अमेरिका अर्को युद्धको तयारीमा, अफगानिस्तानमा छिट्टै आक्रमण गर्ने अमेरिकी राष्ट्रपतिको चेतावनी

एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी दिएका हुन्।
भर्जिनियाका फोर्ट मेयरमा एउटा भाषणका क्रममा ट्रम्पले जित्नका लागि लड्ने बताए । ‘हामी जित्नका लागि लड्ने छौं ।’ ट्रम्पले भने, ‘हामी कहिले आक्रमण गर्छौँ भन्ने कुरा म भन्न सक्दिनँ, तर हामी आक्रमण गर्नेछौंँ।’

अमेरिकी फौजको उपस्थिति रहेको उक्त कार्यक्रममा ट्रम्पले विगतमा आफूले सेनाको संख्यामा कटौती गर्ने भनेपनि त्यो अफगान युद्दमा मारिएका अमेरिकी फौजको अपमान हुने बताए । अफगानिस्तानबाट सेना फिर्ता बोलाए आतंकवादीहरुका लागि आक्रमण गर्न ठाउँ खाली हुने र उनीहरुले आफ्नो सञ्जाल बलियो बनाउने ट्रम्पको तर्क थियो ।
भाषणका क्रममा ट्रम्पले पाकिस्तानको भने आलोचना गरे । ‘पाकिस्तान आतंकवादी संगठनका लागि सुरक्षित स्वर्ग बनेको छ । हामी यो कुरामा लामो समय मौन बस्न सक्दैनौं ।’ उनले भन, ‘हामीले चाहिँ पाकिस्तानलाई अर्बौं डलर दिने, तर पाकिस्तानले भने हामीले नै लडिरहेका आतकंवादीहरुलाई पाल्ने र यो तत्काल परिवर्तन हुनुपर्छ ।’
उनले यो युद्दमा भारतलाई समेत सहयोग गर्न आग्रह गरे । ट्रम्पले भने, ‘अफगानिस्तानमा स्थायीत्व हुनुपर्ने भारतको चासोलाई हामीले सम्मान गर्छौं तर भारतले अमेरिकासँग व्यापारबाट अर्बौं कमाइरहेको छ भने हामीलाई सहयोग गर्नैपर्छ ।’
ट्रम्पको अभिव्यक्तिविरुद्ध तालिबानले भने कडा प्रतिक्रिया दिएको छ । अमेरिकाले युद्दको धम्की दिनु भन्दा आफ्ना सैनिक फिर्ता लग्नुपर्ने तालिबानले बताएको छ । ग्राफः सिएनएनबाट










