हावाहुरीले मकै बालीमा क्षति

जाजरकोट । बारेकोट गाउँपालिका ३, मुल्साममा मकैबाली हावाहुरीले नष्ट गरेको छ । शनिबार रातिको हावाहुरीले मुल्सामको १ सय ५० रोपनी बारीमा लगाएको मकै क्षति भएको हो । हावाहुरीले एकमात्र खेती मकै पनि नष्ट गरेपछि स्थानीय किसान चिन्तित छन् । हावाहुरीले सयभन्दा बढी परिवारको खेती नष्ट गरेको स्थानीय मनमाया विकले बताइन् । घोगा लागेको मकै सबै भाँचिएर बारीमै सुतेको छ । मकै खेती हावाहुरीले नष्ट पारेपछि गाउँमा भोकमरी हुने अवस्था आएको उनले बताइन् । जिल्लाकै विकट बस्ती मुल्सामवासीको मुख्य खेती मकै भएको वडा अध्यक्ष मनबहादुर शाहीले बताए । मुल्सामका किसानले जेठ अन्तिममा रोपेर कात्तिकमा भित्र्याउने गर्छन् । पाखो बारीमा लगाएको मकै सबै हावाहुरीले नष्ट गरेको शाहीले जानकारी दिए ।



