भरतपुरमा गठबन्धन सफल, अन्यत्र सबै गठबन्धन असफल

 काठमाडौं ।स्थानीय तहको पहिलो र दोस्रो चरण निर्वाचनका क्रममा राजनीतिक दलहरूले थरीथरी गठबन्धन बनाएका थिए । तर, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका परिणाम आफ्नो पक्षमा पार्न बनाइएका अधिकांश गठबन्धन प्रभावहीन देखिए ।
भरतपुर महानगरपालिकाको परिणाम भने गठबन्धनको पक्षमा गयो । यसअघि पहिलो र दोस्रो चरणमा निर्वाचन भएका कुल पाँच महानगरमध्ये भरतपुरमा मात्र गठबन्धन परिणाम आफ्नो पक्षमा ल्याउन सफ भयो । माओवादी र कांग्रेस गठबन्धनकै दुई उम्मेदवार भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा निर्वाचित भए ।

गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी माओवादी नेतृ रेणु दाहाल ४३ हजार १२६ मत ल्याएर विजयी भइन् । उनले निकटतम प्रतिस्पर्धी एमालेका देवी ज्ञवालीलाई २०३ मतले पछि पारिन् । देवीले जम्मा ४२ हजार ९२४ मत ल्याए ।
यस्तै, उपमेयरमा गठबन्धनकै उम्मेदवार कांग्रेसकी पार्वती शाह ४७ हजार १९७ मत ल्याएर निर्वाचित भइन् । उनले एमालेकी दिव्या आचार्यलाई ७ हजार ६७२ मतले पराजित गरिन् ।
यसअलावा काठमाडौं, ललितपुर, पोखरा र विराटनगर महानगरपालिकामा पनि विभिन्न दलले गठबन्धन गरेका थिए । तर, ती कुनै पनि गठबन्धनले पूर्णतः सफल हासिल गर्न सकेनन् ।
पहिलो चरणको निर्वाचनमा काठमाडौं र ललितपुर महानगरपालिकामा एमाले र राप्रपाबीच गठबन्धन भएको थियो । काठमाडौंको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्य विजयी भए तर, उपमेयरका गठबन्धन उम्मेदवार राप्रपाका राजाराम श्रेष्ठ कांग्रेसकी हरिप्रभा खड्गीसँग भारी मतअन्तरले पराजित भए ।
ललितपुरमा गठबन्धनबाट मेयरका उम्मेदवार बनेका एमालेका हरिकृष्ण व्यञ्जनकार एक्लै लडेको कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनसँग थोरै मतअन्तरले पराजित भए । तर, उपमेयरका उम्मेदवार भने कांग्रेसकै उम्मेदवारसँग ठूलो अन्तरले पराजित भए ।
कास्कीको पोखरा–लेखनाथ महानगरपालिकामा गठबन्धन बनाएर निर्वाचन नलडे पनि कांग्रेस उम्मेदवारलाई माओवादीले सघाउने निर्णय गरेको थियो । तर, कांग्रेसका दुवै उम्मेदवार एमालेसँग ठूलो मतअन्तरले पराजित भए ।
दोस्रो चरणमा निर्वाचन भएको विराटनगर महानगरपालिकामा दुईवटा गठबन्धन निर्वाचनको मैदानमा थिए । एमालेले विजयकुमार गच्छदारको लोकतान्त्रिक फोरमसँग गठबन्धन गरेको थियो भने माओवादीले उपेन्द्र यादवको संघीय समाजवादीसँग । तर, दुवै गठबन्धनलाई उछिन्दै कांग्रेसका उम्मेदवार मेयर र उपमेयरमा निर्वाचित भए ।




सम्बन्धित समाचार


error: Content is protected !!