पानी छोएको आरोपमा दलित महिलामाथि कुटपिट

सुर्खेत : धारामा पानी छोएको आरोप दलित महिलामाथि निर्घात कुटपिट भएको छ। सुर्खेतको लेकवेशी नगरपालिका अन्तर्गत साटाखानीमा पानी छोएको आरोपमा दलित महिलामाथि कुटपिट भएको हो। गैरदलितको कुटपिटबाट २७ वर्षीया टीकाकुमारी मिजार गम्भीर घाइते हुनुभएको छ।

साटाखानीस्थित गंगटे निवासी टीकाको वीरेन्द्रनगरमा रहेको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। स्थानीय मनकुमारी राई र उहाँका छोरा मनबहादुर राईले टीकामाथि कुटपिट गरेका हुन्।

कुटपिटका कारण टिकाको टाउको, छाती र शरीरका अन्य भागमा समेत चोट लागेको छ। कुटपिटपछि बेहोस अवस्थामा टिकालाई आफन्तले स्थानीय मेडिकलमा पुर्‍याएका थिए।

नाक र मुखबाट रगत बगेको र होस पनि नखुलेपछि थप उपचारका लागि उहाँलाई क्षेत्रीय अस्पतालमा भर्ना गरिएको हो। अस्पतालमा पुर्‍याएपछि मात्र टीकाको होस खुलेको थियो। आफूले धारामा नुहाउँदै गरेको र पानी भर्ने क्रममा गाग्री छोइदिएको भन्दै मनकुमारीका आमाछोरा मिलेर आफूमाथि कुटपिट गरेको पीडित टीकाले बताउनुभयो। टीकाकी आमा दरिशा सुनारले आफ्नी छोरी मृत्युबाट बचेको भन्दै अब स्थानीय प्रशासनले आफूलाई न्याय र दोषीलाई सजाय दिनुपर्ने माग गर्नुभयो।





error: Content is protected !!