस्था भएकोले अब भने कडा कदम चाल्नुपर्ने माग गरेकी थिइन । अमेरिका युद्दको पक्षमा नरहेपनि उत्तर कोरियाको व्यवहार टुलुटुलु हेरेर पनि बस्न नसक्ने उनको प्रतिक्रिया थियो ।

चीनियाँ प्रतिनिधिले भने उत्तर कोरियाको समाधान युद्दबाट समाधान हुन नसक्ने बताए । उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको अनुरोधलाई स्वीकार्दै परमाणु हतियारको विकास र प्रदर्शन रोक्नुपर्ने चिनियाँ पक्षको टिप्पणी थियो । “तर अमेरिकाले पनि दक्षिण कोरियासँग मिलेर कोरियाली प्रायद्विपमा शुरु गरेको सैन्य अभ्यास रोक्नुपर्छ । शान्तिपूर्ण तरिकाले मात्रै कोरियाली समस्या समाधान हुन सक्छ ।” बैठकमा चीनले भन्यो ।

चीनको यो प्रतिक्रिया पुरा हुन नपाउँदै अमेरिकी राजदूतले भने “इन्स्लटिङ प्रपोजल” अर्थात् अपमानजनक प्रस्ताव भन्दै बिरोध गरिन । त्यसपछि दुबै पक्षबीच आरोप प्रत्यारोप चलेको थियो ।

रुसले भने चीनको कदमको बचाऊ गरेको छ । कोरियाले परमाणु अस्त्र विकास गर्नु गलत भएको र ऊविरुद्द तेल आयातलगायतका अन्य प्रतिबन्ध लगाउन रुस सहमत भएपनि समस्याको समाधान युद्दबाट हुन नसक्ने बैठकमा रुसले प्रष्ट पारेको थियो ।

अमेरिकाले चीनको प्रस्ताव लज्जाष्पद भन्ने टिप्पणी गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै रुसका प्रतिनिधिले भने प्रस्तावमा अपमान हुनुपर्ने त्यस्तो कुरा के रहेछ रु भन्दै अचम्म लागेको बताएका थिए ।

उत्तर कोरियासँग चीनको ठूलो व्यापार रहेकोले अमेरिकाले चीनसँग समेत सम्बन्ध विच्छेद गर्ने धम्की समेत यसअघि नै दिइसकेको छ । चीनले भने समस्याको शान्तिपूर्ण समाधान हुनुपर्ने र दुबै पक्षले उत्तेजना बढाउने हरेक गतिविधि बन्द गर्नुपर्ने माग गर्दै आएको छ ।





error: Content is protected !!