नवप्रवेशीलाई टिकट बेचेको भन्दै एमाले नेता सुन्दर कुर्मीले पार्टी छोडे

वीरगञ्ज , नेकपा एमालेबाट वीरगञ्ज महानगरको प्रमुखका लागि प्रस्तावित सुन्दर कुर्मीले एमाले पार्टी परित्याग गरेका छन् । वीरगञ्जमा बुधबार पत्रकार सम्मेलन गर्दै कुर्मीले एमाले पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने घोषणा गरे ।
आसन्न स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको प्रमुखका लागि एमाले जिल्ला कार्य समिति पर्साले कुर्मीको नाम केन्द्रिय कार्य समितिमा सिफारिस गरेको थियो । तर, माओवादी केन्द्रबाट एमालेमा दुई साता अघि प्रवेश गरेका नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसरुद्दिन अन्सारीलाई एमालेले महानगरको उम्मेदवार बनाउने शर्तमा पार्टीमा ल्याएपछि कुर्मी पार्टीप्रति असन्तुष्ट थिए । बसरुद्दिनले एमाले प्रवेश गर्नु अघिदेखि नै प्रमुखका लागि घरदैलो गर्दै हिँडेका थिए भने एमालेमा प्रवेश गरिसकेपछि पार्टीले उम्मेदवारको घोषणा नगरीसकेको भएपनि उनी आफैंले एमालेका तर्फबाट महानगरमा मेयरको उम्मेदवार भनेर प्रचार गर्दै हिँडेका छन् ।
एमालेले प्रमुखको टिकट बेचेको आरोप
एमालेको भातृ संगठन लोकतान्त्रिक मधेसी संगठन पर्सा जिल्ला अध्यक्ष समेत रहेका कुर्मीले पत्रकार सम्मेलनमा एमालेको साधरण सदस्यता समेत परित्याग गरि फोरम नेपालमा प्रवेश गर्ने घोषणा गरे । कुर्मीले तीन दशकदेखि एमाले पार्टीमा आफुले दिएको योगदान र निष्ठालाई लत्याएको आरोप लगाए । ‘एमाले नेतृत्वले रकम लिएर नव प्रवेशीलाई वीरगञ्ज महानगरको प्रमुखको टिकट बेच्ने निर्णय गरेको छ । त्यसैले अब एमाले भित्र रहनुको कुनै अर्थ देखिन र छोड्ने निर्णयमा पुगे ।’ उनले भने ‘दोश्रो संविधानसभाको चुनाव ताका एमाले नेतृत्वले वीरगञ्ज महानगरको प्रमुखका लागि मलाई आश्वासन दिएको थियो । त्यही बेलादेखि नै मैले तयारी गर्दै आफनो पक्षमा माहौल बनाइसकेको थिँए । अन्तिममा एमाले नेतृत्वले धोका दिदै रकम लिएर नव्रप्रवेशलिाई प्रमुखको टिकट बेचे । ’ एमाले अहिले पुजीपति र पैसा लिएर टिकट दिने पार्टी भएको भन्दै कुर्मीले एमालेकै कारण मधेसको माग सम्बोधन हुन नसकेको आरोप पनि लगाए ।
पत्रकार सम्मेलनमा फोरम नेपालका केन्द्रिय उपाध्यक्ष लालबाबु राउत गद्धीले मधेस मुद्धाको समर्थनमा ढिलोचाडो सबै आउनै पर्ने बताए । उपाध्यक्ष गद्धीले एमालेकै कारण मुलुकले राजनीतिक स्थिरता पाउन नसकेको बताए । उनले मुलुकलाई निकास दिन र मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्न मधेसको मुद्धा सम्बोधन हुनै पर्ने बताए ।










