द्वन्द्वपीडितको आठ करोड बढी रकम फ्रिज

सुर्खेत, ५ । सुर्खेतका द्वन्द्वपीडीतका लागि दिने भनिएको आठ करोड बढी रकम फ्रिज भएको छ । पीडीतका लागि आएको जम्मा २० करोड ४० लाख ६४ हजार रूपैयाँ रकम मध्ये आठ करोड १० लाख ८३ हजार पाँच सय रकम फ्रिज भएको हो ।

आर्थिक वर्ष सकिनै लाग्दा बजेट आएको र पीडितहरु राहत रकम लिन सम्पर्कमा नआएपछि रकम फ्रिज भएको स्थानीय शान्ति समितिले जानकारी दिएको छ । जिल्लामा अहिले ३ सय ३६ मृतक, ८ सय ५२ विस्थापित, १२ जना अपहरण र बेपत्ता पारिएका २२ जना द्वन्द्वपिडीतहरु रहेकोमा ७ सय ९१ जनाले रकम प्राप्त गरेका छन् ।

स्थानीय शान्ति समिति सुर्खेतका संयोजक मोहन थापाले सबैभन्दा बढी विस्थापित, मृतक र वेपत्ता पारिएकाहरुको शीर्षकमा आएको रकम फ्रिज भएको बताए । ४ करोड १० लाख ५० हजार रकम विस्थापितका लागि प्राप्त भएको मध्ये २ करोड ८१ लाख ५८ हजार पाँच सय रकम फ्रिज भएको छ भने राहत पाउने ५ सय २७ जनाको रकम खातामा जाने प्रक्रियामा रहेको उनले बताए ।

सुर्खेतका जम्मा २ सय ४० जना मृतकका लागि आएको रकममध्ये ४ करोड ४२ लाख फ्रिज भएको थापाले जानकारी दिए । जिल्लाका २२ जना वेपत्तामध्ये १३ जनाका लागि १ करोड १२ लाख रकम आएको मध्ये ४७ लाख फ्रिज भएको उनको भनाई छ ।

लगत संकलन कार्यदलको प्रतिवेदनमा परेका १२ जनाका लागि आएको रकम ११ जनाले पाएका छन् भने २५ हजार रकम फ्रिज भएको संयोजक थापाले जानकारी दिए । आर्थिक वर्षको अन्त्यमा बजेट आउँदा सुचना द्वन्द्वपिडीत समक्ष पु¥याउन समस्या भएको, सुचना पुगेपनि प्रमाण जुटाउन समस्या लगायत कारणले गर्दा रकम फ्रिज भएको संयोजक थापाको भनाई छ ।





error: Content is protected !!