मध्यपहाडी लोकमार्गमा लुटको झल्को ,४५ किलोमिटर यात्रामा ९ सय भाडा

जिल्लाका सडकहरुलाई ‘क’ देखी ‘घ’ वर्गसम्म विभाजन गरेको छ । र सोही अनुसार भाडादर पनि कायम गरिएको छ । समितिले तोकेको भाडा अनुसार ‘ग’ वर्गका सडकमा प्रतिकिलोमिटर ९ रुपैंयाका दरले मुसीकोट देखि चौरजहारी पुग्न ४ सय ५ रुपैयाँ मात्र भाडा लाग्छ । मध्यपहाडी लोकमार्गमा पर्ने यो सडकको लम्बाई ४५ किलोमिटर रहेको छ । तर यातायात व्यवसायीको मनपरीका कारण यात्रुहरु तोकिएको भन्दा झण्डै दोब्बर बढी भाडा तिर्न बाध्य भएका छन् ।

 

यसअघि पनि जिल्ला यातायात व्यवस्था समितिले तोकेको भन्दा केही बढी भाडा तिरिरहेका यात्रुहरुले हाल भने दोब्बर भाडा तिरिरहेका छन् । गाडि चल्न थालेदेखि खलंगाबाट चौरजहारी ओहोर दोहोर गरे वापत १ हजार भाडा तिर्दै आएका यात्रुहरुबाट हाल भने सडक विग्रेको, इन्धन महंगिएको र बर्षाको नाममा व्यवसायीले दुईतर्फ गरी १ हजार ८ सय भाडा असुल्दै आएका छन् । आफूले मुसीकोटबाट चौरजहारी र चौरजहारीबाट मुसीकोट ओहोर दोहोर गर्दा पहिलाको भन्दा दोब्बर भाडा तिरेको बाँफिकोट गाउँपालीकाका शेरविर दाहालले बताए ।

३ खण्डमा विभाजीत सडक

हाल उक्त सडक ३ खण्डमा विभाजित छ । यातायात व्यवसायीले जवरजस्त उक्त सडकमा ३ खण्ड बनाएर सवारी चलाईरहेका छन् । प्रति यात्रु प्रति खण्ड ३ सयका दरले पुरै सडक यात्रा गर्दा एकतर्फी मात्रै एउटा यात्रुले ९ सय रुपैयाँ तिर्नुपर्छ । सदरमुकाम मुसिकोटदेखि सानीभेरी गाउँपालिकाको सुलीहाले सम्मको एउटा खण्डमा ३ सय, सुलीहालेदेखि चाइनाबगर सम्मको अर्को खण्डमा ३ सय र सुलीहालेदेखि चौरजहारी सम्म सडक तेश्रो खण्डमा प्रति यात्रु ३ सय रुपैयाँ भाडा असुलिरहेका छन् ।

बढी भाडा लिएको बारेमा केही थाहा छैन

यातायात भाडा बढी लिइएको बारे आफूलाई केही जानकारी नभएको जिल्ला यातायात व्यवस्था समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले बताए । यातायात व्यवसायीकै सहभागितामा भाडादर कायम गरिएकाले त्यसमा धेरै तलमाथी गरिए कारबाही हुने उनको भनाई छ ।

यात्रुहरुको गुनासोः हेर्नुपर्ने निकायले हेरेन

नियामक निकायले वास्ता नगर्दा आफूहरु मर्कामा परिरहेको स्थानीयको गुनासो छ । नेपालगञ्ज पुगिने भाडाले चौरजहारी पुग्न मुश्किल भएपनि यसको नियमन गर्ने निकाय मौन बस्नुले यातायात व्यवशायीलाई बल पुगिरहेको चौरजहारी ७ की मनकुमारी केसीले बताईन । सडक विग्रेको तथा इन्धन महंगिएको भएपनि भाडा थोरै बढाउनुपर्नेमा यातायात व्यवसायीको मनपरी चलिरहेको यात्रुहरुको गुनासो छ ।

पहिरोले यातायात व्यवसायीलाई मनपरी गर्न सजिलो

यस सडकको सुलीहालेमा माथीबाट झरेको पहिरोले व्यवसायीलाई मनपरी गर्न सजिलो बनाइदिएको छ । २ साता अघि झरेको पहरो अझै हटाइएको छैन । पहिरोका कारण खलंगाबाट जाने गाडि सुलीहालेबाट फर्कन्छन् भने चौरजहारी र चाइनाबगरबाट आएका गाडि पनि सुलिहालेबाट उतै फर्कने गरेका छन् । यस सडक खण्डमा सिस्ने हिमाल बस तथा मिनि बस यातायात व्यवसायी समिति, रुकुम यातायात प्राली र सानोभोरी सेवा समितिले साना गाडि जिप सञ्चालन गर्दै आएका छन् । भाडा बढाएको बारेमा यातायात समितिहरुपनि बेखवर छन् । समितिले यसबारेमा कुनै निर्णय नगरेको र भाडा बढेको भए यातायात व्यवशायीले आफै बढाएको हुनसक्ने यातायात समितिहरुको भनाई छ ।





error: Content is protected !!