दक्षिण कोरियाले क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियालाई जवाफ फर्कायो

               उत्तर कोरियाले हाइड्रोजन बमसहितको क्षेप्यास्त्र प्रहार गरेको भोलिपल्टै सोमबार दक्षिण कोरियाले पनि क्षेप्यास्त्र परीक्षण गर्दै जवाफ दिएको छ । दक्षिण कोरियाली सेनाले जमिनबाट आकाशसम्म प्रहार गर्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । दक्षिण कोरियाले सोमबार बिहानै क्षेप्यास्त्र परीक्षण गरेको हो ।

दक्षिण कोरियाको हाइम्बु क्षेप्यास्त्र
उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहलाई बेवास्ता गर्दै लगातार ६ महिनादेखि आणविक क्षेप्यास्त्र परीक्षण गरिरहेको छ । छिमेकी दक्षिण कोरियाले पनि राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायसमक्ष उत्तर कोरियाको डरलाग्दो गतिविधि रोक्नुपर्ने आग्रह गरिरहेकै छ । तर, आफ्नो धैर्यको सिमाना नाघ्दै दक्षिण कोरियाले हाइम्बु नामको क्षेप्यास्त्र आकाशतिर हानेको एजेन्सीले जनाएका छन् । आकाशमा उडेको क्षेप्यास्त्र केही मिनेटमै जमिनमा खसेको थियो । दक्षिण कोरियाले गरेको क्षेप्यास्त्र परीक्षणको भिडियो कोरियन सैनिकको टेलिभिजनमा लाइभ टेलिकास्ट भएको थियो ।

एफ १५ लडाकु विमान प्रयोग
दक्षिण कोरियाले सोमबार एफ १५ लडाकु विमान पनि प्रयोग गरेको छ । एफ १५ लडाकु विमान दक्षिण कोरियाकै अत्याधुनिक सैनिक विमान मानिन्छ । यसमा सहजै शक्तिशाली क्षेप्यास्त्र भण्डारण गर्न सकिन्छ । यसै कारण सैनिक अधिकारीहरूले एफ १५ लडाकु विमान नै प्रयोग गरेको हो । लडाकु विमानले मध्यम गतिको क्षेप्यास्त्र छाड्यो । त्यो बिस्तारै जमिनमा खसेको थियो । यता, सैनिक अधिकारीले क्षेप्यास्त्र छोटो दूरीको भएको दाबी गरेका छन् । उनीहरूले यसको लम्बाइ र चौडाइबारे बताएका छैनन् ।

पूर्वी समुद्री क्षेत्र लक्षित
दक्षिण कोरियाले जापानसँगको सिमानानजिक रहेको पूर्वी समुद्री किनारमा क्षेप्यास्त्र खसाल्ने योजना बनाएको थियो । दक्षिण कोरियाको रक्षा मन्त्रालयले सोमबार गरिएको क्षेप्यास्त्र परीक्षण सफल भएको विज्ञप्तिमार्फत जनाएको छ । ‘क्षेप्यास्त्र परीक्षण सफल भएको छ र तोकिएको गन्तव्यमा क्षेप्यास्त्र खस्यो,’ विज्ञप्तिमा उल्लेख छ ।

आणविक शक्तिको होडबाजी
आइतबार उत्तर कोरियाले गरेको हाइड्रोजन बम परीक्षणको अन्तर्राष्ट्रिय समुदायले विरोध जनाएका थिए । त्यसको भोलि नै दक्षिण कोरियाले पनि मध्यम दूरीको क्षेप्यास्त्र परीक्षण गरेपछि अन्तर्राष्ट्रिय समुदायले उत्तर र दक्षिण कोरियाबीच आणविक हतियारको प्रतिस्पर्धा भएको दाबी गरेका छन् । दुवै कोरियाका पछिल्ला गतिविधिले विश्वमा ठूलो हलचल मच्चिएको छ । आणविक शस्त्रको होडबाजी बढाउने क्रममा विश्वमा त्रास फैलाउने कार्य भएको अन्तर्राष्ट्रिय समुदायले जनाएको छ ।

उत्तर कोरियाकै स्थान लक्षित
अन्तर्राष्ट्रिय एजेन्सीहरूले उत्तर कोरियाले लक्षित गरेको स्थानमै दक्षिण कोरियाले पनि क्षेप्यास्त्र परीक्षण गरेको जनाएका छन् । ‘दक्षिण कोरियाले सोमबार परीक्षण गरेको गन्तव्य नै उत्तर कोरियाको परीक्षणस्थलसम्म रहेको देखिन्छ,’ एजेन्सीहरूले जनाएका छन्, ‘जसका कारण यी दुवै परीक्षणले आपसमा लक्ष्य राखेको स्पष्ट हुन्छ ।’

ब्रिक्सद्वारा निन्दा
ब्रिक्स समूहका पाँच राष्ट्रले उत्तर कोरियाको हाइड्रोजन बम परीक्षणको निन्दा गरेका छन् । प्योङयाङको अन्तर्राष्ट्रिय क्षेत्रमै निन्दा भएको ब्रिक्स राष्ट्रहरूले जनाएका छन् । ‘उत्तर कोरियाले गरेको आणविक परीक्षणको हामी कडा शब्दमा निन्दा गर्छौं,’ सोमबारदेखि चीनको सिआनमेनमा सुरु भएको वार्षिक ब्रिक्स सम्मेलनमा सहभागी नेताहरूले संयुक्त रूपमा विज्ञप्ति निकाल्दै विरोध जनाए । ब्रिक्समा ब्राजिल, रसिया, भारत, दक्षिण अफ्रिका र चीन छन् । यसपटक चीनले आतिथ्य गरेको छ । ‘कोरियाली प्रायद्वीपमा लामो समययता आणविक परीक्षणका कारण उत्पन्न परस्थितिप्रति हामी गहिरो चिन्ता व्यक्त गर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

५० किलोटनको बम
उत्तर कोरियाले परीक्षण गरेको हाइड्रोजन बम ५० किलोटनको रहेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले दाबी गरेको छ । उत्तर कोरियाले गत सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा आइतबारको परीक्षण तीन गुणा शक्तिशाली रहेको दाबी दक्षिण कोरियाको छ । हाइड्रोजन बम सन् १९४५ मा अमेरिकाले हिरोसिमामा खसालेको बमभन्दा पनि तीन गुणा ठूलो रहेको जनाइएको छ ।

राष्ट्रपति मुनको आक्रोश
दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन उत्तर कोरियाको हितैसी मानिन्छन् । राष्ट्रपति मुनको जन्म नै उत्तर कोरियाको एक गाउँमा भएको थियो । कोरिया विभाजित हुनुअघि मुनको बाल्य र युवाकाल नै उत्तर कोरियामा बितेको थियो । यसै कारण मुनको उत्तर कोरियासँग भावनात्मक सम्बन्ध रहेको मानिएको छ । दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित हुँदा मुनले उत्तरसँगको सम्बन्ध सुधार्न पहिलो प्रयास हुने जनाएका थिए ।

तर, उत्तर कोरियाले पटक–पटक अन्तर्राष्ट्रिय समुदायको चेनावनी बेवास्ता गर्दै आणविक शस्त्र परीक्षण गरेपछि दक्षिण कोरियाली राष्ट्रपति मुन चिढिए । जसका कारण पछिल्लो समय उनी उत्तरप्रति नरम स्वभावमा देखिएनन् । आइतबार उत्तर कोरियाको हाइड्रोजन बम परीक्षणपछि मुनले आफूहरूसँग छिमेकीलाई कडाभन्दा कडा सजाय दिन सक्ने क्षमता रहेको प्रतिक्रिया दिए । ‘हामी पनि विपक्षीविरुद्ध शक्तिशाली उत्तर दिन सक्षम छौँ, उनीहरूलाई कडाभन्दा कडा कारबाही गर्ने सामथ्र्य हामीसँग छ,’ उत्तर कोरियाप्रति इंगित हुँदै दक्षिण कोरियाली राष्ट्रपति मुनले भने, ‘यो हाम्रो उत्तर कोरियालाई राम्रो पाठ सिकाउने र आवश्यक मात्रामा जवाफ दिने खालको हो ।’

अमेरिकी राष्ट्रपति ट्रम्प चुप
उत्तर कोरियाले हाइड्रोजन बम परीक्षणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटरमार्फत घोर विरोध जनाएका थिए । दक्षिण कोरिया नै शान्त बसेका कारण उत्तर कोरियाको गतिविधिमा सक्रियता देखिएको आरोप ट्रम्पले लगाएका थिए । ट्रम्पले दक्षिण कोरियालाई तत्काल उत्तरविरुद्ध प्रतिक्रिया दिन नउक्साएका पनि होइनन् । ‘दक्षिण कोरियाले गर्ने भनेको उत्तर कोरियासँगको शान्तिवार्ता सम्भव छैन र दक्षिण कोरियाले वर्तमान अवस्थामा गर्ने भनेकै कारबाहीको बदला लिनु हो,’ ट्रम्पले ट्विटरमा भनेका छन् । तर, दक्षिण कोरियाले पनि क्षेप्यास्त्र प्रहार गरेपछि ट्रम्पले त्यसको केही जवाफ दिएका छैनन् । अन्तर्राष्ट्रिय एजेन्सीका अनुसार दक्षिण कोरियाले दशकपछि क्षेप्यास्त्र परीक्षण गरेको हो ।





error: Content is protected !!