सर्वोच्चको पुनः मतदान गर्ने फैसलापछि एमालेको आयो कडा विज्ञप्ती

काठमाण्डौ– सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने फैसला सुनाएको छ ।  न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आइतबार पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै मुद्दाको अन्तिम फैसला सुनाएका   हुन् ।

 

स्थानीय तहको पहिलो चरणको चुनावको वेला जेठ १४ गते राति भरतपुर– १९ मा मतगणनाको दौरान मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो । माओवादी कार्यकर्ताले मतपत्र च्यातेको आरोप विपक्षी दल एमालेले लगाएको थियो ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘निवदेकले जिकिर लिएको दफा ५१ (२) मा ‘उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि एउटै मतपत्रबाट धेरै उम्मेदवार चुनिने अवस्थामा जुन पदको मत बदर हुने हो त्यस्तो मत मात्र गरेर अन्य मतपत्र गणना गर्न पर्नेछ’ भन्ने व्यवस्था भएकोमा कुन उम्मेदवारलाई मत दिएको हो सो कुरा स्पष्ट हुन नसक्ने च्यातिएको मतपत्रको आधारमा मतसंकेत छुट्याउन सकिने अवास्था नै नरहेको हुदा च्यातिएको मतपत्र बदर मतमा राखी बाँकी मतपत्र गणना गरी पाउँ भनी निवेदन लिएको जिकिर कानून सम्मत देखिन आएन ।’

 

निर्वाचन आयोगले गठन गरेको छानविन समितिले पनि १९ नम्वर वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेपछि त्यसविरुद्ध भरतपुर–१९ का वडा सदस्य उम्मेदवार गुञ्जमान बिक र अधिवक्ता तुलसीराम पाण्डेले जेठ २१ सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

 

यता,सर्वोच्चको फैसलापछि नेकपा एमालेले त्यसको विरोध जनाएको छ । सर्वोच्चको फैसलाले जनताको जनमत र नागरीक सर्वोच्चताको अपमान गरेको एमालेले दावी गरेको छ । एमाले सचिव योगेश भट्टराईले भरतपुरका जनताप्रती एमालेको विश्वास रहेको भन्दै पुनः मतदान प्रक्रियाबाट नागरीक सर्वोच्चता स्थापित हुने विश्व व्यक्त गरे ।





error: Content is protected !!