चालकलाई कुटपिट गरी विप्लवका कार्यकर्ताले ट्रकमा आगजनी गरे

इलाम, स्थानीय तहको निर्वाचको संघारमा मेची राजमार्गको इलाम सडक खण्डको दुई स्थानमा सवारी साधन माथि आगजानी भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मेची राजमार्गका दुई स्थानमा ट्रक र पिकअप भ्यानमा आगजनी गरेका छन् ।
पत्रकार महासंघमा फोन गरेर सवारी साधन आफूहरुले जलाएको भन्दै सो पार्टीले घटनाको जिम्मा लिएको छ । बुधबार बिहानको राति करिब साढे ३ बजे इलाम नगरपालिकाको पुवाखोला बजार माथि ट्रकमा आगजनी गरिएको हो ।
झापाको बिर्तामोडबाट हार्डवेयर र मेडिकलको सामान लिएर ताप्लेजुङ जाँदै गरेको ना २ ख ७८३२ नम्बरको ट्रकमा एक समूहले आगजनी गर्दा ट्रक पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । सडकमा लुकेर बसेका नेकपाका कार्यकताले बाटो छेकेर आगो लगाएको ट्रकका सहचालक विष्णु गिरीले बताए । ‘दुई तिरबाट ढुङ्गा प्रहार भएपछि हामी गाडी रोक्न बाध्य भयौँ ।’ सहचालक गिरीले भने–‘उनीहरु आएर निस्किन्छस् भने निस्कि होइन भने गाडी भित्रै आगो लगाइदिन्छौँ भने, हामी डरले निस्कियौँ ।’ उनीहरुले ट्रकमा सवार तीन जनाको मोवाइल खोसेर लगि आफूहरु माथि कुटपिट समेत गरेको सहचालक गिरीले बताए ।
यस्तै, इलाक नगरपालिका–१० को गोदक खण्डमा पनि राति ३ः५० बजेतिर पिकअपमा आगजनी गरिएको छ । झापाबाट सामान लिएर पाँचथरको फिदिमका लागि छुटेको बा।१० च ८१९४ नम्बरको पिकअपमा आगजनी गरिएको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले बताए । आगजनीबाट पिकअपको करिब ४० प्रतिशत भाग जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीले भने अगजानी गर्ने समुहको पहिचान नखुलेको बताएको छ । ‘घटना राती भएकाले कसले आगजनी ग¥यो भन्ने खुलिसकेको छैन,’–डिएसपी श्रेष्ठले भने । बन्दको हल्लाका कारण मेची राजमार्ग सहितका सडकमा बिहानैदेखि सवारी साधनको चाप पातलो देखिएको छ ।










