हटाइँदै मुसिकोटको अतिक्रमण

रुकुम , स्थानीय तहको निर्वाचनपछि मुसीकोट नगर कार्यपालिकाको पहिलो बैठकका निर्णय कार्यान्वयन गर्न थालिएको छ । नगरपालिकाको मुख्य केन्द्र खलंगा बजारमा ठूलो समस्याका रूपमा रहेको सार्वजनिक स्थल अतिक्रमण हटाउने निर्णय नगर कार्यपालिकाको पहिलो बैठकले गरेको थियो ।
जेठ १५ गते बसेको बैठकले १ महिनाभित्र सार्वजनिक स्थल मिचेर बनाइएका घर, टहरा हटाउन सम्बन्धित सबैलाई आग्रह गरिएको थियो । नगर कार्यपालिकाको निर्णयअनुसार खलंगा बजारका विभिन्न सार्वजनिक ठाउँ मिचेर बनाइएका भौतिक संरचना सर्वसाधारण आफैंले उठाउन थालेका छन् । नगर कार्यपालिकाले १ महिनाभित्र सार्वजनिक ठाउँमा बनाइएका संरचना उठाएर ठाउँ खाली गराउन आग्रह गरेको थियो ।
नगर कार्यपालिकाले प्राथमिकतासाथ गरेको निर्णय कार्यान्वयनका चरणमा रहेको नगर प्रमुख देवीलाल गौतमले बताए । ‘लामो समयदेखि ठूलै समस्याका रूपमा रहेको सार्वजनिक स्थल खाली गराउने निर्णयमा सर्वसाधारण आफैंले सहयोग गर्नुभएको छ,’ प्रमुख गौतमले भने, ‘हामी तोकेको समयसीमाअगावै अतिक्रमित ठाउँ खाली गराउनु हुनेछ भन्ने विश्वासमा छौं ।’ यसअघि नगरपालिकाले पटकपटक सार्वजनिक ठाउँ मिचेर बनाइएको घर, टहरा र घुम्ती उठाउन प्रयास गरेको थियो । ‘यसअघि गरिएको प्रयास केहीबाहेक सबै सफल हुन सकेको थिएन, यसपटक कडाइसाथ निर्णय कार्यान्वयन गर्ने भएको छ,’ गौतमले भने ।
पहिलो चरणमा खलंगा बजारको बालमन्दिर वरपर बनाइएका स्थायी संरचना हटाइएको छ । विस्तार हुँदै गएको बजारमा सार्वजनिक ठाउँसमेत मिचिएर खुला ठाउँ अभाव हुँदै गएपछि नगरपालिकाले घुम्ती तथा टहरा हटाउन भनेको हो । सार्वजनिक जग्गा मिचेर व्यक्तिगत व्यवसाय गर्नु गैरकानुनी भएकाले उनीहरूलाई हटाउन थालिएको प्रमुख गौतमको भनाइ छ । ‘पहिलो कुरा सार्वजनिक ठाउँमा कसैले केही सञ्चालन गर्न पाउँदैन,’ गौतमले भने, ‘दोस्रो कुरा खलंगाको बजारमा खुल्ला ठाउँको अभाव बढ्दै गएको पनि साँचो हो ।’ बेलाबेला खुला ठाउँ आवश्यक पर्दा समस्या भइरहेको पनि नगर प्रमुख गौतम बताउँछन् ।
नगरले संकलन गरेको तथ्यांकअनुसार खलंगा बजारमा मात्रै सार्वजनिक जग्गा मिचेर बनाइएका घुम्ती तथा टहराको संख्या ३० भन्दा बढी छ । सहिद मैदान, बह्राटाकुरा, बालमन्दिरलगायत ठाउँका सार्वजनिक जग्गा अतिक्रमण गरेर घुम्ती, टहरा तथा कतै घर नै निर्माण गरिएको छ ।
सडक आसापासको सार्वजनिक जग्गा तथा सडक मिचेर बनाइका भौतिक संरचनाको लगत संकलन भइरहेको नगरपालिकाका कार्यकारी अधिकृत परमानन्द घिमिरेले बताए । लगत संकलनपछि सार्वजनिक ठाउँका घुम्ती र टहरा हटाइसकेपछि सडक तलमाथिको सार्वजनिक जग्गा तथा सडक मिचेर बनाइएका भौतिक संरचना हटाउन थालिने अधिकृत घिमिरेले बताए ।










