जाजरकोटमा भाइरल महामारी, स्वास्थ्य संस्थामा उपचार गर्न न ठाउँ छ, न अाैषधी !

हेमन्त के सी
, जाजरकोट ,
दुषित पानी र खानामा व्यक्तिगत हेल्चक्याईले जाजरकोटका ग्रामिण क्षेत्रमा बिरामीको भिड बढेको छ । जिल्लाका सबैै ठाउँमा ज्वारो, टाईफाईडका बिरामीको संख्या अत्यधिक बढेको छ ।
दैनिक स्वास्थ्य संस्थामा आउने बिरामीको संख्या ६० जनाभन्दा बढी भएको स्वास्थ्यकर्मीले बताए । बिरामीको संख्या बढेपछि स्वास्थ्य संस्थामा पालो पाउन मुस्किल भएको छ । जिल्लाका दुरदराजका जनताको पहँुचमा स्वास्थ्य संस्था नहुँदा सर्वसाधारणहरु नीजि मेडिकलमा महंगो रकम खर्चेर उपचार गर्न वाध्य भएको कार्कीगाउँका रामवहादुर खत्रीले वताए ।
वर्षायाममा जथाभावी फुटेका मुलबाट ल्याईएको पानी पिउँदा बिरामी भएको डाक्टरले वताए । बिरामीहरुको भिड बढेपछि डाडागाउँको स्वास्थ्य संस्थामा औषधीको अभाव भएको छ । चार दिनदेखि सलाईम पानी सकिएको भएपनि जिल्लामा गएको ल्याउन नसकिएको चिकित्सकहरु बताउँछन् ।
बारेकोट गाउँपालिकाका सबै वडाका प्रत्यक घरमा भाईरलका बिरामी रहेको स्थानीय शिक्षक कालीप्रसाद थापाले बताए । सोही ठाउँमा ६ दिन अघि दुई नाबलाकको पनि भाइरलकै कारण मृत्यु भएको थियो ।
संस्था टाढा स्वास्थ्य भएकोले उपचारका लागि बिरामीलाई समयमै ल्याउन नसक्दा समस्या झन थपिएको जिरीका प्रेम सिंहले बताए । त्यस्तै जिल्लाको पूर्वीको भागमा पनि भाइलका बिरामी परेका छन् । रग्दा र भगवती भन्ने दुर्गम गाउँमा भाईरलकै कारण सयौँ स्थानीयवासी घरमै थला परेको स्थानीय तेजवहादुर विकले बताए । उनले भने, ‘कुनै घरपनि बिरामी नभएको छैन, कस्लाई मात्रै उपचारमा लैजानु रु’ उनले थपे, ‘स्वास्थ्य संस्था टाढा छ , स्थानीय मेडिकलमा औषधी गर्न सकिन्न । काल आए मर्ने हो ।’
भाइरलका बिरामी बढेपछि गाउँ, गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्न स्थानीयले माग गरेपनि जिल्ला स्वास्थ्य कार्यालयले कुनै पहल नगरेको स्थानीयको आरोप छ । पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा सही समयमा बिरामीले उपचार नपाएको स्थानीयवासीले गुनासो गरेका छन् । ।
वर्षायाममा बाढी आउने, बाटाहरु भत्किएका कारण तोकिएको समयमा एक्लै उपचारका लागि सदरमुकाम जान नसकिएको दहका काँशी पुनले नयाँ पत्रिकासँग बताए । फोन सेवासमेत अवरुद्ध भएका कारण गाउँमा के छ भन्नेसम्मको जानकारी आउन नसकेको बारेकोटका नरवहादुर गिरीले गुनासो गरे ।
स्वास्थ्य संस्थामा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा उपचारमा थप समस्या आएको छ । भगवती स्वास्थ्य चौकीमा ६ महिना देखि तीन वटा दरबन्दी खाली छन् । त्यस्तै नायकवाडा स्वास्थ्य चौकीमा पनि दरबन्दी अनुसारको स्वास्थ्यकर्मी छैनन् । बिरामी भएको गाउँमा औषधी लिएर स्वास्थ्यकर्मी जाँदा स्वास्थ्य संस्था खाली हुने भएकाले गाउँमा जाँन नसकेको ईलाका स्वास्थ्य कार्यालय दल्लीका स्वास्थ्यकर्मी बताउँछन् ।
विद्यालयमा आएका विद्यार्थीहरु समेत बिरामी हुँदै विद्यालयबाटै बोकेर अस्पताल लैजानु पर्ने बाध्यता भएको शिक्षकहरु बताउछन् । जिल्लावासीलाई भाइरल अझ बढ्नसक्ने भन्दै खाना र पिउने पानीमा विशेष ध्यान दिन जाजरकोट जिल्ला अस्पतालका डा। भुपेन्द्र मल्लले आग्रह गरेका छन् ।










