मोहनविक्रम, मोहन वैद्य र विप्लव पार्टी एकताका लागि छलफल गर्दै

वीरेन्द्र ओली
मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी नेकपा माओवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच ध्रुवीकरण र एकताका लागि छलफल सुरु भएको छ । क्रान्तिकारी धारको प्रतिनिधित्व गर्दै तीन पार्टी ध्रुवीकरण हुँदै एकतामा जान लागेका हुन् ।
वैद्यले मोहनविक्रमनिवासमा गत साता एकताका लागि पहिलोपटक प्रस्ताव लिएर गएका थिए । दुई नेताबीच भएको भेटमा छलफल र बहसलाई जारी राख्ने भन्दै छुट्टिएको क्रान्तिकारी नेकपा माओवादी प्रवक्ता हरिभक्त कँडेलले बताए । तर, विप्लव र वैद्यले एकआपसमा एकताका लागि एकअर्कोले अपिल गर्दै आएका छन् । पछिल्लो समय वैद्य क्रान्तिकारी शक्तिसँग ध्रुवीकरण र एकताका लागि बाक्लै भेटघाट गर्न थालेका छन् । कँडेलले संसद्वादी शक्तिहरू बलिया हुँदै गएपछि क्रान्तिरकारी शक्ति कमजोर हुँदै गएको ठहर गर्दै केन्द्रीकृत र धु्रवीकृत हुन थालेको बताए ।
क्रान्तिकारी माओवादीले क्रान्तिकारी शक्तिहरूबीच पार्टी एकतामा जाने भन्दै गत महिना केन्द्रीय समिति बैठकबाट ६ आधारभूत सिद्धान्त पास गरेको थियो । जसमा माक्र्सवाद, लेलिनवाद, माओवाद मान्ने, वर्तमान संविधान नमान्ने, सरकारमा नजाने, बल प्रयोगको सिद्धान्त मान्ने, जनवादी केन्द्रीयता र जनवादी कार्यदिशा भएका पार्टीसँग एकता हुन सक्ने प्रस्ताव अगाडि सारेको थियो । सोही अवधारणाअनुसार वैद्य, मोहनविक्रम, विप्लवलगायत साना क्रान्तिकारी पार्टीसँग एकताका लागि छलफल अगाडि बढाइरहेको नेता कँडेलले बताए ।
वैद्य र विप्लवबीच पार्टी एकताबारे नियमित कुराकानी र छलफल भइरहेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्र्र्रीय सदस्य गुणराज लोहनीले बताए । जनवादी क्रान्तिका लागि सबै क्रान्तिकारी शक्तिसँग धु्रवीकरण हँुदै जानुपर्ने नेकपा पार्टीको केन्द्रीय समितिले पनि पास गरेको थियो । तर, लोहनीले तत्काल पार्टी एकता नभए पनि कार्यगत एकतालाई बलियो बनाउँदै जान सक्ने आधार देखिएको बताए ।
देउवाको भारत भ्रमणअघि नै संयुक्त ज्ञापन–पत्र पेस
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण जानुअघि सात क्रान्तिकारी पार्टीले भारतसँग भएका असमान सन्धि–सम्झौता खारेज गर्न संयुक्त ज्ञानपन–पत्र दिएका थिए । उक्त ज्ञापन–पत्र मोहन वैद्य ‘किरण’, मोहनविक्रम सिंह, नेत्रविक्रम चन्द विप्लवलगायत सात पार्टीले दिएका थिए । अन्तर्राष्ट्रिय सन्धि–सम्झौताविपरीत भारतले बनाएका बाँधका कारण डुबान भएकाले नेपाललाई क्षतिपूर्ति दिन उक्त ज्ञापन–पत्रमा उल्लेख थियो । यसपटकको भारत भ्रमणमा देउवाले पुराना सन्धि–सम्झौताको नवीकरण गर्ने आंशकामा सचेत गराउन संयुक्त ज्ञापन–पत्र दिएको कँडेलले बताए ।
३२ वर्षपछि वैद्यको पार्टी एकता प्रस्ताव
०४० सालमा नेकपा चौथो महाधिवेशन पार्टीबाट महोनविक्रम सिंहबाट निर्मल लामा छुट्टिएका थिए । आधारभूत सिद्धान्त र सांगठनिक संरचनामा विवाद हुँदा लामा र सिंह छुट्टिए । ०४२ सालमा मोहनविक्रमबाट मोहन वैद्य ‘किरण’ पनि छुट्टिए । पार्टी फुटेपछि वैद्यले मोटो मशाल पार्टी गठन गरे । मोहनविक्रमले पातलो मसाल गठन गरे । पार्टीबाट अलग भएको ३२ वर्षपछि वैद्य पार्टी एकताका लागि मोहनविक्रमलाई प्रस्ताव लिएर गएका हुन् । वैद्य १० वर्षे जनयुद्ध हुँदै शान्ति प्रक्रियासम्म आइपुगे । तर, मोहनविक्रमले पार्टीलाई अर्धभूमिगत रूपमै क्रान्तिकारी धार जोगाइराखे । पछिल्लो समय संसद्वादी पार्टी बलियो हुँदै गएपछि क्रान्तिकारी धार बलियो बनाउन वैद्य मोहनविक्रमसँग एकताको प्रस्ताव लिएर गएका हुन् । तर, विप्लवले वैद्यसँग ८ मंसिर ०७१ मा अलग भई नेकपा माओवादी पार्टी गठन गरे । अहिले नेपाल कम्युनिस्ट पार्टी नाम राखेका छन् ।










