भाइरल ज्वरोले थलियो भेरी पारीको बस्ती

सुर्खेत , सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिका वडा नम्बर १० को नार्सी र ११ का जामु, गल्फा लगायतका गाउँका नागरिक भाइरल ज्वरोले थलिएका छन् । भेरी नदी पारीको यो बस्तीमा विगत १० दिनदेखी फैलिएको भाइरल ज्वरोले दुई गाउँका पाँचसय बढी घरपरिवारका नागरिकहरु प्रभावित भएका हुन् ।

दुवै गाउँका अधिकाँश बालबालिका, युवायुवती र जेष्ठ नागरिक ज्वरोले थलिएपछि प्रभावकारी उपचार नपाएकोमा स्थानीयले आक्रोश पोखेका छन् । जिल्ला जनस्वस्थ्य कार्यालय सुर्खेतले केही दिन अघि मात्रै दुवै गाउँमा एक÷एक दिन स्वास्थ्य शिविर आयोजना गरेको थियो । पुरै गाउँका अधिकाँश स्थानीय नागरिक ज्वरोको संक्रमणले थलिदा स्वास्थ्य कार्यालयको हेपाह प्रवृत्तीका कारण एक दिने शिविरले रोग निर्मुल नभएकोमा आक्रोश पोखेका छन् । टाउको दुख्ने, ज्वरो आउने र खुट्टा काम्ने जस्ता लक्षणले दुइ वडाका नागरिक १२ दिनदेखी थलिएका विरामीहरुको संख्या अत्यधिक छ । ‘उपचार गर्न बाहिर जाउँ भने विचमा भेरी छ, यहाँ प्रभावकारी स्वास्थ्य संस्था छैन्’ नार्सीका स्थानीय जमना भण्डारीले भनिन्,–‘शिविरका नाममा एक दिन सञ्चालन भयो गाउँमा विमारी थलिएकै छन् ।’ नार्सीमा रहेको सरस्वती प्राविमा अध्ययनरत विद्यार्थीहरु समेत ज्वरोको संक्रमणले दिउसै कक्षा छाड्ने गरेका छन् । एक दिन आयोजना गरेको शिविरमा मात्रै झण्डै तीन सय नागरिक ज्वरोको संक्रमण भएको रिपोर्ट जिल्ला जनस्वास्थ्य कार्यालयमा आइपुगेको छ । तर कार्यालयले शिविर थप गर्न नसकेपछि दैनिक ५० बढी विरामीहरु स्थानीय मेकिडलमा पुगेर महंगोमा औषधोपचार गर्न बाध्य भएको सरस्वती प्राविका प्रधानाध्यापक हरी ढकालले बताए । भेरी पारीको विकट ठाउँ भनेर होला शिविर थप गर्न आग्रह गर्दा पनि नमानेको दुखेसो पोखेका ढकालले भने,–‘स्कुलमै बसेको शिविरमा सयौं विरामी आउँदा पनि भोली पल्टै डाक्टरको टोली अनेत्रै हिड्यो, नागरिकहरुमा ज्वरोको संक्रमण बढ्दो छ ।’
भेरी नदी पारी रहेको यो बस्तीमा थप उपचारको लागि कैलालीको चिसापानी र भेरी नदीमा जोखिममा डुंगा तरेर बावियाचौर आउने बाहेक अन्य उपाय नभएको भण्डारीले बताईन् । उनले सिंगो गाउँ भाइरल ज्वरोले थलिदा स्वास्थ्य कार्यालयले देखाउनकै लागि स्वास्थ्य शिविरको आयोजना गर्नुभन्दा रोग निर्मुल पार्न आवश्यक दक्ष जनशक्ति सहितको टोली पठाउन माग गरिन् ।
यता, जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख शम्भुप्रसाद ज्ञवालीले भाइरल ज्वरो फैलिएको खवर आएलगत्तै स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको बताए । चिसापानीहुँदै औषधीसहितको टोली गाउँमा पुगेपनि भाइरल ज्वरो निर्मुल नभएको ज्ञवालीले स्वीकार गरे । तर ज्ञवालीले भाइरल प्रभावित क्षेत्रमा फेरी स्वास्थ्य शिविर आयोजना गर्न निर्देशन दिएको बताए ।
तस्विर सुसिल खड्का ।

 





error: Content is protected !!