जिल्ला सभाको पहिलो बैठक तत्काल संचार र बैकिङ्ग सुविधा विस्तार गर्न माग

जाजरकोट ,जाजरकोटको पहिलो जिल्ला सभाले तत्काल संचार सुविधा पुरयाउन र बैकिङ्ग सेवा विस्तारको लागी माग गरेको छ । निर्वाचन आयोगको निर्देशन अनुसार जाजरकोटमा बुधवार बोलाईएको पहिलो जिल्ला सभाले संचार असुविधाका कारण भेरीनगरपालिका बाहेक अन्य ६ ओटा पालिकामा संचार सुविधा नुहँदा जनप्रतिनिधी र कर्मचारीको कामकाज प्रभावित भई सेवा प्रवाहमा समस्या भएको भन्दै तत्काल संचार सुविधाको विस्तार गरि ईमेल ईन्टरनेटको ब्यवस्था गर्न संचार मन्त्रालय र संघिय मामिला तथा स्थानिय विकास मंत्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
स्थानिय विकास अधिकारी रुद्र प्रसाद पण्डितका अनुसार बैठकले भेरी नगरपालिका बाहेकका पालिकामा बैक नभएकोले सेवा प्रवाहमा समस्याको हुँदा दुई नगरपालिका र चार गाँउपालिकामा तत्काल बैक स्थापनाका लागी अर्थ मन्त्रालय , राष्ट्रबैक र संघिय मामिला तथा स्थानिय विकास मंत्रालयमा माग गर्ने निर्णय गरेको छ । त्यस्तै सवै पालिकामा क वर्गको सुरक्षा पोष्ट स्थापनाका लागी गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा माग गर्ने , उचित तरीकाले स्थानिय तहमा कर्मचारी ब्यवस्थापन गर्ने , जिल्लामा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाले काम गर्दा स्थानिय तहबाट योजना पारित गराएर मात्र काम गर्ने अनुमति दिने, जिल्ला समन्वय समितिको संख्या ९ जना तोक्ने निर्णय गरिएको बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहले जानकारी दिनुभयो ।
जिल्ला सदरमुकाम रहेको भेरी नगरपालिका बाहेक जिल्लाका अन्य ६ ओटा पालिकामा टेलिफोनको सुविधा विस्तार हुन सकेको छैन भने कुनै पनि बैकिङ्ग सुविधा विस्तार हुन सकेको छैन । त्यस्तै सडक विस्तार समेत हुन सकेको छैन । छेडागाड र नलगाड नगरपालिकामै यातायातको सुविधा पुग्न सकेको छैन । हामीलाई काम गर्न निकै गाह्रो छ ईमेल ईन्टरनेटको त कुरै छोडौ टेलिफोनको समेत सुविधा छैन न त बैक नै छन् छेडागाड नगरपालिकाका मेयर लालबहादुर महताराले भन्नुभयो ‘यस्तो अवस्थामा कसरी सिहदरबारको अधिकार गाँउमा जान्छ । भौतिक पुर्वाधारको अभाव र आधारभूत सेवा सुविधाको अभावले सिहदरबारको अधिकार गाँउ गाँउ सम्म पुरयाउन निकै सकस छ ।’
त्यही भएर जिल्ला सभाको पहिलो बैठकले आधारभूत पुर्वाधारको ब्यवस्था गर्न सरकारका सम्बन्धित निकायमा अनुरोध गरेका उहाँले बताउनुभयो ।










