नयाँ शक्तिलाई अर्को झड्का, डा भट्टराईनिकट नेता धमाधम माओवादीमा

काठमाण्डौँ । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीभित्र असन्तुष्टि चुलिँदै जाँदा प्रभावशाली नेताहरूले धमाधम पार्टी छाड्न थालेका छन् ।
नयाँ शक्ति सहसंयोजक रहिसकेका प्रभावशाली नेता रामचन्द्र झासहित रामकुमार शर्मा पुनः माओवादी केन्द्रमा फर्किएका छन् ।
शुक्रबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लाजिम्पाटस्थित निवासमा झा, शर्मासहितका नेता पुनः माओवादीमा फर्केका हुन् । उनीहरू माओवादीबाटै नयाँ शक्तिमा गएका थिए ।
पौडेल नेतृत्वको समूह पनि फर्किंदै
नयाँ शक्तिको संगठन विभागसमेत सम्हालिसकेका डा। भट्टराईनिकट देवेन्द्र पौडेल सुनीललगायतका १५ जना नेताले बिहीबार मात्रै पत्रकार सम्मेलन गरी पार्टी गलत दिशातर्फ हिँडेको भन्दै नेतृत्वको आलोचना गरेका थिए ।
प्रचण्ड, मोहन वैद्य किरण, डा। भट्टराई, नेत्रविक्रम चन्द विप्लवलगायत माओवादी जनयुद्धसँग जोडिएका सबै नेताबीच एकता हुनुपर्ने र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी जस्ता पहिचान पक्षधार परिवर्तनकारी शक्तिहरू पनि एकै ठाउँमा आउनुपर्ने भन्दै पौडेल नेतृत्वमा १५ जना नेताले सार्वजनिक अपिल गरेको भोलिपल्ट झासहितका नेता माओवादी केन्द्रमा फर्किएका हुन् ।
यसैबीच, जनयुद्धसँग जोडिएका सबै नेता एक ठाउँमा आउनुपर्ने सार्वजनिक अपिल गरेका पौडेलसहितका दुई दर्जनभन्दा बढी र नयाँ शक्तिमा अहिले रहेका अरु पनि केही पूर्वमाओवादी नेता पुनः माओवादी केन्द्रमै फर्कने तयारी गरिरहेका छन् ।
भदौ महिनाको पहिलो साता पौडेलसहितका नेता पुनः माओवादीमा प्रवेश गर्ने पौडेलका स्वकीय सचिव राजन पौडेलले जानकारी दिए ।
प्रदेश नम्बर २ को निर्वाचन नजिक आइरहेका वेला तराई–मधेसमा प्रभावशाली मानिने झा, शर्मालगायतका नेता माओवादीमा फर्कनुले नयाँ शक्तिका लागि आगामी निर्वाचन फलामको च्युरा चपाएसरह देखिएको छ ।
उसै पनि संघीय समाजवादीसँगको एकता भाँडिएपछि नयाँ शक्तिभित्र निर्वाचनमा कुन निर्वाचन चिन्ह लिएर लड्ने भन्ने अन्योल छ ।










