थपिए साढे २२ हजार मतदाता

डिलप्रसाद शर्मा
सुर्खेत , स्थानीय तहको निर्वाचनपछि सुर्खेत जिल्लामा साढे २२ हजार नयाँ मतदाता थपिएका छन् । प्रदेश र संघ निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मतदाता सूची अद्यावधिक गरेपछि सुर्खेतमा मात्रै साढे २२ हजार मतदाता थपिएका हुन् । गत साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत जिल्लाका ९ वटा स्थानीय तहमा गरी २२ हजार ७ सय ४२ जना नयाँ मतदाता थपिएका हुन् ।
निर्वाचन आयोगले सुरुवातमा साउन पहिलो सातादेखि मसान्तसम्म नयाँ मतदाता नामावली संकलन गर्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो । आयोगले पुनः भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन कार्यका लागि समय तोकिएको थियो ।
झण्डै ३५ दिनको समयअवधिमा जिल्ला निर्वाचन कार्यालयले जिल्लाबाट र १९ दिन स्थानीय तहबाट मतदाता नामावली संकलन गरेको थियो । कार्यालयले दिएको जानकारी अनुसार मतदाता नामावली दर्ता गराउँने पुरुष भन्दा महिला बढी छन् । जसमा १२ हजार १ सय ६१ जना महिला र १० हजार ५ सय ८१ गरी २२ हजार ७ सय ४२ जना मतदाता थपिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
कहाँ कति मतदाता थपिए
जिल्ला निर्वाचन कार्यालय सुर्खेतका अनुसार गुर्भाकोट नगरपालिकामा १ हजार ५ सय ७५ जना महिला र १ हजार ३ सय १५ गरी जम्मा २ हजार ८ सय ९० जना मतदाता थपिएका छन् । यसैगरी, चिङ्गाड गाउँपालिकामा २ सय ५५ महिला र २ सय ४२ जना पुरुष गरी जम्मा ४ सय ९७ जना नागरिकले मतदाता नामावली दर्ता गराएका छन् । चौकुने गाउँपालिकामा जम्मा ७ सय ६४ जना मतदाताहरु थपिएका छन् । जसमा ३ सय ६२ जना महिला र ४ सय २ जना पुरुष रहेका छन् ।
पञ्चपुरी नगरपालिकामा ७ सय १९ जना महिला र ६ सय ८४ जना पुरुष गरी १ हजार ४ सय ३ जना नयाँ मतदाता थपिएका छन् । यसैगरी, बराहताल गाउँपालिकामा ५ सय २२ जना महिला र ५ सय २ जना पुरुष गरी जम्मा एक हजार २४ जना नागरिकले यस पटक नामावली दर्ता गराएको निर्वाचन कार्यालयको तथ्यांकमा उल्लेख छ ।
भेरीगंगा नगरपालिकामा १ हजार ६ सय ६ जना महिला र १ हजार १ सय १० जना पुरुष गरी २ हजार ७ सय १६ जना मतदाता थपिएका छन् । कार्यालयको तथ्यांकअनुसार लेकबेशी नगरपालिकामा १ हजार ५ सय ५१ जना नयाँ मतदाता थपिएका छन् । जसमा ८ सय २५ जना महिला र ६ सय २६ जना पुरुष रहेका छन् ।
यसैगरी सीम्ता गाउँपालिकामा ६ सय ८२ जना महिला र ५ सय ९७ जना पुरुष गरी १ हजार २ सय ७९ जना मतदाता थपिएका छन् । यस्तै, वीरेन्द्रनगर नगरपालिकामा जिल्ला अन्य तह भन्दा बढी मतदाता नामावली संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । जसमा ५ हजार ६ सय १५ जना महिला र ५ हजार २ जना पुरुषले नामावली दर्ता गरेका छन् । जसअनुसार वीरेन्द्रनगर नगरपालिकामा मात्रै १० हजार ६ सय १७ जना नागरिकले नयाँ मतदाता नामावली दर्ता गराएका छन् ।
कार्यालयले ३५ दिनसम्म जिल्ला र ९ वटा स्थानीय तहमार्फत नयाँ मतदाताको नाम संकलन र अद्यावधिक गरेको थियो । मतदाता सूचीमा पहिला उमेर पुगेर छुटेका र भदौ ३ सम्म मतदानका लागि उमेर पुगेका नागरिक थपिएका छन् । बसाइसराइँ गरेका, जिल्ला परिवर्तन गर्नुपर्नेले नामावली दर्ता र अद्यावधिक गरेका हुन् ।
‘उमेर पुगेकाको नाम थप्ने र मतदाता नामावलीमा भएका त्रुटी सच्चाइएको कार्यालयका नविन पौडेलले बताए । निर्वाचन आयोगका अनुसार देशभरबाट फोटोसहितको मतदाता सूचीमा करिब १२ लाख नाम मतदाता थपिएका छन् । यसअघि निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीअनुसार मुलुकमा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता छन् ।










