आईएनजीओको नाममा ठगी गर्ने पक्राउ एसीजे नामको संस्थामार्फत अनुदान वितरणका लागि बैंकमा खाता खोल्ने निहुँमा रकम असुल

जाजरकोट । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नाममा ठगी गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका गोगंबु ठेगाना बताउने अनिल अधिकारी र उनी पत्नी सरस्वतीलाई प्रहरीले ठगी आरोपमा सोमबार नियन्त्रणमा लिएको हो । प्रहरीले अनिलको जोडीलाई सदरमुकाम खलंगाको शान्ति चौतारास्थित हिलपार्क होटलबाट ठगी गरेको रकम र नक्कली कागजपत्रसहित पक्राउ गरेको छ ।
अधिकारीको जोडीले एसीजे नामको संस्थामार्फत अनुदान वितरणका लागि बैंकमा खाता खोल्ने निहुँमा ठगी गरेका हुन् । उनीहरूले उक्त कार्यका लागि कुशे गाउँपालिका ५ खुर्पा, ढिमे र दम्दालाका गरिब तथा दलितबाट १ लाख ५० हजार असुलेका थिए । अधिकारी जोडीले साताअघि खुर्पा, ढिमे र दम्दाला पुगेर संस्थामार्फत २० सदस्यका दरले १ दर्जन कृषि तथा गरिबी निवारण समूह गठन गरेका थिए । उनीहरूले कृषि समूहका प्रतिसदस्यलाई एसीजेले आयआर्जनका लागि ५० हजारदेखि २ लाख अनुदान १५ दिनभित्र उपलब्ध गराउनेछ र उक्त अनुदान पाउनेले १ लाख बराबर ६ हजार अग्रिम बैंकमा जम्मा गर्नुपर्ने भन्दै असुलेको डीएसपी भावेश रिमालले बताए ।
अनिलले खुर्पाका डिलबहादुर बादी, दिलसरा बादी, लक्ष्मी बादी, धना बादी, कालिका रावललगायत २६ जनाबाट १ लाख २६ हजार अनुदान दिलाउने नाममा ठगी गरेको खुल्न आएको डीएसपी रिमालले बताए । उनीहरूबाट प्रतिसदस्य ३ देखि १२ हजारसम्म बैंक खातामा अग्रिम जम्मा गर्ने निहुँमा ठगेको उनले बताए । उनको जोडीले ढिमे, खुर्पा र दम्दालावासीबाट मात्र ६ लाख ठग्ने योजना बनाएको उनले बताए ।
गरिब, दलित, जनजाति, एकल महिला, असहायलगायतको आयआर्जन तथा जीविकोपार्जनका लागि अनुदान वितरण गर्न लागेको भन्दै १२ हजार ठगेको दिलसराले बताइन् । घरबास, जग्गा जमिन तथा रोजगारी नभएकाले व्यवसाय गर्न २ लाख पाउने आशामा उक्त रकम अनिललाई बुझाएको उनले बताइन् ।
उनको जोडीले अधिकांश बादी समुदायका सदस्यबाट रकम असुलेको पाइएको छ । सरुखोला किनारमा बस्दै आएका बादी समुदाय माछा मार्ने व्यवसायबाट जीवन निर्वाह गर्दै आएको दिलसराले बताइन् । बाख्रा, भैंसी, कुखुरापालन, आँपखेती, सुन्ताला खेती, खुद्रा पसल, सिलाइकटाइ, साबुन उद्योग, खानेपानी तथा शौचालय निर्माणलगायत क्षेत्रमा अनुदान दिने भन्दै रकम लिएको उनले बताइन् । ठगी गरेको रकम फिर्ताका लागि दर्जन सदस्य जिल्ला प्रहरीमा धाउन थालेको उनको भनाइ छ । अनिल र सरस्वतीको नाममा ठगी मुद्दा दर्ता गर्न लागेको रिमालले बताए । ‘अनिलबाट बरामद सबै कागजात नक्कली भएको अनुमान गरेका छौं,’ उनले भने ।
अनिलले एसीजे अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त संस्था भएको र यसले नेपाल सरकारबाट स्वीकृति लिएर गाउँपालिकासँग समन्वय गरी काम अघि बढाएको बताएका छन् । एजीसे नेपालमा ४४५६९४४र५०७ नम्बरमा दर्ता भएको र नेपाल सरकारले १४०४ को पत्र संख्यामार्फत काम गर्न स्वीकृति दिएको उनले बताए । यो संस्था ४ वर्षदेखि नेपालमा सञ्चालनमा आएको उनको दाबी छ । अनिलले प्रहरीसमक्ष समूहका सदस्यको बैंकमा खाता खोल्न, व्यवसायी फर्म भर्न, फोटो खिच्नका लागि रकम लिएको स्विकारेका छन् ।










