बाढीपीडित सम्पर्कमा नआउदा राहत बितरणमा कठिनाई


सुर्खेत । बाढी पीडितहरु सम्पर्कमा नआउदा बाढी पीडितका लागि आएको राहात रकम बितरण गर्न कठिनाई भएको छ । लामो समयसम्म पीडितहरु सम्पर्कमा नआउदा फिर्ता हुने अबस्थामा पुगेको छ । नौ सय ७० परिवार मध्ये राहतका लागि हालसम्म सात सय २९ परिवारले निवेदन दिएका छन् भने बाकी दुई सय ४१ जना बाढी पीडितहरु सम्पर्कमा आएका छैनन् ।
बाढीपीडितहरूका लागि सरकारले छुट्याएको १० करोड रूपैया बजेट फिर्ता हुने अवस्थामा पुगेको छ । असार मसान्तभित्र सम्बन्धित व्यक्तिहरूलाई वितरण गरिसक्नुपर्ने उक्त बजेटको ठुलो हिस्सा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतबाटै फिर्ता हुने अवस्थामा पुगेको हो ।
शुक्रबारसम्म १० करोड मध्ये करिब २५ प्रतिशत मात्रै पीडितहरूलाई वितरण गरिएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका अनुसार पीडितहरुलाई जग्गा खरिद र घर निर्माणका लागि राहत स्वरूप सरकारले तीन लाख रूपैयँ दिदैंछ । जसमध्ये पाच सय १२ परिवार बाढीपीडितले पहिलो किस्ता वापतको ५० हजारको दरले रकम लगिसकेका छन् । यस्तै निवेदन दिएकामध्ये दुई सय १७ जनाले पनि राहत पाउन सकेका छैनन् ।
जग्गा भएका तर घर निर्माणका लागि निवेदन दिएका पीडितहरु संग जग्गाको रातो लालपूर्जा नहुदा पनि रकम पाउनबाट वञ्चित भएका छन् । तीन वर्षअघिको बाढीबाट सुर्खेतका ९ सय ७० घरपरिवारले घरबास गुमाएका थिए ।
नारी जागरणवाट साभार
नारी जागरणवाट साभार










