खराब मौसमका कारण उद्दारमा बाधा

डोल्पा , मौसम खराबीले गर्दा ढुङ्गा लागेर खुट्टा भाँचिएर घाइतृ भएकी आशा सार्कीको उद्धार हुन सकेको छैन । दुनैको सुलिर्गाडमा गिट्टी कुट्दै गरेको बेलामा शनिबार ढुङ्गा लागेर रुकुम गोतामकोट–५ की आशा सार्कीको घाइते भइकी हुन् ।

 

शनिबार दिउँसो २ बजेतिर गिट्टी कुटिरहेको बेला ढुङ्गा लागेर आशाको दाँया खुट्टा भाचिएको छ । धेरै रक्तश्राव भएको र उनको उपचार डोल्पा जिल्ला अस्पतालमा हुनज नसक्ने भएकाले उद्धारका लागि गृह मन्त्रलायमा अनुरोध गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी मानबहादुर बुढाले बताए ।

उद्दारका लागि नेपाली सेनाको हेलीकप्टर सुर्खेतबाट पठाएको भएपनि खराब मौसमका कारण सो हेलिकप्टर आइतबार डोल्पा आउन नसकेको जिल्ला अस्पतालका डा. श्रीकान्त अग्रवालले बताए ।

उनका अनुसार अधिक रक्तश्रावका कारण घाइते सार्कीको अवस्था चिन्तजनक रहेको छ  भने तत्कालै रगतको व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । जिल्ला अस्पतालतमा उपलब्ध साधन र स्रोतले भ्याएसम्म उपचार गरिरहेको अस्पतालका स्वास्थ्यकर्मीहरुले बताए ।

रुकुमको गोतामकोट स्थायी घर भएकी आशा लामो समयदेखि डोल्पा सदरमुकाममा बस्दै आएकी थिइन । एक छोरा एक छोरीसँगै रहेकी आशाकी पतिले अर्की बिहे गरेपछि उनले लोग्नेसँग सम्बन्धविच्छेद गरेकी थिइन् । दुवै छोराछोरीलाई उनले दैनिक गिटी कुटेर पालनपोषण गर्दै आएकी थिइन् ।

सदरमुकाम नजिक रहेको जुफाल विमानस्थल कालो पत्रे हुँदै गरेकाले तत्काल हवाइसेवा बन्द छ । खराब मौसम भएका कारण हेलिकप्टरबाट आकस्मिक उद्दार पनि हुन सकेको छैन ।





error: Content is protected !!