रुकुमको खदी गाउँका २ सय बढी बिरामी, सिंगो गाउँमा पहिचानविहिन रोगको प्रकोप

मनिष खड्का
रुकुम रुकुमको आठविसकोट नगरपालीका ३ स्यालाखदीको खदी गाउँका २ सय बढी मानिस बिरामी परेका छन् । बिगत एक हप्ता देखि उक्त ठाउँका मानिसहरुमा टाउँको दुख्ने, ज्वरो आउँने, पेट दुख्ने, वान्ता हुने, हातगोडा दुख्ने जस्ता लक्षण देखिएको छ । जिल्लाको दुर्गममा पर्ने खदी गाउँका सबै मानिस बिरामी परे पनि उनीहरु कुन रोगका कारण बिरामी भएका हुन भन्ने पहिचान हुन सकेको छैन् ।आठविसकोटका मेयर गोर्खवहादुर केसीले अज्ञात रोगका कारण २ सय बढी मानिसहरु बिरामी परेको जानकारी दिए । पछिल्लो एक हप्तादेखि यस रोगको प्रकोप फैलिएकामा ४ दिन देखि बिरामीहरुको संख्या ह्वात्तै बढेको उनले बताए ।
औषधि सहितको स्वास्थ्यकर्मीको टोली प्रस्थान
खदी गाउँमा फैलिएको रोगको प्रकोप नियन्त्रणका लागि औषधी सहितको २ जना स्वास्थ्यकर्मीको टोली पठाईएको मेयर केसीले जानकारी दिए । ‘स्वास्थ्यकर्मी सहित औषधी पठाईएको छ, उनले भने–स्थानीयमा देखिएको लक्षणका अधारमा औषधी पठाएको हो उक्त औषधीले उनिहरुलाई काम गर्छ वा गर्दैन अहिले नै भन्न सकिदैन ।’ आठविसकोट नगरपालीका स्तरिय स्वास्थ्य संस्थाबाट हेल्थ असिष्टेन्ट मनिराज शाह र अर्का १ जना अहेब रोग प्रभावित क्षेत्र तर्फ प्रस्थान गरेका छन् । उनीहरु बिहिबार (आज) साझ सम्म रोग प्रभावित गाउँमा पुग्ने बताइएको छ । उनीहरुका साथमा एक जना औषधी बोक्ने भरिया पनि छन् । स्वास्थ्यकर्मी पुगेर जाँच गरेपछि मात्र खदीमा फैलिएको प्रकोप कुन रोगको हो भन्न सकिने जिल्ला अस्पतालले जनाएको छ ।
महामारीको डर
गाउँले सबै बिरामी पर्ने गरी रोगको प्रकोप फैलिएको खदी गाउँ तत्कालिन स्यालाखदी गाविसमा पर्दछ । उक्त ठाउँमा अहिलेसम्म स्वास्थ्य चौकी छैन् । जसका कारण पनि गाउँमा अज्ञात रोगको प्रकोप फैलिएको अनुमान गरिएको छ । स्वास्थ्य सहित अन्य विकास निर्माणमा पनि उक्त ठाउँ निकै विकट छ । सदरमुकामबाट उक्त ठाउँमा पग्न ३, ४ दिनको पैदल हिड्नुपर्ने हुन्छ । गाउँले पुरै बिरामी परेको र आसपासका गाउँमा समेत रोगको प्रकोप देखिन थालेपछि यसले महामारीको रुप लिने होकी भन्ने डर बढेको छ । मेयर केसीका अनुसार आठविसकोट नगरपालीका ३ खदी सहित १, २ र ५ नम्बर वडामा पनि यस रोगका लक्षणहरु देखिन थालेका छन् ।
डा.सहितको टोली पठाउने तयारी
रोग प्रभावित क्षेत्रमा डा. सहितको टोली पठाउने तयारी भइरहेको मेयर केसीको भनाइ छ । जसका लागि स्वास्थ्य मन्त्रालयमा पहल गरिरहेको उनले बताए ।










